खोटाङमा दलअनुसार मनोनयन दर्ताको समय र रुट तय

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय र रुट निर्धारण गरेको छ। मनोनयन दर्ता प्रक्रिया सरल, सहज र व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल गरेर हरेक दलका लागि छुट्टाछुट्टै समय र रुट तोकिएको हो।

मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीका अनुसार मनोनयन दर्तालाई व्यवस्थित बनाउन सबै दललाई फरक–फरक समय र रुट निर्धारण गरिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ।

निर्धारित समयअनुसार मंगोल नेसनल अर्गानाइजेसनका लागि बिहान ११ बजे, श्रम संस्कृति पार्टीका लागि १२ बजे, नेकपा एमालेका लागि दिउँसो १ बजे, नेपाली कम्युनिष्ट पार्टीका लागि १ः३० बजे, नेकपा माओवादीका लागि २ बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि २ः३० बजे, राष्ट्रिय परिवर्तन पार्टीका लागि ३ बजे, नेपाली कांग्रेसका लागि ३ः३० बजे, जसपा नेपालका लागि ४ बजे, जसपाका लागि ४ः३० बजे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि बेलुका ५ बजे मनोनयन दर्ताको समय तोकिएको छ।

हरेक दलले टिमसहित मनोनयन दर्ता गर्न जाने रुटसमेत तोकिएको छ। सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलका अनुसार मनोनयन दर्ताका लागि आवश्यक मनोनयनपत्र सबै दललाई माघ ५ गते नै प्रदान गरिसकिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया