नेपालगन्ज ११ मसिंर । बाँकेको पुरैना स्वास्थ्य चौकीको प्रसुती सेवा केन्द्र निमार्ण गरेको दुई वर्ष वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैनन । प्रसुती सेवा केन्द्र सञ्चालन नहुदा यस आर्थिक वर्षको ४ महिनामा मात्र करिब ६० भन्दा बढी महिलाहरु घरमै बच्चा जन्माएको तथ्याक रहेको एक कार्यक्रममा दावी गरिएको छ ।
स्वास्थ्य चौकीका कर्मचारीहरुको पहलमा दुई वर्ष अघि स्थानीय शिवकुमारी बर्माले दान गर्नुभएको साढे तीन कठठा जग्गामा निमार्ण गरिएको बर्थिङ्ग सेन्टर सञ्चालन नहुदा महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन । स्वास्थ्य केन्द्र नजिकै निमार्ण गरिएको भवन जानलाई बाटो नहुँदा भवन प्रयोग विहिन बनेको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. २१ पुरैना स्वास्थ्य चौकीमा आज गरिएको सामाजिक परिक्षण कार्यक्रमका सहभागिहरुले स्थानीय समुदायका अगुवा तथा सरोकारवाला निकायहरुले चासो नलिंदा त्यस्तो समस्या उत्पन्न भएको बताएका छन ।
कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज मञ्जु कुशवाहले स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रस्तुत सेवा तथा प्रगतिका विषयमा छलफल गरि बर्थिङ्ग सेन्टर सञ्चालन, प्रतिक्षालय निमार्ण, खानेपानी टंकीको व्यवस्थापन, समुदायमा स्वास्थ्य सचेतनामुलक अन्र्तकृया जस्ता ५ बुंदे कार्ययोजना तयार गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष रञ्जित खाँले वडाको समग्र विकासका लागि विभिन्न योजनाहरु निमार्ण गरिएको बताउदै स्वास्थ्यका क्षेत्रका लागि औषधी, बाटो, निमार्ण गरि रु ५ लाखको रकम विनियोजन गरेको बताउनुभयो ।
वडा सचिव चित्राकुमारी पुनले स्वास्थ्य क्षेत्रको विकास तथा प्रभावकारी सेवाका लागि वर्षौदेखि लागि परेको र योजनामा पनि पहिलो प्राथमिकतामा पारेको बताउदै स्वास्थ्य सेवा अभिबृद्धिका लागि स्थानीय स्तरबाटै जग्गाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार रोकश कुमार मिश्रले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य संस्थाको सामाजिक परिक्षणको उद्देश्य, महत्व लगायतका विषयमा समेत जानकारी गराउनु भएको थियो ।