आजको हारसँगै यु–१९ एसिया कपबाट बाहिरियो नेपाली टोली

तस्वीर : एसिसी

एसिसी यु–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ मा बंगलादेश र श्रीलंकाले लगातार दोस्रो खेलमा जित हात पारेपछि नेपाल बाहिरिएको हो।
श्रीलंकाले आइतबार भएको खेलमा युएईलाई ५२ रनले हरायो। जससँगै श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगे। अब अन्तिम खेलमा नेपालले युएईसँग खेल्नेछ।

नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा ४९.२ ओभरमा पूरा गर्‍यो। उसका लागि अकबर अलीले नटआउट ९८ र समिम हुसेनले नटआउट ४२ रन जोडे। उनीहरुबीच नटआउट १३० रनको साझेदारी भएको थियो। बंगलादेशले १९ रन बटुल्दा २ विकेट गुमाएको थियो। त्यसपछि बंगलादेशका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरे।

नेपालका लागि कमलसिंह ऐरीले २ विकेट लिए भने हरिबहादुर चौहान र राशिद खानले १–१ विकेट लिए।त्यसअघि टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २६१ रन जोड्यो।

नेपालका लागि पवन सर्राफले ८१ रन जोडे। ओपनिङमा आएका उनले १११ बलमा ८ चौका र १ छक्का हिर्काए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए।

मोहमद आसिफ शेख भने ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलमा २८ रन जोड्ने क्रममा १ चौका र ३ छक्क प्रहार गरे। कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भएका थिए।

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ३७ बलमा ५६ रन जोड्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। 

भीम सार्कीले १९ बलमा २१ रनको योगदान दिए। रासिद खानले ६ रन र कमलसिंह ऐरीले नटआउट ९ रन जोडे। 

बलिङमा बंगलादेशका रकिबुल हसन र मोहमद एलोमले २-२ विकेट र मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ‍ताहिद रिदोयले १-१ विकेट लिए।

प्रतिक्रिया

प्रतिक्रिया