कञ्चनपुरका दुई नगरपालिका: अत्यधिक गर्मीका कारण विद्यालय सञ्चालन समय परिवर्तन

अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना सामुदायिक तथा संस्थागत विद्यालयको सञ्चालन समय परिवर्तन गर्दै बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन्।

कृष्णपुर नगरपालिकाले मौसम प्रतिकूलताले विद्यार्थीको स्वास्थ्यमा असर नपरोस् भनी विद्यालय सञ्चालन बिहान सत्रमा गर्ने निर्णय गरेको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार, राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ अनुसार पाठ्यघण्टा घटाइने छैन र नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेछ।

उनले थपे, “बिहानी सत्र सञ्चालन गर्दा समय व्यवस्थापन र क्रेडिट आवर पूरा गर्न आवश्यक भएकाले नगरभित्रका सबै विद्यालय आइतबार पनि सञ्चालन गरिनेछ। यसले विद्यार्थीको पठनपाठन, शैक्षिक गतिविधि, परियोजना तथा प्रयोगात्मक कार्य प्रभावकारी रूपमा अघि बढाउन मद्दत पुर्‍याउनेछ।”

त्यस्तै, शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन्। नगर शिक्षा समितिको बैठकले अभिभावक, शिक्षक र विद्यार्थीको मागअनुसार समय परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघिसम्म बिहान १० बजेबाट सञ्चालन हुने विद्यालय अब बिहान ७ बजे सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन्।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुखाइ र ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिएकोले बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो।

शिक्षा अधिकृत सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्यघण्टा घटाइने नभएको र नियमित पठनपाठन तथा शैक्षिक गतिविधि निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो।

प्रतिक्रिया

प्रतिक्रिया