महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पराजित, थाइल्यान्डसँग ८ विकेटको हार

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत काठमाडौंमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भयो।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। २ रन आवश्यक हुँदा थाइल्यान्डले विजयी चौका प्रहार गर्दै लक्ष्य पूरा गरेको हो।

थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन्। नानपत कोन्चारोन्काईले ३२ रन तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा अलआउट हुँदै १२२ रनमा सीमित भयो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ विकेट लिँदा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले समान १–१ विकेट लिए।

नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

प्रतिक्रिया