बाँके काँग्रेस पार्टी कार्यालयमा लाग्यो ताला

सदस्यता विवादले ढिलो गरि तोकिएको अधिवेशनका मुखमा नेपाली काँग्रेस बाँकेको कार्यालयमा बुधवार ताला लागेको छ । शुरुदेखिनै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद बल्झिएपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।


‘सदस्यता नविकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएको पाइयो,’ युवा नेता पोषण केसीले ताला लगाउनुपर्ने कारण खुलाउँदै भने, ‘यही अवस्थामा निर्वाचन हुन सक्दैन, यी सदस्यको छिनोफानो गरेरमात्रै प्रक्रियामा जानुपर्छ भन्ने माग हो ।’


काँग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरि निर्वाचन अधिकृत बुधवारमात्रै नेपालगनज आइपुगेका छन् । यस्तै कात्तिक ३० गते गाउँपालिका/नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

जिल्ला पार्टी सचिवालयमा निर्वाचन तयारीमा सक्रिय निर्वाचन समितिका पदाधिकारीहरुलाई बाहिर निकालेर युवा नेता पूर्ण आचार्य सहितका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।
जिल्ला पार्टी सभापति किरण कोइराला, नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, पोषण केसी, नेतृ उमा थापामगर लगायतको उपस्थितिमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया