हिजोको दिन नेपाली क्रिकेटको इतिहासमा अविस्मरणीय क्षण बनेको छ । वेस्ट इन्डिजलाई टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पहिलोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध स्पष्ट जित दर्ता गरेको हो । पछिल्ला दिनमा देशभरका जनतालाई स्तब्ध बनाएका दुःखद घटनाबीच यस विजयले सबैलाई एकसाथ खुशी र गर्वको अवसर दिएको छ ।
दुईपटक टि–२० विश्वकप जितिसकेको वेस्ट इन्डिजविरुद्ध नेपालको जित ऐतिहासिक त हो तर अनपेक्षित भने होइन । किनकि वेस्ट इन्डिजले नेपालसँगको सिरिजका लागि आफ्नो पहिलो रोजाइका खेलाडी नपठाई अनुभवहीन टोली उतारेको थियो । १५ सदस्यीय स्क्वाडभित्र रहेका पाँच जना खेलाडीले त अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय म्याच खेलेकै थिएनन्, जसमा चार जनाले त नेपालविरुद्धै डेब्यू गरे । नियमित कप्तान साइ होपसहित अल्जारी जोसेफ, जोनाथन चाल्र्स, ब्रान्डोन किङ, एविन लेविस, रोस्टन चेजलगायत स्टार खेलाडी अनुपस्थित रहे । प्रशिक्षक ड्यारेन सामीले पनि जिम्मेवारी सम्हालेनन् । स्पिनर अकिल होसेनलाई कप्तान बनाइएको यो टिममा जासोन होल्डर, काइल मेयर्स र फेबियन एलेनजस्ता केही मात्र अनुभवी अनुहार रहेका थिए ।
तर, जोसुकै खेलाडी होउन्, नेपालले जित हात पारेको तथ्य आफैंमा गौरवपूर्ण छ । बाँकी दुई खेलमा पनि नेपाली टोली उच्च आत्मविश्वाससहित मैदान उत्रिने विश्वास लिइएको छ ।
हिजोको म्याचमा नेपालले ब्याटिङमा औसत तर बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्यो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दिएको १४८ रनको लक्ष्य त्यति ठूलो थिएन, तर कसिलो बलिङसामु वेस्ट इन्डिजका ब्याटर दबाबमा परे । स्पिन आक्रमण झेल्न उनीहरूलाई निकै सकस भयो ।
नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेख १२ रनमै आउट भए । त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले इनिङ सम्हाले । कुशलले २१ बलमा ३० रन र रोहितले ३८ बलमा ३५ रन बनाए । उनीहरूको साझेदारीपछि गुलशन झा (२२ रन) र दीपेन्द्रसिंह ऐरी (१५ रन) ले पनि योगदान दिए । एक समय नेपाल १६० रनभन्दा माथि पुग्ने अवस्थामा देखिए पनि जासोन होल्डरको उत्कृष्ट बलिङले स्कोर केही रोकियो । डेब्यू खेलाडी नविन विदाइसीले पनि तीन विकेट लिँदै वेस्ट इन्डिजलाई दबाबमा राखे ।
बलिङतर्फ नेपाल निकै धारिलो देखियो । कुशल भुर्तेलले खतरनाक काइल मेयर्सलाई रनआउट गरेपछि वेस्ट इन्डिज सुरुवातमै कमजोर भयो । ललित राजवंशीसहित रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्र ऐरीले बलिङमा चम्किए । १६.३ ओभरमै वेस्ट इन्डिज सात विकेट गुमाइसकेको थियो, तर अन्तिमतिर फेबियन एलेन र अकिल होसेनले केही आक्रामक प्रहार गर्दै खेल रोमाञ्चक बनाए । सोमपाल कामीको महँगो १८औं ओभरपछि खेल वेस्ट इन्डिजतर्फ मोडिने आशंका भए पनि करण केसीले १९औं ओभरमा केवल दुई रन खर्चेर एक विकेट लिएपछि नेपालको जित सुनिश्चित भयो ।
म्याचमा युवा बलर नन्दन यादव घाइते भए । उनले एक ओभरमा उत्कृष्ट बलिङ गर्दै एक विकेट लिएका थिए तर चोटका कारण खेल जारी राख्न सकेनन् । उनको अवस्थाबारे आधिकारिक जानकारी आएको छैन । यस्तै, सन्दीप लामिछाने पनि अनुपस्थित रहे, तर उनको कारणबारे क्यानले केही खुलाएको छैन ।
समग्रमा, हिजोको जित नेपाल क्रिकेटको स्तर र आत्मविश्वासलाई अर्को उचाइमा पुर्याउने ऐतिहासिक क्षण बनेको छ ।
