प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए ।
प्रधानमन्त्री देउवाले भने, ‘आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।’
स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उनले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गरे । ‘डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्’, प्रधानमन्त्री देउवाले भने ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार भएको छ । उम्मेदवारी दर्ता आज शनिबार हुनेछ । शुक्रबार उद्घाटन क्रममा विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।