वैदेशिक रोजगार कसुर : कारवाहीमा प्रमाण अभाव

वैदेशिक रोजगार सम्बन्धी उजुरीमा प्रमाण अभावले कारवाहीमा अप्ठ्यारो पर्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्री कुमार कार्कीले जानकारी दिएका छन् ।

बुधबार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पत्रकार महासंघ बाँकेको समन्वयमा आयोजना गरेको सञ्चारकर्मीका लागि वैदेशिक रोजगार सम्बन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै निर्देशक कार्कीले वैदेशिक रोजगारमा जानेले प्रमाण विनै लेनदेन लगायतका कामहरु गर्ने गरेका उजुरीमा कारवाही गर्न अप्ठयारो पर्ने गरेको बताएका हुन् ।

‘फ्रि भिसामा पनि लाखौं रुपमा तिरेर विदेशिने गरेका छन्’, विदेशमा भने जस्तो काम नपाएपछि मात्र उजुरी गर्ने गरेको जानकारी दिंदै निर्देशक कार्कीले भने, ‘कागज १० हजारको हुन्छ, लाखौं तिरेको दाबी गर्दछन्, अनि कसरी कारवाही गर्ने ।’ वैदेशिक रोजगारीमा जाँदा कुरा नबुझेर जहाँ पायो त्यही हस्ताक्षर गर्दा समेत समस्या देखिएको उनले बताए ।

‘म्यानपावर मार्फत मात्र नभई चिनजान र व्यक्तिगत आधारमै वैदेशिक रोजगारीका लागि लाखौं बुझाउने गरिएको पाइन्छ’, उनले भने, ‘लाखौं रुपैयाँको लेनदेन विश्वासको आधारमा मात्र गरिंदा उजुरी परेमा कारवाही गर्ने आधार नै हुँदैन ।’

कार्यक्रममा पत्रकार कृष्ण अधिकारीले अवधारणा पत्र प्रस्तुत गर्दै अवैध रुपमा वैदेशिक रोजगारीमा जानेहरु धेरै भएको बताए । अवैध रुपमा वैदेशिक रोजगारीमा जाने एकिन तथ्यांक छैन ।

नेपालबाट एउटा देशमा जाने र त्यहाँबाट अवैध रुपमा अर्को देशमा काम गर्न जानेहरुको संख्या पनि ठूलै रहेको उनले जानकारी दिए । कार्यक्रममा बाँकेबाट मात्र घरेलु कामदारका रुपमा अवैध रुपमा ५ सय बढी महिलाहरु विदेशिएको सम्भावना औंल्याइएको थियो ।
आ.व. ०६४÷०६५ पछि वैदेशिक रोजगारीमा गएका ५ हजार २ सयको मृत्यु भएको ६ सय बढीको अंगभगं भएको जानकारी कार्यक्रममा गराइएको थियो ।
बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई सचेतना, मृतक तथा अंगभंग भएकाहरुलाई क्षतिपूर्ति, जनचेतना लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

बजेट बराबर रेमिन्ट्यान्स

वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन कृषि पछिको दोस्रो स्थानमा वैदेशिक रोजगारीले योगदान गरेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीले ३१ प्रतिशत योगदान गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निर्देशक कार्कीले नेपालको बजेट ६ खर्ब १८ अर्ब हुँदा रेमिट्यान्स ६ खर्ब १७ अर्ब २८ करोड रहेको तथ्यांक प्रस्तत गरेका थिए । तथ्यांकले नेपालको करिब ५६ प्रतिशत घरधुरीमा रेमिट्न्यास पुगेको देखिन्छ ।

नेपालबाट वैदेशिक रोजगारमा जाने ७४.५ प्रतिशत अदक्ष, २४.५ अर्धदक्ष र २ प्रतिशत दक्ष काम रहेका छन् । अदक्ष कामदारहरुले जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था रहेका निर्देशक कार्कीले सीपमूलक तालिम लिएर मात्र वैदेशिक रोजगारीमा जान सुझाव दिए ।

नेपालबाट अहिले ११० देशमा वैदेशिक रोजगारीका लागि जान पाउने व्यवस्था छ । तर, सरकारले ५ वटा राष्ट्र सँग मात्र श्रम सम्झौता गरेको जानकारी कार्यक्रममा गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया