
विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राख्यो। खेलको २९औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। दोस्रो हाफको ५१औँ मिनेटमा युवराज खड्काले अर्को गोल थपेपछि एपीएफको अग्रता दोब्बर भयो।
संकटाका गणेश हमाले ८१औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन। यो हार संकटाको चार खेलमा पहिलो हो।
लगातार तेस्रो जितपछि एपीएफले ९ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। एपीएफसँगै लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले पनि लगातार तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेका छन्।
यसअघि संकटा क्लबले सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबसँग बराबरी खेल्दै कांक्रेविहार युवा क्लबलाई पराजित गरेको थियो। हाल संकटाको चार खेलबाट ५ अंक रहेको छ।
त्यसैगरी, आइतबारै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा एनआरटीले फ्रेण्ड्स क्लबलाई १–० ले पराजित गरेको छ। यो एनआरटीको पनि लगातार तेस्रो जित हो। पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएको एनआरटीले त्यसपछि सातदोबाटो युथ क्लब, कांक्रेविहार युवा क्लब र फ्रेण्ड्स क्लबलाई हराउँदै उत्कृष्ट पुनरागमन गरेको हो।
एनआरटीले पनि चार खेलबाट ९ अंक जोडेको छ। समान अंक भए पनि गोलअन्तरका आधारमा एपीएफ हाल शीर्ष स्थानमा रहेको छ।











