भेरी कोरिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकमा १४ नयाँ पक्की पुल निर्माणमा सरकारको १ अर्ब २७ करोड २० लाख रुपैयाँ स्वीकृति

भेरी कोरिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा १४ वटा नयाँ पक्की पुल निर्माणका लागि सरकारले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक सहमति दिएको छ।

अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले बाँकी पुल निर्माण कार्य अघि बढाउन स्वीकृति प्रदान गरेको जानकारी भेरी कोरिडोर कार्यालयका प्रमुख नरेशप्रसाद केशरीले दिनुभयो।

उहाँका अनुसार पासागाढदेखि डोल्पाको दुनैसम्म पर्ने कुल २४ वटा पुलमध्ये हाल १० पुल निर्माण कार्यअन्तर्गत छन् भने १४ वटा पुल निर्माण हुन बाँकी रहेका छन्। निर्माणाधीन पुलमध्ये तिब्ले र ठहरे पुल अन्तिम चरणमा पुगेका छन् भने बाँकी पुलको काम प्रारम्भिक चरणमा रहेको छ।

पुल सेक्टर सुर्खेतले निर्माण जिम्मा लिएका पुलमध्ये जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमा पुल निर्माण भइरहेको छ। तर डोल्पाको त्रिपुराकोटस्थित छलगाड खोलामा दुई पिल्लर निर्माणपछि काम रोकिएको छ भने खदाङ क्षेत्रमा काम अझै प्रारम्भ हुन सकेको छैन। बाँकी सात पुलको निर्माण कोरिडोर कार्यालय आफैले संचालन गर्दैछ।

सरकारबाट आर्थिक सहमति प्राप्त भएपछि अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अगाडि बढाइने भेरी कोरिडोर कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले भने, सहमति प्राप्त आर्थिक वर्षभित्र खरिद प्रक्रिया अघि नबढाए स्रोत सहमति निष्क्रिय हुने चेतावनी दिएको छ र सम्बन्धित निकायलाई समयमै प्रक्रिया सुरु गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ।

जाजरकोटदेखि डोल्पासम्मको भेरी–कोरिडोर सडकलाई कर्णाली प्रदेशकै रणनीतिक महत्वको परियोजना मानिएको छ। डोल्पा क्षेत्र २०७५ सालमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि तल्लुबगरदेखि दुनैसम्मका विभिन्न खोलामा पुल नभएकाले वर्षायाममा यातायात प्रभावित हुँदै आएको थियो।

यस्तै, कोरिडोर अन्तर्गत दुनै–मरिम–तिन्जे–धो सडकखण्डको निर्माण कार्य लामो समयदेखि सुरु हुन नसक्दा माथिल्लो डोल्पाका स्थानीयवासी थप समस्यामा परेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया