भेरी मेडिकल कलेज होइन, अब न्याम्सको आंगिक अस्पताल

एमडी/एमएसको अध्ययन भेरीमै


निकै वर्षदेखि भेरी अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा अगाडी बढाउन गरिआएको माग र अपेक्षालाई डा. बद्री चापागाईले नेतृत्व लिएपछि ‘डेटएक्पाएर’ भनिदिए ।

त्यो बेला उनको तर्क थियो, ‘अब भेरी अस्पताललाई विशेषज्ञ सेवा सहितको स्तरीय अस्पताल बनाउनु पर्ने बेला एमबीबीएसका विद्यार्थीको सिकाई थलो बनाउनु हुन्न ।’


भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष समेत भइसकेका डा. चापागाईं प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट नियुक्त भएसँगै उनले दैनिक नेपालगन्जसँग भनेका थिए, ‘नेपालमा निजी क्षेत्रले डाक्टरहरु पर्याप्त रुपमा निकाल्छन् त्यसकारण अब पनि सरकारले एमबीबीएस पढाउने कलेज खोल्न उचित छैन भन्ने मेरो धारणा हो ।’


‘हो, एमबीबीएस पढाएर अस्पताल राम्रो हुन्छ भन्ने मेरो सोंच थिएन,’ डा. प्रकाश थापा मेडिकल सेपेरिटेन्टेन्ड त्यसबारे निकै बहस भएको सम्झँदै डा. चापागाईले भने, ‘अस्पताल राम्रो बनाउनु पर्छ भन्ने मेरो पहिलेदेखिको सोंच हो र म त्यही विषय केन्द्रित बोल्दै पनि आएको थिएँ ।’


त्यही सोंच र अभियानमा केन्द्रीत प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. चापागाईंले भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते लिखित अनुरोध गरे ।


‘मैले न्याम्समा गएर पर्सनली पनि त्यसबारे धेरै कुरा गरेको थिएँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्नुअघिका विभिन्न पहल र प्रयासबारे चर्चा गर्दै डा. चापागाईंले भने, ‘सरकारले भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेर हाम्रो प्रयासलाई अनुमोदन गरेको छ ।’


यो निर्णय कार्यान्वयनसँगै अस्पतालबाट बिरामीले पाउने सेवामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्दै डा. चापागाईंले आवासीय स्नातकोत्तर अध्ययन गर्ने डाक्टरलाई प्राइभेट प्राक्टिस गर्न छुट नहुने भएकाले पनि अस्पतालमै बढी समय दिने व्यवस्था मिल्ने बताए ।


‘अर्काे कुरा उनीहरु एमबीबीएसका विद्यार्थी होइनन्, डाक्टर नै हुन्, विशेषज्ञताका लागि रिसर्च गर्न, एमडी÷एमएस अध्ययन गर्न आउने हुन्,’ उनीहरु विषेशज्ञता हासिल गर्ने डाक्टर हुने भएकाले अधिकांस समय अस्पतालको वार्ड र अस्पताल बित्दा विरामीले स्तरिय सेवा तथा हेरचाह पाउने तर्क गर्दै डा. चापागाईले भने ।


‘भेरीमा अब गुणस्तरिय सेवा, जनशक्ति र रिसर्च पनि हुने भयो,’ डा. चापागाईले भने । सरकार चैत्र १० गतेको मन्त्री परिषद् बैठकबाट भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई न्याम्सको आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको हो ।


भेरी अस्पतालमा बिचमा केही समय केही बिषयहरुमा एमडी÷एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिएपनि त्यो नियमित हुन सकेको थिएन् । ‘पद र स्पष्ट जिम्मेवारी तोकिन नसक्दा प्रभावकारी हुन सकेको थिएन,’ डा. चापागाईं भन्छन् ।


सरकारको यो निर्णयसँगै भेरी अस्पतालको मातहतमा एमडी÷एमएसका विद्यार्थीहरुले अध्ययन पूरा गर्नेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया