वडास्तरमै मेलमिलाप केन्द्र गठन गर्दै कोहलपुर
कोहलपुरमा मेलमिलाप सम्वन्धि ४८ घण्टे आधारभूत तालिम सञ्चालन गरिएको छ । आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने कोहलपुर नगरपालिकाको योजना छ ।

आठ दिनसम्म चल्ने तालिमको आइतवार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले उद्घाटन गरे ।
न्यायाधीश ज्ञवालीले कार्यक्रममा मेलमिलाप विवाद समाधानको सबैभन्दा उपयोगी विधि भएको बताए । कोहलपुर नगरपालिका न्यायिक समितिको आयोजना तथा नेपाल महिला न्यायाधीश मञ्चको सहजीकरणमा शुरु भएको तालिम उद्घाटनमा न्यायाधीश ज्ञवालीले अदालतबाट हुने न्याय निरुपण एउटाले जित्ने र अर्कोले हार्ने हुने भएपनि मेलमिलापको विधि भने दुवैका लागि जित जित हुने बताए ।
न्यायालयमा आफ्नो अनुभवका आधारमा विवाद समाधानमा मेलमिलापको विधि सबैभन्दा दीर्घकालीन र उपयोगी भएको भन्दै न्यायाधीश ज्ञवालीले पछिल्लो समय संसारभरी न्याय निरुपणमा अहिले मेलमिलाप विधिको अभ्यास भइरहेको बताए । उनले मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने काम न्यायका सवालमा सबैभन्दा पूण्य काम भएको धारणा राखे ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका न्यायिक समितिका संयोजकसमेत रहेकी नगर उप–प्रमुख संगीता सुवेदीले संबिधानले व्यवस्था गरे अनुसार आफूहरुले स्थानीय स्तरका विवादहरु मेलमिलापका माध्यमबाट टुंग्याउने गरिएको जानकारी दिइन् ।
मेलमिलाप सम्वन्धि आठ दिवसीय आधारभूत तालिमपछि सबै वडामा मेलमिलाप केन्द्र गठन गरिने पनि संयोजक सुवेदीले जानकारी दिइन् । वडामा आएका विवादहरु सकेसम्म वडामै समाधान होस् भन्ने हेतुले मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको पनि उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको न्याय सम्पादनमा सहजता ल्याउन तालिम आयोजना गरिएको जानकारी दिए । उनले यो तालिमपछि सबै वडामा मेलमिलापकर्ताहरु नियुक्त गरिने जानकारी दिए । नगरपालिकाका अनुसार, ८ दिनसम्म चल्ने तालिममा १५ वडाबाट २/२ जना सहभागी छन् ।
नेपाल महिला न्यायाधीश मञ्चका सहजकर्ता सीता अधिकारी र देवीराम भण्डारीले सहजीकरण गरिरहेका छन् ।











