ममता थापा
मयुर नाँचलाई बांकेको महादेवपुरी गा.वि.सको शम्शेरगन्ज गाउँका युवाहरुको एक समूहले परम्परा र संस्कृतिलाई संरक्षण सँगै कमाइको स्रोत बनाएका छन् । गत ४ वर्ष देखि समूहगत रुपमै मयुर नाँच देखाउदै आएका उनीहरुले संस्कृतिका संरक्षणसँगै आम्दानी पनि गरेका हुन् ।
मयुर नाँच अर्थात स्यारिंगे नाच भनेर पनि चिनिने यो संस्कृति जाजरकोटबाट जन्मिएको बताइन्छ । मयुर नाँच सल्यान, रुकुम हुँदै यतिबेलामा बाँंकेमा प्रख्यात हँुदै गएपनि आर्थिक रुपमा पनि यसमा लाग्नेको आकर्षण बनेको सम्बद्धहरुको भनाइ छ । मयुरको प्वाखलाई पछाडी लगाइन्छ र जस्लाई गर्वा भनिन्छ । त्यसैले यस नाँचलाई गर्वा नाँच समेत भनिन्छ ।
शम्शेरगन्ज गांउमा एउटा समुह बनाई विभिन्न स्थानमा हुने कार्यक्रमहरुमा यो समूहले आफनो नृत्य प्रस्तुत गर्ने गर्दछ । गाउँका युवाहरु आपसमा मिलेर बनाएको यस समूहले नाँच देखाए बापत राम्रो आम्दानी पनि गर्ने गरेका हो । महादेवपुरी ७ मा कपडाको व्यवसाय गर्दै आएका देव बहादुर ओलीले ‘संस्कृतिको संरक्षण सँगै युवाहरुले आर्थिक विकास पनि गर्न थालेको’ बताए ।
लामो समय सम्म रुकुमका गाउँ घरमा आफु पनि सँगै नाचिएको सम्झँदै रुकुमबाट बसाइ सराइ आएका ओलीले उत्साहित हुँदै भने, ‘पहिले आफनो दाईहरु संग नाचिन्थ्यो, अब आएर संस्कृति संरक्षण समूह बनाएर स्यारिंगे नाचलाई निरन्तरता दिन लागेको हौ ।’ संस्कृति जगेर्ना गर्ने उद्देश्यले नै संस्कृति संरक्षण समूहले आउँदो पिढीलाई यसरी मयु नाँचसँग जोडेको टिम अगुवा हर्क बहादुर विष्टले बताए । विष्टका अनुसार, समूहमा २२ जना युवा कलाकार संगठित छन् । १६ जना नाँच्ने कलाकार ३ जना बाद्यवादन तर्फ, १ जना व्यवस्थापक र २ जना सहयोगीको रुपमा समूह बनाइएको विष्टको भनाइ छ ।
समूहलाई प्रोत्साहन गर्नेहरु आफ्ना सन्तानले यो संस्कृतिलाई जोगाई राख्ने चाहना रहेको बताउछन् । संस्कृति संरक्षण समूहका सदस्य शेर बहादुर विष्टले सुरुवाती दिनमा समूह बनाउन र स्रोतको खोजी गर्न समस्या भएपनि अब त्यो सबै समस्या सकिएको बताए । समूहका बाद्यवादक पहल बहादुर घर्तिमगरले त्रिशक्ति सामुदायिक वन उपभोत्ता समितिको योगदान सम्झँदै सुरुवाती दिनमै ६० हजार रुपिया सहयोग गरेको जानकारी दिए ।
समूहका सदस्यहरुले आफ्नै खर्चमा पोशाक बनाएपछि समूह सक्रिय भएको जानकारी दिंदै अर्का सदस्य टोप बहादुर खड्काले त्रिशक्तिको सहयोगले सल्यानबाट गर्वा किनेर ल्याएको सम्झिए । ‘त्यस पछि ३ वटा सामुदायिक वन उपभोक्ता समुहले पनि सहयोग गरे,’ उनले भने ।
समूहका सदस्य मान बहादुर वलीले मेला, महोत्सव, रनिङ्ग शिल्ड, खेलकुद प्रतियोगितामा संरक्षण समुहले आफनो नाच देखाई सकेको जानकारी दिए । समूहका व्यवस्थापक विर बहादुर थापाले कार्यक्रमको महत्व र अवस्था हेरेर ३ हजार देखि १२ हजार सम्म पारिश्रमिक लिने गरेको जानकारी दिए ।
‘हामी त नाच्यौं, हामी पछि नाँच्ने को त ? समूहका अगुवाहरुको सामुहिक चिन्ता छट । विगतमा गाउँका युवा पिढीहरुलाई नाँच सिकाउन कोशिश भएपनि आकर्षण नहुँदा प्रयास सफल नभएको काली बहादुर वलीको भनाइ छ ।
गाउँका अधिकांश युवाहरु विदेशिने, रोजगारका कारणले नयाँ पुस्तामा नाँच सिक्ने चाहना नदेखिएको व्यवस्थापक थापाको भनाइ छ । कम्तिमा १२ जना देखि ३२ जना सम्मको सामुहिक नाँच हुने मयुर नाँचमा महिला पुरुष दुबैको सहभागिता चाहिने देव बहादुर वलीले जानकारी दिए । ‘गाउंमा सिकाउनेको कमि छैन, सिक्नेको अभाव भयो,’ उनले भने ।
विभिन्न जाति र विभिन्न पेशाका व्यक्ति मिलेर बनेको संरक्षण समुहले कला, संस्कृति,रितिरिवाजलाई जर्गेना गर्दै आर्थिक आम्दानी पनि गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको समूहका सदस्य चुनक लाल थारुले बताए । ‘राम्रो प्रायोजक पाए देशका विभिन्न सहरमा पुगेर नाँच देखाउँन मन छ,’ थारुले दैनिक नेपालगन्ज सँग भने ।