नेपालगञ्जको साहित्यिक कार्यक्रममा थारु हुरदंग्वा नाचको चमक–दमक

बाँके पेरारी गाउँको थारु हुरदंग्वा नाचले साहित्यिक माहौलमा थप रौनक थपिदिएपछि सहभागीहरु सभाहलमै खुशीले उफ्रिन थाले । दिनभरीको भाषण भुषण र दिमागी कसरतले थकित मनलाई थारु नाचले राम्रै मनोरञ्जनको अनुभूति गरायो ।

“तराई, पहाड हिमाल हामी सबै नेपाली, नयाँ संविधानमा हामी समान सहभागी” बोलको गीतमा थारु नचनियाहरु मादलको तालमा छमछमी नाच्न थाले । हलका सहभागीहरुको खुट्टा भूइमा हुने कुरै भएन । मादलको तालमै ताल मिलाउन कम्मर कसिहाले । त्यसले थारु नचनियालाई थप हौसला दिलायो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले हीरक जयन्तीको अवसरमा शुक्रबार र शनिबार दुई दिने नेपालगञ्जमा साहित्यिक क्षेत्रीय वाङ्मय कार्यक्रम शुरु गरेको छ । पहिलो दिनको सत्र दुई चरणमा सम्पन्न भयो । पहिलो सत्र उद्घाटन र दोस्रो सत्रमा तीनवटा विभिन्न विधाका कार्यपत्र प्रस्तुत भएपछि दिनभरीको छलफल र भाषणको थकानले सहभागी मनोरञ्जनको पर्खाइमा थिए ।

साँझ सात बजेपछि सांस्कृतिक कार्यक्रम गर्ने पूर्व घोषित कार्यक्रम थियो । सोहीअनुसार विभिन्न जाती समुदायको नृत्य, गीत गजल प्रस्तुतीको कार्यक्रम शुरुभयो । थारुसहित त्यहाँ स्थानीय अन्य नृत्य तथा मनोरञ्जनको कार्यक्रम पनि प्रस्तुत भयो । तर थारु नाचले सबैको ध्यान खिच्न सफल भयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती, सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण शर्मा लगायतले कार्यक्रमले यस क्षेत्रको भाषा, साहित्य र संस्कृतिको उन्नयनले ठूलो योगदान दिने विश्वास दिलाउनुभयो ।

प्रतिष्ठानको स्थापनाको ६० वर्ष पुगेको अवसरमा हीरक जयन्तीको अवसरमा सुदूर र मध्येपश्चिमका साहित्यकारहरुलाई एकै ठाउँमा जमघट गराएर प्रतिष्ठानले विभिन्न विधामा छलफल गराइरहेको छ । यो क्रम शनिबार साँझसम्म चल्ने छ ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीकाअनुसार प्रज्ञा प्रतिष्ठान स्थापना भएको ६० वर्षको अवसरमा हीरक जयन्ती मनाउन शुरु गरेको हो । यसअघि फागुन १९ र २० गते विराटनगरमो क्षेत्रीय कार्यक्रम सम्पन्न गरिसकेको
छ ।
२०१४ असार ९ गते स्थापना भएको प्रतिष्ठानले आगामी वैशाख ६ देखि ८ सम्म काठमाडौंमा राष्ट्रिय बाङमय कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको प्रतिष्ठानले हीरक जयन्तीलाई भव्य बनाउने र सबैको सहभागीता हुनेगरी कार्यक्रम गरिरहेको प्रतिष्ठानका कुलपति डा. उप्रेतीले दावी गर्नुभयो ।

नेपालगञ्जमा दुई दिनसम्म चल्ने क्षेत्रीय कार्यक्रमको पहिलो दिन शुक्रबार तीनजना विज्ञले विभिन्न विधाका कार्यपत्र प्रस्तुत गर्नुभयो । प्राज्ञसभा सदस्य जगत उपाध्याय, वासुदेव पाण्डेय र अवधि भाषाका विज्ञ विक्रम त्रिपाठीले अलग अलग विधामा कार्यपत्र प्रस्तुत गर्नुभयो । बाँकी छ वटा कार्यपत्र शनिबारको कार्यक्रममा प्रस्तुत हुने स्थानीय कार्यक्रम संयोजक हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा मध्येपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका जिल्लाबाट करिब दुईसय साहित्यकार तथा लेखकहरुको सहभागीता रहेको छ । क्षेत्रीय साहित्यिक कार्यक्रमले यहाँको भाषा, संस्कृतिको विकास सँगसँगै साहित्यको श्रीबृद्धिमा समेत भूमिका निर्वाह गर्ने विश्वास प्रतिष्ठानले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया