पूर्णिमा पारेर राप्ती नदी तटमा महाआरती थालनी


बाँकेको राप्ती नदी तट सिधनियाघाटमा सोमबार साँझ महाआरती गरिएको छ । स्थानीय स्तरमा हरेक पूर्णिमा तिथि पारेर गरिने महाआरतीको शुभारम्भ सोमबार गरिएको हो ।

पहिलो महाआरती उत्सवमा सहभागिताका लागि स्थानीय भक्तजन सँगै नेपालगन्ज तथा राप्तीपारीका विभिन्न गाउँबाट समेत दर्शनार्थीहरू राप्ती तट पुगेका थिए । पहिलो महाआरतीका कर्ता बनेका नन्दलाल वैश्यले हिन्दु धर्ममा गंगा महाआरतीको निकै महत्व रहेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।


स्थानीय अगुवा सुर्यलाल यादवले मासिक एक तिथिमा पर्ने महाआरतीलाई निरन्तरता दिने सुनिश्चितता गरेर शुभारम्भ गरिएको जानकारी दिए । राप्ती नदी, पुल, मन्दिर र निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न थालिएको उनको भनाइ छ । यस क्षेत्रलाई जिल्ला मै पहिचान गराई यहाको सम्भावनालाई दिगो बनाउन पहल गरिएको यादवले बताए ।

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए । पुजारी मिश्रका अनुसार श्रावण शुक्ल पुर्णिमाका दिनबाट शुरु भएको महाआरती हरेक पूर्णिमामा गरिनेछ ।


स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने आयोजकको योजना छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भइरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।


नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।


राप्ती नदी तटमै बैकुण्ठधाम सिधनियाघाट पनि निर्माण हुन लागेको छ । यसले धार्मिक तथा आन्तरिक पर्यटनलाई चलायमान गराउने अपेक्षा गरिएको नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बताए ।


महाआरती अवलोकनका लागि सिधनिया घाट पुगेका पर्यापर्यटन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले महाआरतीको निरन्तरतामा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया