कानून भन्दा माथि ‘दूधवाला’

नेपालगन्जन्यूज/समाचारदाता
घर घरमा अाउने हकर (दूधवाला) मार्फत खुल्ला दुध किन्ने प्रचलन पुरानो हो । पहिले इमान्दारिता थियाे । र दुधमा मिसावट हुदैनथ्याे । अहिले अवस्था फरक छ । उपभोक्ताले चिया पकाउन र  बच्चालाई खुवाउनका लागि फरक फरक दरमा दुध खरिद गर्दै आएका छन् । अर्थात उपभाेक्ताहरू खुल्ला दुधमा भएकाे मिसावटका बारेमा जानकार छन् । तर बाँकेमा सरकारी तवरमा न कुनै कारवाही अघि बढेको छ ।  न कुनै उपभोक्ताले मिसावट युक्त दूध बारे उजुरी दर्ता भएका घटना सार्छवजनिक भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके र क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जको अभिलेखमा खुल्ला रुपमा बिक्री हुने दूधमा मिसावट र गुणस्तर बारे कुनै उजुरी दर्ता नभएको पाइएको हो । नेपालगन्जमा खुल्ला दूधको दर रेट १० रुपैया प्रतिलिटर देखि ७० रुपैया प्रतिलिटर पाइएको छ । बाँके हिरमिनियाबाट नेपालगन्जमा खुल्ला दुध बिक्री गर्दै आएका हरिराम यादव भन्छन्, ‘मानिसको आवश्यकता अनुसार दुध दिनु पर्ने हाम्रो बाध्यता छ ।’

‘कसैले ३० रुपैया वाला त कसैले ६० वाला दूध दिनुुस् भन्छन्, अनि कसरी एकै किसिमको दूध बिक्री गर्न सकिन्छ’, यादवले भने, ‘राम्रो दूधको राम्रो रेट छ, पानी मिसाएको त्यसै हिसाबले बिक्री हुन्छ ।

दूधवालालाई कुनै प्रकारको चेकजाँचको सामना गर्नु पर्दैन । ट्राफिक चेकजाँचका बेलामा समेत दूध बिग्रिने डरले प्रहरीले धेरै बेर सवारी साधन रोक्दैनन् । दुधवालाहरू घर घरमा पुगेर दूध बिक्री गर्ने गरेको खुलेआम भेटाउन सकिन्छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले  ‘खुल्ला दुधको विषयमा काम कारवाही गर्न कुनै प्रकारको उजुरी आए हामीलाई सजिलो हुन्छ’, पन्थले भने, ‘सबैको घरदैलोमा गएर काम गर्न पर्याप्त कर्मचारी हामी संग छैनन् ।’ उनले भने, ‘वाणिज्य कार्यालय लामो समय देखि कर्मचारी विहीन अवस्थामा छ ।’ उनले थपे, ‘उपभोक्ता अधिकार क्षेत्रमा काम गर्ने मुख्य निकाय वाणिज्य हो ।’
‘बाँकेमा ९ वटा डेरी संचालनमा छन् । दूधमा न्युनतम ३ प्रतिशत फैट र ८ प्रतिशत एसएनएफ (ठोस पदार्थ)हुनुपर्छ’, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विनोद श्रीवास्तवले भने, ‘१० रुपैया देखि ७० रुपैया सम्म बिक्री हुने खुल्ला दूधमा कसरी गुणस्तर जाँच्ने ?’

‘मुख्य कुरो त उपभोक्ताहरु हुन्, १० रुपैयामा दुध किन्दा कस्तो खालको दूध हो भन्ने प्रश्न उपभोक्ताको मनमा आउनु पर्ने होइन ?’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘यद्यपि हामी कारवाही गर्ने निकायमा छौं । कसैको उजुरी आए खुल्ला दूध माथि पनि कारवाही गरिन्छ ।’

‘दूधको आधिकारिक रेट खुद्रा ५८ रुपैया प्रतिलिटर र थोक ५४ रुपैया प्रतिलिटर रहेकाे छ’, अम्बे डेरी उद्योगका संचालक दिपक भण्डारीले भने, ‘खुल्ला दूध आफ्नै हिसाबले बिक्री हुन्छ त्यो हाम्रो सरोकार होइन ।’
‘भारतबाट आउने दूधमा मिसावटको अवस्था धेरै हुन्छ’, नेपालगन्जन्यूज संग भण्डारीले भने, ‘सरोकारवाला निकायले ध्यान नदिँदा डेरी संचालनमा समस्या हुँदै आएको छ ।’

‘खुल्ला रुपमा दूध बिक्री गर्ने माथि कानूनले पनि केही गर्न सकेको छैन’, भण्डारीले भने, ‘बाँकेमा उत्पादन भएको दूधलाई ब्यवस्थित गर्ने हो भने भारतबाट दूध खरीद गर्नु पर्दैन ।’

प्रतिक्रिया

प्रतिक्रिया