रेशम–रञ्जिता विवादको असर: नाउपाबाट नेताहरू बाहिरिँदै, रास्वपा बलियो

२०७९ सालको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रभावशाली उपस्थितिसहित उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले गम्भीर आन्तरिक संकटमा फसेको छ। सुदूरपश्चिम प्रदेशलाई आफ्नो मुख्य आधार बनाएको यो पार्टी वैकल्पिक राजनीतिक शक्तिका लागि अनुकूल वातावरण हुँदाहुँदै पनि नेतृत्व तहकै विवादका कारण विभाजनको संघारमा पुगेर कमजोर बनेको छ।

थरुहट आन्दोलन र टीकापुर घटनाको पृष्ठभूमिमा स्थापित नाउपाबाटै राजनीति सुरु गरेका धेरै नेताहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ आकर्षित भएका छन्। एक समय रेशम चौधरी र रञ्जिता श्रेष्ठको नेतृत्वमा एकढिक्का रहेका थारु समुदायका नेताहरू अहिले रास्वपाको झण्डामुनि गोलबद्ध हुँदै आगामी निर्वाचनको तयारीमा जुटिरहेका छन्।

नाउपाको संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका नेताहरू अहिले रास्वपामा निर्णायक भूमिकामा देखिन थालेका छन्। कैलालीकी करिश्मा कठरिया यसको उदाहरण हुन्। अघिल्लो निर्वाचनमा नाउपाबाट सक्रिय रहेकी उनी हाल रास्वपा सुदूरपश्चिमको सह–महामन्त्री तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छिन्। उनी प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाबाट समानुपातिकतर्फको बन्दसूचीमा समेत परेकी छन्।

कञ्चनपुरमा पनि नाउपाको राजनीतिक आधार रास्वपातर्फ सर्दै गएको देखिन्छ। २०७९ को निर्वाचनमा नाउपाबाट कञ्चनपुर क्षेत्र नं. २ (१) मा प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी गीता चौधरी अहिले रास्वपामा आबद्ध भई समानुपातिक बन्दसूचीमा समावेश भएकी छन्।

थारु समुदायको बाहुल्यता भएका क्षेत्रमा नाउपाका अनुभवी र शिक्षित पूर्वनेताहरूलाई समेट्दै रास्वपाले आफ्नो जनाधार विस्तार गर्ने रणनीति अपनाएको बताइएको छ।

समानुपातिक मात्र होइन, प्रत्यक्षतर्फ पनि नाउपाका पूर्वनेताहरू रास्वपाको चुनाव चिह्न लिएर मैदानमा उत्रिने तयारीमा छन्। नाउपाका तत्कालीन वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित रास्वपामा प्रवेश गरिसकेका छन्। थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारु, राजेश अधिकारी, कोमल ज्ञवालीलगायत नेताहरू पनि रास्वपातर्फ लागेको देखिन्छ। कैलालीबाट लक्ष्मण थारुले रास्वपाबाट प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको चर्चा छ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नाउपाले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो। यसपटक ती तीनै सिटमा रास्वपाले नाउपाबाट आएका नेतालाई उम्मेदवार बनाउने योजना बनाएको स्रोतको भनाइ छ। यद्यपि, कञ्चनपुरबाहेक सुदूरपश्चिमका अन्य जिल्लामा रास्वपाले प्रत्यक्ष उम्मेदवार औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

नाउपाबाट रास्वपामा प्रवेशको क्रम जारी रहँदा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको भूमिकाले भने अन्योल सिर्जना गरेको छ। २०७९ मा कैलाली–१ (२) बाट नाउपाको टिकटमा निर्वाचित चौधरी रास्वपामा प्रवेश गरेको खबर सार्वजनिक भए पनि भोलिपल्टै उनले आफू प्रवेश नगरेको दाबी गरेका थिए। उनको यस यु–टर्नले उनी पुनः नाउपामा फर्किएका हुन् वा अन्य दलसँग संवादमा छन् भन्ने प्रश्न उठेको छ।

२०७८ पुसमा निर्वाचन आयोगमा दर्ता भएको नाउपाले छोटो समयमै स्थानीय तहमा चार पालिका प्रमुख जित्नुका साथै प्रदेश र संघीय निर्वाचनमा प्रभाव जमाएको थियो। तर, पार्टीको वर्तमान अवस्थाको प्रमुख कारण रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षलाई मानिएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र पर्याप्त छलफल नगरी कम्युनिस्ट दलहरूसँग सहकार्यको प्रयास गरेपछि असन्तुष्टि चुलिएको थियो। रेशम चौधरी जेलमुक्त भएपछि २०८० पुसमा भएको महाधिवेशनबाट अध्यक्ष बने पनि निर्वाचन आयोगले रञ्जितालाई नै वैधानिक अध्यक्ष मानेपछि विवाद चरमोत्कर्षमा पुगेको हो।

हाल रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गराइसकेका छन् भने रञ्जिता श्रेष्ठ मूल पार्टीको नेतृत्व जोगाउन संघर्षरत छिन्। केन्द्रको विवादले तल्लो तहका कार्यकर्तामा गम्भीर असर परेको नाउपाका प्रदेश सांसद रामेश्वर चौधरी बताउँछन्। “नेताहरू तीन दिशातिर लागे, हामी माउबिनाको चल्लाजस्तै भयौँ,” उनले भने।

आलोचनाबीच अध्यक्ष रञ्जिता श्रेष्ठले भने कडा प्रतिवाद गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी विवादलाई ‘श्रीमान्–श्रीमतीको झगडा’ भनेर सामान्यीकरण नगर्न चेतावनी दिएकी छन्। “यदि व्यक्तिगत झगडा मात्रै भएको भए त्यो अंश मुद्दा वा बहुविवाहको मुद्दाका रूपमा देखिन्थ्यो,” उनले लेखेकी छन्, “यहाँ राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाई व्यक्तिगत झगडामा झार्नु राजनीतिक असफलताको प्रमाण हो।”

रञ्जिताले आफू बाध्यताले राजनीतिमा आएको र राजबन्दी रिहाइका लागि सत्ता समीकरण प्रयोग गरिएको दाबी गरेकी छन्। उनले आफूलाई पदलोलुप भन्दै गरिएको आलोचनालाई चरित्र हत्या भन्दै आपत्ति जनाएकी छन्।

पहिचान र थरुहटको मुद्दा बोकेको नाउपा अहिले नेतृत्वको टकराब र अदूरदर्शिताका कारण ओझेलमा परेको देखिन्छ। एक समय थारु समुदायको एकलौटी समर्थन पाएको पार्टीको जनाधार अहिले विभाजित छ।

एकातिर रेशम चौधरीको नयाँ दल, अर्कोतिर रञ्जिता नेतृत्वको संस्थापन पक्ष र यही अन्योलबीच नाउपाका प्रभावशाली नेताहरू रास्वपातर्फ आकर्षित भइरहेका छन्। कैलालीमा रास्वपाले नाउपाको स्थान लिने चर्चा चलिरहँदा थरुहट आन्दोलनका मुद्दा अब कुन दलको घोषणापत्रमा समेटिने हुन् भन्ने प्रश्न थारु समुदायभित्र उठ्न थालेको छ। यही परिस्थितिका कारण आगामी निर्वाचनमा थारु समुदायको मत विभाजन हुने आकलन गरिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया