नेपालगन्जन्यूज/संवाददाता

भारतीयहरू नेपालमा आउने, नेपालीहरू भारतमा जाने र एकअर्का देशमा व्यापार, नोकरी, बसोबास गर्ने विषयमा विवाद देखिन थालेको छ । भारत र नेपालमा कतिपय सामाजिक, सांस्कृतिक, धार्मिक समानता छन् ।

दुई देशबीच सीमा जोडिनु र त्यस प्रकारका समानताहरूका कारण सयौं वर्षअघि देखि दुबै देश विचको सीमा अर्थात दशगजा खुला रहँदै आएको छ ।  नेपाल र भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धिमा निर्वाध आवतजावत गर्न पाउने उल्लेख छ ।

नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर खुला सीमाना जोडिएको छ । सीमा छुट्याउनको लागि ८ हजार ५ सय ५३ सीमास्तम्भहरू गाडिएका छन् । दशगजामा रहेका सीमास्तम्भहरू भारतीय सुरक्षाकर्मी वा स्थानीय कृषकले उखेलेर फालेका घटना विच बाँकेमा विवादहरू देखा पर्न थालेका छन् ।

सिमा सुरक्षा कार्यालय बाँकेका प्रमुख एसपी राजु अधिकारीले बाँकेमा सिमाक्षेत्रमा ३०७ वटा सिमास्तम्भहरु गाडिएको बताए । बाँकेको पूर्वी सिमाना कटकुइयाँ गाबिसको सुईया र पश्चिम बर्दियाको सिमाना भित्र ६५ किलोमिटर दायरा छ ।

राप्ती नदीको कटानले केहि स्तम्भहरु हराएका छन् । उनले भने, कसैले उखेलेको वा हटाएको अवस्था बाँकेमा छैन । नेपाल भारत छुट्याउने मुख्य र सहायक सिमास्तम्भहरु राप्ती नदीले कटान गरेपछि छाडेको स्थानमा सिमासम्बन्धी विवाद छ । गंगापुर गाबिसको दक्षिणी क्षेत्रमा राप्ती नदीले ६४३ (१४) स्तम्भ बगाएको सिमा सुरक्षा कार्यालयले जनाएको छ ।

सीमाका मुख्य ५ वटा पिलर राप्तीले बगाएको सुरक्षा अधिकारीले बताए । ‘२०७० साल श्रावण महिना २९ गते राप्ती बाढीले मटेहिया, भगवानपुरको दक्षिणी क्षेत्रमा रहेको पिलर बगाएको स्थानीय शालिकराम मौर्यले बताए । बाढीका बेला सिंगो गाउँ नै कटानको जोखिममा थियो’, मौर्यले भने, ‘एउटा सानो र एउटा ठूलो पिलर थियो, पछि बाढी घटेपछि देखिएन । नदीले कटान गर्यो, धेरैजनाको जग्गा पनि कटान भयो उनले भने, राप्तीले छाडेपछि मात्रै जग्गा खोज्ने काम सुरु हुन्छ ।’

सिमाना र पिलर सबै कटान भएको छ कसको जग्गा कहाँ सम्म छ भन्ने नै यकिन छैन, पछि नापजाँच हुने बेलामा विवाद उत्पन्न हुन्छ । राप्ती नदीले उत्तरी क्षेत्र अर्थात नेपाली भूभाग कटान गरेपछि दक्षिणी भारतीय क्षेत्रमा छोडेको जग्गामा भारतीय किसानले खेती गर्न थालेका छन् । ‘विवाद उत्पन्न हुने समय अझै आएको छैन’, यादवले भने, ‘धेरैजसोलाई आफ्नै जग्गा थाहा छैन ।’ ‘चारैतिर राप्तीनदीले कटान पछि बालुवा पटान गरेका कारण आफ्नो खेत यकिन गर्न कठिन छ’, उनले भने, ‘खासै अहिले केहि हुन्न बेमौसमी तरकारी भारतीयले मात्रै लगाउँछन् ।’

सिमा सुरक्षा कार्यालयका अनुसार ६४५ (१७,१) ६३५(३), ६४४(१६) तथा ६५७ नं. का मुख्य स्तम्भ हराएका हुन् ।

राप्ती नदीको कटानमा हाल सम्म ४ वटा मुख्य र ५ सहायक स्तम्भ बगेको अभिलेख छ । बाँकेमा ६४४,१, ६४४,२, ६४५,१ ६५६,१, ६३८,६, ६३९,१७, ६४३,१, ६४३,२, नं.का सहायक स्तम्भ र ६३६,४, ६४६,१९ र ६५५,३६ नं.मुख्य स्तम्भ हराएको तथा करिब २० वटा सहायक स्तम्भ सुधार तथा मर्मत गर्ने स्थितिमा रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया