ठाउँ चिनाउने इभेन्ट

टीएस ठकुरी

टिएस ठकुरी

सन् १८९६को ग्रीष्मकालीन ओलम्पिकमा पहिलो पटक म्याराथन समावेश गरेपछि यसैबाट प्रभावित भएर एकबर्ष लगत्तै यात्रा प्रारम्भ गरेको संसारको सबैभन्दा पुरानो बोस्टन म्याराथनमा सुरुको बर्ष १५ जना दौडिएका थिए । अहिले आएर बर्षेनी झण्डै तीस हजारको संख्यामा धावक धाविका दौडने गर्छन बोस्टन म्याराथनमा । बोस्टन म्याराथन लोकप्रियताको शिखरमा छ । सहभागिता संख्या नै यसको चुलिएको लोकप्रियताको सही मापन हो । लामो दौडको यो इभेन्टले अमेरिकाको एउटा शहरलाई संसारमा चिनाइदिएको छ । यस म्याराथनका बेला झण्डै पाँच लाख पर्यटक बोस्टन पुग्छन्, पर्यटन प्रवद्र्धनका हिसाबले लोभलाग्दो परिदृश्य यही हो ।

संसारकै अति प्रतिष्ठित मानिएको भेनिस फिल्म फेस्टिभलका बेला बिश्वका बिभिन्न देशबाट एक लाख पर्यटकले भेनिस शहरलाई साक्षात्कार गर्दछन् । इटलीको यो फेस्टिभलले भेनिस शहरलाई र भेनिस शहरले फिल्म फेस्टिभललाई संसारमा चिनाएका छन् । यी दुवैले एक अर्कालाई भरमग्दुर प्रवद्र्धन गरेका छन् । हो, प्रधानमन्त्री कप परिकल्पना गर्दा पनि निश्चित उद्देश्य तय गरिएका थिए । ठाउँ बिशेषलाई चिनाउनु, भलिबलको विकासमा टेवा पुर्याउनु, खेल संस्कृतिको विकास गर्नु, आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु, महिला सशक्तिकरणको बिषयलाई व्यवहारिक उठान गर्नु ।
प्रधानमन्त्री कप इन्डो नेपाल आमन्त्रण महिला भलिबलले यसै महिना चौथो संस्करण पुरा गरेको छ । नियमित आयोजना भएर चौथो संस्करण पुरा गर्ने पश्चिम नेपालको एक मात्र प्रतियोगितामा सुचिकृत हुँदा प्रधानमन्त्री कप एउटा ब्राण्ड बनिसकेको छ । संघीय गणतन्त्र नेपालका प्रमुख कार्यकारी एवं नेपाली खेलकुदका संरक्षक सम्माननीय प्रधानमन्त्रीको नामबाट संचालन भई नियमित चार संस्करण पुरा गरेको यो नै देशको एकमात्र प्रतियोगिता हो भन्दा समग्र जिल्लावासीले गर्व गर्ने बिषय बनिसकेको छ ।

प्रधानमन्त्री कप भन्नेबित्तिकै कम्तीमा नेपाल र भारतमा नेपालगन्ज सम्झिइने अवस्था सिर्जना भइसकेको छ । यसले पक्कै पनि नेपालगन्जलाई भरपुर प्रवद्र्धन गरेको छ भन्ने लाग्छ । भारतीय राष्ट्रिय टिमकै खेलाडीहरु समेत आउने प्रतियोगिताका रुपमा अघि बढिरहँदा नेपाली खेलाडीले अनुभव बटुल्ने र कलाकौशल सिक्ने अवसर समेत प्राप्त भइरहेको छ । यसले नेपाली महिला भलिबलको स्तरोन्नतिमा अवश्य टेवा पुर्याएको छ भन्ने लाग्छ । पर्यटन प्रवद्र्धनमा त प्रधानमन्त्री कपले स्पष्ट आँकडा दिन सक्छ ।

