प्राकृतिक जंगलमा जडिबुटीको अभावसँगै कानुनी कडाई अपनाउन थालिएपछि जडिबुटी खेतीमा आकर्षण बढेको छ । नेपाल जडिबुटी व्यवसायी संघ (जवान)ले विभिन्न गैर सरकारी संस्थासँगको सहयोगमा कृषकहरुलाई निःशुल्क बिउ, बिजन उपलब्ध गराउन थालेपछि जडिबुटी खेतीमा आकर्षण बढेको हो ।
‘सधंै जंगलको भरपर्ने अवस्था छैन’, जवानका अध्यक्ष मो. याकुव अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसैले किसानहरुलाई जडिबुटी खेतीका लागि प्रोत्साहित पनि गरिरहेका छौं ।’ अध्यक्ष अन्सारीका अनुसार, जवानले जिल्ला कार्यसमिति बिस्तार गरेको झण्डै १३ जिल्लामा यतिबेला जडिबुटी खेती भैरहेको छ ।
खासगरी क्यामोमाइल, मेन्था, टिमूर, कुरिलो र चिउरीको खेतीपाती भैरहेको जानकारी दिंदै जवानका अध्यक्ष अन्सारीले बिउ बिजन र प्रविधिमा जवानले सहजीकरण गरिरहेको जानकारी दिए । ‘बिउ बिजन निःशुल्क उपलब्ध गराएका छौं’, जडिबुटी खेतीका कारण व्यवसायमा संलग्नहरुको संख्या पनि बढ्दै गएको तर्क गर्दै अध्यक्ष अन्सारीले भने, ‘हामी सकभर जंगल भन्दा जडिबुटी खेतीमै यो व्यवसाय निर्भर रहोस् भन्ने तिर केन्द्रित हुन थालेका छौं ।’
जडिबुटी व्यवसायी संघ नेपाल केन्द्रीय समितिले जडिबुटी खेतीका लागि विभिन्न संघ, संस्थाहरुसँग सहकार्य गरिरहेको पनि जनाएको छ । ‘जंगलमा जडिबुटीको संरक्षण अभावले क्रमशः व्यवसाय नै लोप हुने स्थिति आउन सक्छ’, अध्यक्ष अन्सारीले व्यवसायको दुरगामी प्रभावका लागि पनि जडिबुटी खेती आवश्यक रहेको तर्क गर्दै भने । जवानले आफ्ना सदस्यदेखि शाखा कार्यसमितिसम्मलाई खेतीका लागि परिचालन गरेको जनाएको छ । जडिबुटी व्यवसायमा पनि खेतीका कारण कारोबार बढ्न थालेको प्रभाव देखिएको अध्यक्ष अन्सारीले बताए ।
जवानमा समन्वय बैठक
कैलाली, कञ्चनपुरबाट बाँकेमा जडिबुटी खेतीको अवस्था अध्ययनका लागि आएका जडिबुटी व्यवसायी र उद्यमी कृषक समूहका प्रतिनिधिहरुले जडिबुटी व्यवसायी संघका केन्द्रीय कार्यसमितिसँग समन्वय बैठक गरेका छन् ।
बुधबार नेपालगन्ज आइपुगेको १८ सदस्यीय भ्रमण टोलीले जवानका अध्यक्ष मो. याकुव अन्सारी लगायतसँग समन्वय बैठक गरेको कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए । ‘अध्यक्षज्यूले भिजिटमा आउनेहरुलाई जडिबुटी खेतीबारे प्रकाश पार्नुभएको छ’, कार्यालय प्रमुख खरेलले दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायिक चुनौतिदेखि अवसरसम्मका विषयमा अन्तरक्रिया भएको छ ।’
कैलाली र कञ्चनपुरका जडिबुटी व्यवसायी, जडिबुटी खेतीमा संलग्न कृषक, उनीहरुको समूह र प्रशोधनमा संलग्न उद्यमीलाई आइडी नेपालले ‘एक्पोजर भिजिट’ गराएको टिम कोर्डिनेटर उपेन्द्रराज कुँइकेलले जानकारी दिए । उनका अनुसार, कृषक समूहका अध्यक्ष, जडिबुटी उद्योग सञ्चालक, किसानहरुलाई एक्पोजर भिजिटमा सहभागी गराइएको हो ।
कैलाली, टिकापुर, बर्दिया, बाँके लगायतमा भैरहेको जडिबुटी खेतीपातीको स्थलगत अध्ययन गरेका उनीहरुले फर्किएपछि आफ्नो सिकाईलाई व्यवहारमा लागु गर्ने बताए । ‘समूह नै गठन गरेर जडिबुटी खेतीलाई प्रवद्र्धन गर्न लागि परेका छौं’, आइडी नेपाल कैलालीका उपेन्द्र राज कुइँकेलले भने । उनका अनुसार, जडिबुटी उत्पादन र प्रशोधनसम्मको कार्यका लागि आवश्यक सहकार्यका लागि जडिबुटी उत्पादक समूह बनाइएको छ ।
कुइँकेलले ५ बर्षयता नयाँ, नयाँ उद्योग थपिने क्रम जडिबुटी क्षेत्रमा भएको जानकारी दिंदै कतिपय पुरानालाई पुनः सञ्चालनका लागि मर्मत सुधार गरिएको बताए । ‘जडिबुटी खेतीको संस्थागत प्रवद्र्धनमा हामी लागि परेका छौं’, कुइँकेलले दैनिक नेपालगन्जसँग भने ।
एक्पोजर भिजिटमा जडिबुटी व्यवसायी संघको केन्द्रीय कार्यालय पुगेका किसानहरुले विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासा अध्यक्ष मो. याकुव अन्सारी, कार्यालय प्रमुख पुष्कर खरेल लगायतले जवाफ दिएका थिए ।