राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार श्रेष्ठले आज औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि श्रेष्ठ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ता हुँदैछ, जसको दुई दिन अगाडि उनले राजीनामा दिएका हुन्।
श्रेष्ठले यसअघि २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए। त्यसपछि उनी २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिन लागेकै अवस्थामा एक महिना अगावै पद त्यागेर उनी पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्।
यससँगै श्रेष्ठको प्रत्यक्ष राजनीतिमा पुनः सक्रियता बढ्ने संकेत देखिएको छ।