खेलाडीमार्फत निश्चित संख्यामा आन्तरिक र बाह्य पर्यटकलाई बर्षेनी नेपालगन्ज अवलोकन गराइरहेको छ । रंग स्टारका कार्यक्रममा रंगशाला नपुग्ने नेपालगन्जीयालाई प्रधानमन्त्री कपले सशुल्क रंगशाला पुग्ने माहोल तयार गरिदियो प्रधानमन्त्री कपको सहआयोजनामा बिभिन्न स्थानीय संघसंस्थाले सहकार्यको हात बढाउनु नै खेल संस्कृति हो । महिला सशक्तीकरणको बिषयलाई व्यवहारिक रुपमै उठाइदियो । टिकट काटेरै कभर्डहल भरिभराउ भएपछि अन्य खेललाई पनि उत्साह थपिदियो, जोश भरिदियो । उपज नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप फुटबल, कोहलपुर सिटी कप क्रिकेट, न्युडाँफे कप फुटबल । नेपालगन्ज म्याराथनले गत मंसिर ५ गते दोस्रो संस्करण पुरा गरिसक्यो भने नेपालगन्ज गोल्डकप पनि सफलतापूर्वक सम्पन्न भयो । प्रधानमन्त्री कपपछि स्तरीय खेलाडी सहभागिताका हिसाबले नेपालगन्ज म्याराथन र नेपालगन्ज गोल्डकप नै रहेका छन् । बिश्वासको आधारशीला खडा गरिसकेका छन् ।

प्रधानमन्त्री कपमा बिभिन्न क्लबबाट नेपाली राष्ट्रिय टोलीका करिब सबै खेलाडी नेपालगन्ज आउने गरेका छन् । साथै दक्षिण एशियाकै महारथी भारतीय आधिकारिक राष्ट्रिय टिमका खेलाडीद्वय अनुश्री घोष र प्रिती सिंहले तेस्रो र चौथो संस्करणको च्याम्पियन टिम रेलवे टिम (कोलकाता)मार्फत नेपालगन्जमा पाइला टेक्नु यो शहरप्रतिको बिश्वास हो । भोलिका दिनमा फुटबल र क्रिकेट जस्ता लोकप्रिय खेलले भारतीय राष्ट्रिय टिमका खेलाडीलाई नेपालगन्जमा उतारेको परिकल्पना मात्र गर्दा पनि खेलपत्रकारिताको विद्यार्थीका नाताले मन तरंगित हुने गर्दछ ।

नेपालगन्ज म्याराथनले नेपालका नम्बर एक खेलाडीहरुलाई दोस्रो संस्करणदेखि सहभागि गराएर बिश्वासको आधारशिला तयार गरेको संकेत गरिसकेको छ । हो, यी र यस्ता इभेन्टले नै शहरप्रतिको आकर्षण बढाउने हो, बिश्वास दिलाउँदै जाने हो । नेपालगन्ज विविध जातजाति, धर्मावलम्बी र समुदायको बसोबास भएको एउटा पुरानो सिमान्त शहर हो । सानो मनमुटावले पनि सामाजिक सद्भावमा खलल पुग्न सक्ने खतरा जहिल्यै रहन्छ, यस्ता खेलगतिविधिले सामाजिक एकता, आपसी भाइचारामा ठुलो टेवा पुग्नसक्छ । ‘एक समय थियो, जतिबेला सुरेन्द्र हमाल र समसुद्धिन सिद्धिकीहरु नेपाली भारोत्तोलनको शिखरमा थिए, नेपालगन्जको माहोल सफा र सुन्दर थियो ।’ एक पुराना खेलकर्मी सम्झन्छन्,‘न लागुपद्धार्थ सेवनका खबर सुनिन्थे, नत जात जाति, धर्म र समुदाय विभेदका कुरा सुनिन्थे । खेलगतिविधि सुस्ताएपछि नै नेपालगन्जको समाज कताकता विभाजित जस्तो, द्धेष र रिस पालेको जस्तो देखिन थालेको हो ।’

नेपालको राजधानी काठमाण्डौबाट झण्डै २२७ माईल पश्चिमको एउटा पुरानो सहर नेपालगन्ज पश्चिम नेपालको प्रतिनिधि शहर हो । नेपालगन्जको विकासले समग्र पश्चिम नेपालको विकासमा तरंग पैदा गर्दछ । तसर्थ यसको इतिहास जति समृद्ध छ, भबिष्य पनि त्यत्तिकै सुन्दर बनाउने उद्देश्य बोकेर सुरु भएका छन् प्रधानमन्त्री कप महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप फुटबल वा नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल ।
नेपालमा पहिलोपटक महिला क्रिकेटको सुरुवात वा नेपाली भारत्तोलनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने काम नेपालगन्जले नै गरेको थियो । नेपाली सुटिङमा कीर्तिमानी कथा रच्दै एथलेटिक्समा आशलाग्दा प्रतिभाहरु जन्माउने शहरका रुपमा नेपालगन्जले आफुलाई स्थापित गरेकै हो । पहिलो महिला ओलम्पियनका रुपमा पार्वती थापा हुन् या दक्षिण एशियाली खेलकुद (साग)मा पहिलो स्वर्णपदक दिलाउने नेपाली महिला खेलाडीका रुपमा अनिता श्रेष्ठ । दुवै नेपालगन्जले जन्माएको हो ।तसर्थ एकपछि अर्को इतिहास रच्दै खेल र खेलाडीले नेपालगन्जको छुट्टै पहिचान बनाएका छन् । त्योभन्दा धेरै धार्मिक, जातिय र साम्प्रदायिक विविधताले भरिएको यो सहरलाई एकता र सद्भावको मालामा पनि खेलकुद्ले नै उनेको छ । त्यसैले नेपालगन्ज खेलाडीहरुको सहर पनि हो ।

यस सहरमा मधेसी, पहाडी, मुस्लिम र जनजाति समुदाय मिलेर बसेका छन् । भिन्न जाति र धर्मका समुदायलाई बाँधेको छ, यहाँको खेल संस्कृतिले । खेलकुद्ले जात भन्दैन । रंग हेर्दैन । छुट्टै भाषा पनि हुदैन । न त खेलकुद्को कुनै धर्म हुन्छ । हुन्छ त, केबल आपसी एकता र भाईचारा । सामाजिक सद्भाव र राष्ट्र प्रेम । त्यही हो, खेल संस्कृति । नेपालगन्जका चोक–चोक र गल्लीहरुमा बिभिन्न जाति र समुदायका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल खेलिसकेका खेलाडीहरु सामान्य पेसामा भेटिन्छन् । सन् २००५ सम्म नेपालमा क्रिकेट पुरुषको मात्र खेल मानिन्थ्यो । क्रिकेटका दर्शक महिला पनि हुन्थे तर, महिलाले बल र ब्याट समातेको भने देख्न पाईदैनथ्यो । नेपालगन्जका स्कूले किशोरीहरुको आँट र अठोटले क्रिकेटको त्यो असमानताको अन्त्य मात्र गरेन, नेपाललाई अन्र्तराष्ट्रिय उपाधीहरु समेत दिलायो ।

नेपाली महिला क्रिकेटको पहिलो पुस्ताका सर्वाधिक सफल खेलाडीहरु अधिकांश नेपालगन्जका थिए । सन् २००७ मा मलेसियामा भएको एसीसी महिला क्रिकेट प्रतियोगिता नेपालका लागि पहिलो अन्र्तराष्ट्रिय प्रतिस्पर्धा थियो । नेरी थापा मगरले कप्तानी सम्हालेको सो पहिलो राष्ट्रिय टिममा बाँकेका ममता थापामगर, बिनु बुढामगर, केशरी चौधरी, सिता राना, तृष्णा सिंह र मनिषा रावल थिए । नेपालगन्जमा खेलाडीप्रतिको भरोसा र लोकप्रियता यति लोभलाग्दो छ कि राजनीतिक पार्टीहरु चर्चित खेलाडीलाई नगरको मेयर उपमेयर र सांसदमा उम्मेदवार बनाएर चुनाव जित्न चाहन्छन् । त्यसैले खेलाडीहरु राजनीतिमा लागेका छन् र सफल पनि भएका छन् । ओलम्पियन सुरेन्द्र हमाल र दक्षिण एशियाली खेलकुद्मा धेरै पदक जितेका सम्सुद्धिन सिद्धिकी नेपालगन्ज नगरको उपमेयर भईसकेका छन् ।

खेलप्रतिको यही आकर्षणले नेपालगन्जमा निजी लगानीमा राष्ट्रिय तथा सार्कस्तरीय खेलकुद् प्रतियोगिता समेत भएका छन् । खेलप्रेमी उद्यमी रतनकुमार टण्डनको निजी खर्चमा सन् १९९९ को चौथो बृहद राष्ट्रिय खेलकुद् र सन् २०१३ को प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनशिप आयोजना गरिएको थियो । पछिल्लो समय प्रधानमन्त्री कप महिला भलिबलले चौथो संस्करण पुरा गर्नु, नेपालगन्ज म्याराथनले दोस्रो संस्करण पुरा गर्नु, नेपालगन्ज गोल्डकपले निरन्तरता पाउनु पनि शुभ संकेतका रुपमा लिन सकिन्छ ।

जातिय, धार्मिक र सांस्कृतिक विविधता एउटा आधुनिक सहरको सुन्दरता हो । विविधता कहिलेकाँही सामाजिक द्वन्द्वको कारण पनि बनिदिन्छ । नेपालगन्जमा राजनीतिक स्वार्थका लागि कहिले हिन्दू, मुस्लिम त कहिले मधेसी–पहाडी दंगा गराउने कोशिस भए । तर, यहाँको खेल संस्कृतिले ती षडयन्त्रहरु अहिलेसम्म सफल हुन दिएको छैन । खेलाडीप्रति नेपालगन्ज बासीको भरोसाको एउटा प्रमुख कारण यो पनि हो ।खेल संस्कृतिकै कारण ३४ प्रतिशत मधेसी, १८ प्रतिशत थारु, २० प्रतिशत मुस्लिम र २८ प्रतिशत पहाडी समुदायको बसोबास रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज सद्भावको सहर हो ।

नेपालगन्जको म्याराथन खडेरीलाई यसले अन्त्य गर्ने अपेक्षा पनि गरिएको छ । एक समय थियो, नेपालगन्जका खेलाडीले राष्ट्रिय स्तरको म्याराथनमा कडा टक्कर दिने गर्थे । यो अहिले एकदेशको कथा झैं मानिन्छ । तत्कालीन समाजमा असल म्याराथन धावकको परिचय बनाएका नेपालगन्जका ती अग्रज खेलाडीहरु अहिले बिभिन्न पेशा वा व्यवसायमा भेटिन्छन् । प्रशिक्षणकर्ममा होमिएका बिक्रमजंग थापा, चन्द्रबहादुर गुरुंग र हृदयकृष्ण मास्के मात्र सम्झिइने म्याराथन धावक छन् । नेपालगन्ज मात्र हैन, म्याराथन धावकहरु उत्पादन गर्ने कारखानाका रुपमा विभागिय टोलीले सबै शहर वा विकास क्षेत्रलाई उछिनिसकेका छन् । म्याराथन धावक भन्नेबित्तिकै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्झनुपर्ने बाध्यता बनिसकेको छ । म्याराथनको स्वामित्व अब बिभागिय टिमले लिइसकेको पाइन्छ ।

नेपालगन्जको शाब्दिक अर्थ समग्र सिंगो देश जोडिएको छ । नेपाल र गन्ज मिलेर बनेको नेपालगन्जले देश जोड्ने काम गरेको छ । गन्ज भनेकै मुकाम अर्थात प्रमुख थलो भन्ने बुझिन्छ । देशकै नामबाट बनेको एक मात्र शहर नेपालगन्ज कुनै बेला मध्य र सुदुरपश्चिमको प्रमुख केन्द्र हो । आज पनि मध्यपश्चिम र सुदुरपश्चिम दुवै क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो । यसरी, यहाँको प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित यो सिमान्त शहरका आफ्नै मौलिकता, रहनसहन र संस्कृति छन् । यो सद्भावको शहर हो । हिन्दू, मुस्लिम, बौद्धिष्ट, शिख र क्रिष्चियन धर्मावलीको बसोबास छ । सबैको एकअर्काप्रतिको आदरभाव समान छ । बिभिन्न जातजाति र समुदायको मिश्रित बस्ती भएकै कारण यहाँको भाषाको लवज पनि आफ्नै खालको छ । जसलाई नेपालगन्जीया भाषा भनेर पनि चित्रण गर्ने गरेको पाइन्छ ।

त्यसैगरी नेपालगन्ज पश्चिम नेपालकै एउटा पर्यायवाचीनाम हो । नेपालगन्जले समग्र मध्य तथा सुदुरपश्चिम समेट्छ, यसले समग्र पश्चिम नेपाललाई प्रतिनिधित्व गर्दछ । यो शहर कुनै बेला पश्चिम नेपालको प्रमुख केन्द्र थियो । एक समय खेलकुदले चिनाएको शहर पनि हो । सुरेन्द्र हमाल, पार्वती थापा, अनिताश्रेष्ठजस्ता कीर्तिमानी खेलाडी जन्माएको नेपालगन्जको आफ्नै कथा छ । नेपालले राम्रो गर्न सकेको महिला क्रिकेटको उद्गम थलो पनि नेपालगन्ज नै हो । अनियमित भएको बृहत राष्ट्रिय खेलकुदलाई बिउत्याउने रतन टण्डन जन्माउने शहर पनि यही हो । प्राकृतिक सौन्दर्यताको अनुपम स्वाद चाख्नेहरुका लागि एउटा प्रमुख प्रवेशद्धार पनि हो नेपालगन्ज । मानसरोवरको प्रवेशद्धारका रुपमा रहेको यस शहरले पछिल्लो समय हस्पिटालीटीको शहरका रुपमा पनि आफूलाई विकास गर्दै लगेको छ । यो राम्रो संकेत हो ।

त्यस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मले आफ्नो पहिचान बनाउँदै लगेका बेला नेपालगन्जले पनि अस्तित्वको लडाईंमा आफूलाई अग्रमोर्चामा उभ्याएको छ । बुढासुब्बा गोल्डकप भन्ने बित्तिकै धरान सम्झने, आहा रारा गोल्डकप भन्नासाथ पोखरा सम्झने, तिलोत्तमा गोल्डकप सुन्ने बित्तिकै बुटवल र डिभोटी कपले धनगढीलाई चिनाइसकेको अवस्थामा नेपालगन्जले प्रधानमन्त्री कप, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकपलाई अगाडि सारेको छ । चार संस्करण पुरा गरिसकेको प्रधानमन्त्री कपले निरन्तरताको धेरै आधार तय गरिसकेको छ । नेपालगन्ज म्याराथनले निरन्तरता दिएर बिश्वास जगाइएिको छ । अर्को नेपालगन्ज गोल्डकपले प्रायोजकलाई आकर्षण गरेर निरन्तरतामाथि शंका गर्ने ठाउँ बाँकी राखेको छैन ।

यस्तै सपना हो प्रधानमन्त्री कप महिला भलिबल, नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप वा नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभलको पनि । किनकी, आज राजधानी काठमाडौं सबैको आकर्षणको थलो बन्नुका पछाडि एउटा कारण छ, त्यो हो करिअर निर्माणका लागि प्रचुर सम्भावनाका द्वारहरु भेटिनु । हो, ठूलो र पुरानो शहर हुनुका नाताले काठमाडौं सिर्जनाको खानी नै बनेको छ । अब मोफसलमा पनि धेरै सम्भावनाका द्वारहरु खोलिनुपर्छ भन्ने मान्यता अनुसारै नेपालगन्जलाई चिनाउने खेल प्रतियोगिता सुरु भएका हुन् । किनकी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र व्यापारमा नेपालगन्जले धेरै ठूलो छलांग मारिसकेको छ । यो समग्र कर्णालीको बेसक्याम्प हो ।

 

प्रतिक्रिया

प्रतिक्रिया