केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।
अहिलेको पानी पर्ने तरिका हेर्दा यस वर्ष मनसुन भित्रिन ढिलो नहुने अड्कल गर्न थालिएको छ । वरिष्ठ मौसमविद् मिनकुमार अर्याललाई पनि त्यस्तै लागिरहेको छ । उनी भन्छन्, ‘अहिले जलवाष्पयुक्त हावाको जुन खालको मुभमेन्ट देखिएको छ, त्यसले अलिअलि मनसुनल प्याट्रन देखाइरहेको छ । यसपालि मनसुन नेपाल भित्रिन ढिलो नहुन सक्छ ।’
तर प्रिमनसुनमा परिरहेको पानीकै आधारमा मनसुन छिटो आउँछ भन्न नसकिने उनी बताउँछन् । ‘एटमोस्फेरिक साइन्स एकदमै जटिल हुन्छ । अहिले पानी परेको हेरेर मनसुन छिटो आउने र ढिलो आउने भन्ने हुँदैन,’ वरिष्ठ मौसमविद अर्याल भन्छन्, ‘होल ग्लोबल सिस्टम हेर्दा यसपालि नेपालमा मनसुन भित्रिन ढिलो नहुन सक्ने अड्कल गरिएको हो ।’
नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ ।
मनसुन अवधिमा पर्याप्त पानी पर्ने भएकाले खेतिपाती खासगरी नेपालको मुख्यबाली धान उत्पादनमा सघाउ पुग्छ । तर वर्षासँगै बाढी, पहिरो र डुबान जस्ता प्रकोपले जनधनको क्षति समेत हुने हुँदा चिन्ता पनि बढ्ने गर्दछ ।
मनसुन कहाँबाट आउँछ ?
मौसमविदहरुका अनुसार सोमालियामा चल्ने हावाहुरी भूमध्य सागर र हिन्द महासागर हुँदै दक्षिण एशियामा प्रवेश गर्छ । बङ्गालको खाडी र अरब सागर हुँदै नेपाल प्रवेश गर्ने त्यही हावाले नेपालमा मनसुन भित्राउने मौसमविदहरुको भनाइ छ ।
मनसुन नेपाल आउनु भनेको पानीको मात्रा बढी भएको हावा बग्दैबग्दै आउनु हो । त्यो मनसुनी हावाका पनि दुईवटा हाँगा हुन्छन् । एउटा हाँगो सिधा भारतको बीच भागबाट पश्चिमतिर लाग्छ भने अर्को बंगालको खाडीतिरबाट नेपाल भित्रिने गर्दछ ।
वरिष्ठ मौसमविद् अर्यालका अनुसार अहिले मनसुनी वायु श्रीलंका आसपास आइपुगेको छ । यो भारतको केरला, सिक्किम हुँदै नेपालको पूर्वी भागबाट भित्रिन्छ ।
अर्याल भन्छन्, ‘कहिलेकाहीँ ग्लोबल सिस्टम विभिन्न कारणले केही दिन बीचमा स्थीर भएर रहन सक्छ । यदि रोकियो भने मनसुन भित्रिन ढिलो हुन्छ । कहिलेकाहीँ नरोकिई अगाडि बढिरहे छिटो हुन पनि सक्छ ।’
मौसमविदहरु हावापानीका विभिन्न प्रणाली र प्यारामिटर हेरेर मनसुन सुरु भए/नभएको घोषणा गर्दछन् ।
यस वर्षको मनसुन अवधिमा नेपालमा वर्षा र गर्मी दुबै सरदरभन्दा बढी हुने पूर्वानुमान छ ।
