माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नेपाली चलचित्र ‘महाभोज’ हेरेका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति वर्षमान पुन, नेतृ पम्फा भुसाल, नेता शक्ति बस्नेत, देव गुरुङ लगायत नेताहरू पनि फिल्म अवलोकनमा सहभागी थिए।
फिल्म हेरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले ‘महाभोज’ आजको पुस्ताले बुझ्नैपर्ने गहिरो सन्देश बोकेको उल्लेख गरे। लामो समयपछि हलमा गएर फिल्म हेरेको अनुभव सुनाउँदै उनले चलचित्र चाखलाग्दो, तथ्यपरक र सन्देशमूलक भएको बताए।

प्रचण्डले फिल्मले त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि केही अवशेष अझै बाँकी रहेको यथार्थ उजागर गरेको टिप्पणी गरे। उनले भने, ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादविरुद्ध लड्ने साहस राख्छन् र एकदिन परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।’








