चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं महाधिवेशनबाट बाँकेका आकांक्षीहरु मध्ये पाँच जना केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।

आफु मतदानमा उत्रिएका एमालेका अध्यक्ष केपी ओलीले प्रस्तावित सूचीमा रहेका निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, शान्ति ढकाल, सुर्य ढकाल, दिपा शर्मा र पशुपति दयाल मिश्र केन्द्रीय कमिटीमा सर्वसम्मत भएका हुन् ।
‘विभिन्न क्लष्टरबाट उम्मेदवारी दिनु भएका उहाँहरुको ठाउँमा अर्काे उम्मेदवारी परेन,’ बाँके अध्यक्ष निरक गुरुङले दैनिक नेपालगन्जसँग भने, ‘उहाँहरुसँगै अनुशासन आयोगमा देवराज भार र लेखामा विजया धिताल निर्वाचित हुनु भएको छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए । त्यसैगरि, उम्मेदवारी मनोनयन दर्ताको समय सीमामा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी पनि निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् ।
अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् । यो समाचार तयार पारुन्जेल निर्विरोध भएको नतिजाबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।