बाँकेमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीको बचत ह्वात्तै घट्दै गएको छ ।

सहकारीको भावना अनुसार नचल्ने र व्यक्तिगत स्वार्थ केन्द्रित भएका सहकारीलाई छानबिन गरेर कारवाही गर्न आवश्यक छ ।
प्रेम प्रसाद सुवेदी
अध्यक्ष, जिल्ला सहकारी संघ बाँके
बचत घट्दा तरलताको समस्या सहकारीमा थपिंदै गएको छ । समस्या देखिएका सहकारी बाहेक सामान्य अवस्थामा चलिरहेका सहकारीमा समेत बचत घट्दा तरलताको समस्या सुरु भएको हो । यसले सहकारीले आर्जन गरेको विश्वास गुमाउँदै जान थालेको देखाएको छ ।
‘८० प्रतिशतसम्म बचत घटेको छ’, बाँकेका बचत तथा ऋणको कारोबार गर्ने एक सहकारी संस्थाका सञ्चालकले भने, ‘यहाँ दुई÷तीन वटा सहकारीमा देखिएको समस्याको प्रभाव अहिले अरु सहकारीमा पनि पर्न थालेको छ ।’ उनी भन्छन्, ‘दुई÷तीन वटा सहकारीले रकम फिर्ता गर्न नसकेपछि अरु पनि सहकारीमा बचत गर्न डराएको अवस्था छ ।’
‘बचत ह्वात्तै घटेको छ, ऋणको किस्ता समयमै उठेको छैन, बचत फिर्ता माग्न बचत कर्ता समय अगावै पनि आइरहनु भएको छ,’ उनले भने, ‘आर्थिक संकटका बेला ऋणि पनि समस्यामा छन्, उहाँहरुबाट नियमित किस्ता आएको छैन, बचतकर्ता डराउँदा बचत पहिले जस्तै छैन, यसले अन्य सहकारीमा पनि समस्या बढाएको हो ।’
समस्यामा रहेका सहकारीको बचत हुन छाडेको छ । कर्मचारीहरु बचत संकलन गर्न फिल्डमा पठाउन छाडिएको छ । सामान्य रुपमा चलिरहेका सहकारीले पनि बचत उठ्न छाडेपछि भुक्तानी गर्न सकिरहेको छैनन् । ‘बचत फिर्ताको समय पूरा हुँदा पनि तरलता अभावले फिर्ता गर्न सकेका छैनौं, निश्चित किस्ता बनाएर रकम फिर्ता गरिरहेका छौं’, समस्याग्रस्त एक सहकारी संस्थाका अध्यक्षले भने, ‘सहकारीमा सन्तुलन बिग्रिएको छ तर, ऋण, किस्ता उठ्दै गएपछि क्रमशः फिर्ता नै गर्न नसक्ने अवस्थामा भने होइन ।’
नेपालगन्जमा एउटै व्यापारीले ३/४ वटासम्म सहकारीमा खाता खोलेर बचत तथा ऋणको कारोबार गर्दै आएको पाइन्छ । ‘एउटामा भुक्तानी नपाउँदा अन्य सहकारीमा पनि बचत गर्न छाडेका छौं’, नियमित बचत गर्दै आएका व्यवसायीले भने, ‘व्यापार घटेको छ, थोरै गरेको बचत पनि फिर्ता हुन्न भन्ने अवस्था देखिन्छ ।’ व्यापारीहरु एउटा सहकारीले समस्या पार्दा अरुसँग पनि विश्वास जोगाउन डराइरहेको बताउँछन् ।
सुमन न्यौपानेले मासिक रुपमा बचत गरेर महिनाको अन्त्यमा खर्चका लागि पैसा निकाल्ने गरेकोमा अहिले पटकपटक धाउँदा पनि सहकारीबाट रकम फिर्ता नपाएको बताउँछिन् । ‘पसलमै आएर पैसा लग्ने र मागेको बेला पाइन्थ्यो, अहिले आफ्नै बचत फिर्ता लिन पटकपटक धाउनु परेपछि बचत गर्न छाडेको छु’, उनले दैनिक नेपालगन्जसँग भनिन् ।
खुद्रा व्यापारी मित्रा भट्टराईले पनि सहकारीमा बचत गर्न छाडेको बताउँछिन् । ‘फिर्ताको सुनिश्चितता नै भएन, कसरी बचत गर्ने ?’, उनले भनिन्, ‘भरपर्दा सहकारीमा मात्रै अब बचत गर्न सकिने अवस्था छ ।’
एक बचतकर्ताले बैंक भन्दा राम्रो सहकारीको कार्यालय देखेपछि साढे ८ लाख जम्मा गरेको र अहिले फिर्ता नगरेको बताए । ‘बैंक भन्दा व्यवस्थित देखिने सहकारीले डुबाउलान् सोच्नै सकिएन’, उनी भन्छन् । कतिपयले धेरै ब्याज पाउने लोभमा सस्तोमा ऋण नै लिएर सहकारीमा बचत गरेको समेत बताइन्छ ।
समस्या देखिएका कतिपय सहकारीका सञ्चालक अहिले सम्पर्कमा छैनन् सेवाग्राहीको । यद्यपि, कार्यालय नै बन्द भने गरेका छैनन् । समस्यामा रहेका सहकारी सम्हालिने प्रयास गरेको दाबी समेत गर्दै आएका छन् । तर, बचत फिर्ता भने गर्न सकेका छैनन् ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी सहकारी संकटमा पर्नुमा धेरै कारणहरु रहेको बताउँछन् । ‘अहिले देशको आर्थिक अवस्था ठिक छैन, सहकारी समस्यामा पर्नुको प्रमुख कारण पनि त्यही हो, अवस्था सुध्रदै जाँदा सहकारी पनि ठिक भइहाल्छ’, उनले दैनिक नेपालगन्जसँग भने, ‘सहकारीको भावना अनुसार नचल्ने र व्यक्तिगत स्वार्थ केन्द्रित भएका सहकारीलाई छानबिन गरेर कारवाही गर्न आवश्यक छ ।’ अध्यक्ष सुवेदीले हालसम्म बाँकेका २/३ वटा सहकारीको समस्या मात्रै जिल्ला संघसम्म आइपुगेको बताए ।
‘कर्जा तिर्नुहुन्न भनेर लागेको समूहका कारण पनि सहकारीमा समस्या भैरहेको छ, बचत संकलन गर्ने र त्यसबाटै ऋण लगानी गरेर सहकारी चल्ने हो’, अध्यक्ष सुवेदी भन्छन्, ‘ऋण नै फिर्ता नआउने हो भने समस्या हुन्छ ।’
अध्यक्ष सुवेदी ऐन, नियम, कानुन विपरित सञ्चालित सहकारीलाई कारवाही गरेर राम्रा सहकारी चिन्हित गरिदिने हो भने सहकारी पुनः ट्रयाकमा आउने बताउँछन् । ‘त्यसका लागि हामीले प्रयास पनि गरिरहेका छौं’, राष्ट्रिय सहकारी दिवसको सेरोफेरोमा अन्तरक्रिया, छलफल गरिरहेको जानकारी दिंदै अध्यक्ष सुवेदीले भने, ‘चैत्र १६ र १७ गते सहकारीकै सम्बन्धमा कार्यशाला पनि राखिएको छ ।’
जिल्ला सहकारी संघ बाँकेको तथ्यांक अनुसार, बाँकेमा कृषि सम्बन्धी काम गर्ने १ सय ६९ सहकारी, बहुउद्देश्यीय ८६ वटा, बचत तथा ऋण सम्बन्धी काम गर्ने ७७ र अन्य ५७ सहकारी रहेका छन् । जिल्लामा रहेका ४ सय ९ मध्ये संघमा ३ सय ८९ सहकारी आबद्ध छन् ।
बाँकेका सहकारीमा शेयरपूँजी १ अर्ब रहेको छ । उक्त सहकारीहरुले बार्षिक ३ अर्ब बचत संकलन गर्दछन् भने कर्जा लगानी २ अर्ब ८१.५० करोड रहेको छ । सहकारीमा आबद्ध शेयर सदस्य ३ लाख ६५ हजार रहेको छ भने त्यसबाट १ हजार ९ सय ४५ ले रोजगारी पाएका छन् ।
अर्बौं बचत तथा ऋण लगानी गर्ने सहकारीहरू बैंक र निजी सम्पत्ति झै चल्न खोज्दा पनि समस्या निम्तिएको सहकारी सम्बद्ध बताउँछन् । ‘सहकारी कुनै व्यक्ति विशेषको नभई सबै सदस्यहरुको हो भन्ने भावना नबुझ्दा, नबुझाइँदा समस्या निम्तिएको हो’, उनीहरु भन्छन्, ‘अब सहकारीमा सरोकारवाला निकायको नियमित अनुगमन र सदस्यहरुको चासो बढाउने तर्फ लाग्नु पर्दछ ।’











