नेपालगन्जका व्यवसायी एकाविहानै पुग्छन् मैदानमा

नेपालगन्जका व्यवसायीहरु आगामी फागुन ४ गते हुने अन्तर व्यवसायी कप फुटबल प्रतियोगिताको उपाधी आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । विहान आफ्ना पसल, व्यवसाय सञ्चालन गर्न हिड्ने व्यवसायीहरुको पछिल्ला दिन प्राक्टिसका लागि एकाविहानै खेलकुद मैदान पुग्ने गरेका छन ।

 
जुमा स्पोर्टस् क्लबले अन्तर व्यवसायी फुटबल आयोजनाको घोषणा गरेपछि वस्तुगत संघमा आबद्ध व्यवसायीहरु अभ्यासका लागि मैदान पुग्ने गरेका हुन् । ‘हाम्रो टिम विहान ६ बजे नै मंगल प्रसाद माविको खेल मैदानमा अभ्यासका लागि पुग्ने गरेको छ’, नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले भने, ‘प्रतियोगितामा भाग लिने मात्रै होइन उपाधी जित्ने हाम्रो तयारी छ ।’

 
जुमाले आयोजना गर्न लागेको प्रतियोगितामा ८ वटा वस्तुगत संघहरुले प्रतिस्पर्धा गर्नेछन् । ‘सबै टिम उपाधी जित्ने दौडमा नियमित अभ्यासमा लागेका छन्’, आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘प्रतिस्पर्धाका लागि दर्ता भएका आठ वटै टिम यतिबेला नियमित प्राक्टिसमा छ ।’
तयारी कपडा, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघको टोली नेपालगन्ज बसपार्क पछाडि रहेको चौरमा विहानै अभ्यासका लागि पुग्ने गर्दछ । ‘हाम्रो अभ्यास निरन्तर जारी छ’, संघका अध्यक्ष भीम बहादुर रानाभाटले भने ।
सविन पौडेलको नेतृत्वमा रहेको कष्टमेटिक तथा चुरा व्यवसायी संघको टोली पनि विहान नै फुटबल खेलको अभ्यासका लागि मंगल प्रसाद माविको खेल मैदानमा पुग्ने गरेको छ भने खुद्रा व्यवसायी संघको टोली बसपार्क नजिकको खेल मैदानमा पुग्छ ।

 
सबै टोलीले नेतृत्व छनोट गरिसकेका छन् । अटो मोबाइल्सको टोली मोहन अधिकारको नेतृत्वमा राँझा एयरपोर्ट स्थित आर्मी ब्यारेकको फिल्टमा प्राक्टिस गरिरहेको छ । विवश मैनालीको नेतृत्वको इलेक्ट्रिकल एशोसिएसनको टोली धम्बोझी स्थिति विशालनगरको चौरमा एकाविहानै अभ्यास गर्न पुग्छ ।

 
‘व्यवसायीहरु खेलाडीकै रुपमा अभ्यास गरिरहनु भएको छ’, आयोजक जुमा स्पोर्टस् क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले भने, ‘सधै व्यवसायमा व्यस्त रहने व्यवसायीहरु केही समय भएपनि फुटबलको बहानामा मैदान पुग्ने गर्नुभएको छ ।’ होटल व्यवसायी संघ बाँके, नेपालगन्ज र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको टोलीले पनि नियमित अभ्यास गरिरहेको अध्यक्ष रानाभाटले जानकारी दिए ।

 
आगामी फागुन ४ गतेदेखि नेपालगन्ज पुष्पलाल चोक नजिक प्रहरी व्यायामशालामा हुने प्रतियोगितामा विजेताले एक लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड प्राप्त गर्नेछन् । ‘हामी प्रतियोगितालाई भव्यता दिने तयारीमा छौं’, क्लबका सहसचिव उदय अधिकारीले तयारीबारे जानकारी दिंदै भने ।

 


व्यवसायीहरु नै संगठित भै स्थापना गरेको जुमा स्पोर्टस् क्लबले पहिलो पटक आयोजना गर्न लागेको अन्तर व्यवसायी कप फुटबलका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतका वस्तुगत संघहरु बीच प्रतिस्पर्धा गराउन लागिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया