
बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज पनि सधै झै एक फरक तर महिला विशेष मुद्दामा चर्चा गर्नेछौं । महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारका किसिम फरक रहे पनि कारण चाहिं पृत्तिसत्तात्मक सामाजिक संरचना र रुढिवादी परम्परा नै हो । नेपालगन्जका हरेक वडामा घरेलु हिंसाबाट पीडित र तलाक भएकी एकल मुस्लिम महिला एक भन्दा बढी संख्यामा भेटिन्छन् । जो कष्टकर जीवन बिताउन बाध्यछिन् । घरेलुहिंसा पीडित महिलाका लागि त घरेलुहिंसा ऐन नै छ तर यी तलाकी महिलाहरुको लागि स्थानीय सरकारले के कस्ता पहल गरेछ । तलाकी महिलाहरुको कुल तथ्यांक कति छ । उनीहरुको अवस्था के कस्तो छ । यी यवत विषयमा बुझ्दा स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, सामाजिक संघसंस्था कही कतैं तथ्यांक भेटिएन ।
तथ्यांक कै खोजिमा बाँके जिल्ला अदलत पुग्दा सरकारी वकिल अधिवक्ता मान बहादुर बुढाको कोठाको ढोकामा पुग्दा पीडित महिला र तिनका आफन्तहरुको भीड थियो । उनी सबैको काम सकाएपछि कुराकानी सुरु गरियो । जसमा कस्ता खाले मुद्दा आउने गरेका छन् भन्ने प्रश्नको जवाफमा ‘वार्षिक रुपमा महिलाका १५० भन्दा बढी मुद्दा दर्ता हुने गर्छन् । जसमा खास गरी दाईजोका कारण घरेलु हिंसा, मात्र सम्बन्ध विच्छेद र अंश सहितको सम्बन्ध विच्छेद, खाना खर्च, जग्गा बेचबिखन बदर जस्ता मुद्दा आउने गरेका छन् । भनी अधिवक्ता मान बहादुरले जानकारी गराए । चालु आ.व.का. दुई महिनामा ४६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये २४ वटा त सम्बन्ध विच्छेदका रहेछन् ।
समुदायगत कुरा गर्दा सम्बन्ध विच्छेद, घरेलु हिंसा र जालसाजी वा जग्गा बेचबिखन बदरको मुद्दा कुन कुन समुदायको बढी आउने गरेछ भन्ने सवालमा । सम्बन्ध विच्छेदका बढी मुद्दा पहाडी समुदायको, घरेलुहिंसा बढी मुस्लिम समुदायको र जालसाजी वा जग्गा बेचबिखन बदर बढी मधेशी समुदायको आउने गरेछ । मुस्लिम समुदायका महिला सम्बन्ध विच्छेदका लागि न आउने एउटा यो छ कि उनीहरुको आफ्नो शरीयतको कानून अनुसार घरपरिवार र समुदाय बीच नै तलाक हुने गरेकोले मुस्लिम समुदायको सम्बन्ध विच्छेदको मुद्दा त्यति संख्यामा अदालत आउदैनन् । भनी थप जानकारी गराउदै भने आजै एक जना मुस्लिम समुदायकी महिलामाथि उनको पतिले कुटपिट र सम्बन्ध विच्छेदको मुद्दा लगाए छन् । जसको प्रतिउत्तर लगाउन उनी आएकी छिन् । तपाई आफै उनको कुरा बुझ्न सक्नु हुन्छ भनी ती महिलालाई बोलाएर भेट गराउनुभयो ।
महिलासंगै कार्यालय बाहिरको बराण्डामा बसेर उनको घटना विस्तारमा बुझ्नका लागि उनीसंग गरिएको कुराकानी साझा गर्नेछौं । तर उनले आफ्नो फोटो साझा नगर्दिन भनी अनुरोध गरिन् । उनको अनुरोधमा उनकै अनुमतिले छलफलमा भएका कुराकानीको अंश फोटो बिना साझा गर्दैछौं ।
तपाईको परिचय ?
मेरो नाम साहिदा बानो बेहना हो । घर चाहिं पुरैना नयीबस्ती माईत भारतको जमुनहा नजिक कथरा बजार हो ।
तपाईको उमेर कति भयो ?
म २४ वर्षकी भए मेरो एउटा ३ वर्षको छोरा पनि छ ।
तपाई आज अदालत किन आउनु भएको छ ?
मेरो पतिले म माथि उसलाई कुटपिट गर्ने र सम्बन्ध विच्छेदको मुद्दा लगाएका छन् । जसको प्रतिउत्तर लगाउनुका साथै घरेलु हिंसा र खाना खर्चको मुद्दा लगाउन आज म अदालत आएकी छु ।
तपाईले प्रतिउत्तरका साथै घरेलुहिंसा र खाना खर्चको मुद्दा लगाउनुको कारण के छ ?
प्रतिउत्तर त पतिले ममाथि लगाएको कुटपिट र सम्बन्ध विच्छेद मुद्दाको लगाए । जो चोर उसैको ठूलो स्वर भने झैं पतिले मलाई आफै कुटपिट गर्थे । खाना खर्च दिदैन्थे । बच्चा गर्भमा आएपछि मलाई कुटपिट गरी माईत पठाईदिए । यो बच्चाको जन्म माईतमा नै भयो । यहां आएर बस्न थालेपछि मलाई कुटपिट गरी सबै जना जेठानीको माइतमा बस्न थालेछन् । यहा म एक्लै बसिरहेकीछु । एक्लै बस्दा बच्चाको पालनपोषण गर्न खाना खर्च, बिरामी पर्दा औषधी उपचार गराउन आदिका लागि मलाई कसले कहिले सम्म सहयोग दिन्छ । अहिले त टोलछिमेकले दया लागेर चामल पिठो दिन्छन् र खान पुगेछ । पुरानो कपडा दिएछन् त जिउ ढाक्न सकेकीछु । सधैं त छिमेकीले दिदैनन् नि त्यही भएर खाना खर्चको मुद्दा हालेकीछु ।
अनि घरेलु हिंसाको मुद्दा नि लगाउनु भएको छ त ?
हो घरेलु हिंसाको मुद्दा लगाउनुको कारण छ । मेरो पतिले म माथि कुटपिट र सम्बन्ध विच्छेदको मुद्दा अदालतमा लगाइसकेको एक हप्तापछि घरमा आएर मलाई घरबाहिर निकालेर कपाल लुछ्दै करिब बिस मीटर सम्म कपाल हातले ताने अनि कुटपिट गरे । जसको प्रत्यक्षदर्शी पुरै टोलबासी छन् । जो कोही पनि गएर सोधपुछ गर्न सक्छ त्यो दिनको घटना र त्यस भन्दा पहिला पनि ममाथि गरिएका हिंसाको बारेमा । कुनै दिन कसैले थाहा नपाउने गरी घरमा आएर मलाई हत्या गरिदिने हुन वा जलाइदिने हुन कि डर छ । उनीहरु पटक पटक मलाई आगो लगाएर मार्दिने धम्की दिदैं आएका पनि छन् । यस कारण अब म माथि भविष्यमा कुटपिट नगरोस् आफ्नो सुरक्षाका लागि भनी घरेलु हिंसाको मुद्दा पनि हालेकीछु ।
घटनाको बिस्तार भन्नुस् न ?
मेरो विवाह भएको पांच वर्ष भयो एक वर्षसम्म ठिकै थियो । त्यसपछि पतिले साना साना कुरामा गाली गलौज गरी कुटपिट गर्न सुरु गरे । त्यो सिलसिला चल्दै रहेको क्रममा छोरा पनि भयो । तीन वर्षको भइसकेको छोरालाई आज सम्म काखमा लिएको छैन् । जेठानीको छ महिनाको छोरीलाई काखमा लिन्छ घुमाउन लग्छ । मैले आफ्नो छोरालाई पनि माया गर्न भन्दा मलाई कुटपिट गर्ने । कुटपिट गर्दा घरमा सासु ससुरा जेठाजु जेठानी सबै हेरेर बस्थे कसैले उसलाई कुटपिट नगर्न भनी रोक्दैनथे । एक थरी भन्ने हो भने कुटपिट गराउन सबैको मौन सहमति नै हुने गर्थ्यो । घरकाले भन्थे यसलाई यही घरमा आगो लगाइदिनुपर्छ टन्टै साफ भयो भने कुरै सकिन्छ ।
तपाई माथि यति समय सम्म हिंसा हुदां कुनै निकायमा जानु भएन ?
धेरै पटक गाउँ समाजमा नै मिलाइयो । वडा कार्यालयमा पनि छलफल गराइ पठाइयो । पछि हिंसा बढ्दै गएपछि गाउँ छिमेकीको सहयोग जिल्ला प्रहरी कार्यालय, महिला सेल सम्म गयौं । सबै ठाउँमा पटक पटक भनेर आउथ्यो कि अब कुटपिट गर्दैन् अब माया प्रेमले राम्ररी बस्छु । तर आएको दोस्रो दिन नै फेरी त्यही ताल हुन्थ्यो । म बच्चाको मुख ताकेर हिंसा रहेर पनि बसिरहेकी छु ।
तपाईको विवाहदर्ता, नागरिकता र बच्चाको जन्मदर्ता छ ?
नाइ, मेरो विवाहदर्ता नागरिकता केही बनाइदिएको छैन यहां सम्म कि छोरा तीन वर्षको भइसकेछ । तर । उसको जन्मदर्ता समेत बनाइदिएको छैन ।
पतिले सम्बन्ध विच्छेद किन गर्न खोजेको अनि के तपाई पनि सम्बन्ध विच्छेद गर्न चाहेकै हो ?
पतिले सम्बन्ध विच्छेद गर्न चाहन्छ भने मलाई त अदालतको नोटिस गइसकेपछि मात्र थाहा भयो । त्यो भन्दा कुटपिट गरी घर निकाला गर्थे । तर त्यसरी त्यो हिंसा म बाट छुटकारा पाउनकै लागि गर्थे भने मलाई अब शंका लाग्दैछ । तर किन सम्बन्ध विच्छेद गर्न खोजेको हो त्यो बारे त थाहा छैन । यदि मेरो कुरा गर्ने हो भने म सम्बन्ध विच्छेद गर्न चाहदिन । मेरो तीन वर्षको छोरा छ उसको भविष्य छ । उसलाई लिएर म कहाँ जान्छु । माइतमा पनि आर्थिक रुपले सम्पन्न छैन्न् । त्यस कारण मेरो चाहना पतिसंगै बस्ने हो । मेरो आग्रह यति मात्र छ कि मलाई कुटपिट नगर्ने म माथि हिंसा नगर्ने बस ।
उसो भए तपाई के चाहनु हुन्छ ?
म त सम्बन्ध विच्छेद नगरीकन पति संगै बस्न चाहन्छु मात्र यति प्रतिबद्धता र कार्यान्वयन र पहल गरिदिनु पर्यो कि अब देखि ममाथि उसले हिंसा नगरोस् । मेरो आवश्यकता पुरा गरोस् । बच्चाको पालनपोषण गरोस् । अनि सब भन्दा पहिला विवाहदर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाइदेओस् । अहिले मेरो चाहना यति नै छ ।
यी अवस्था यस्तो छ कि यिनीसंग आफ्नो र संगै रहेको बच्चालाई पाल्न गाह्रो भइरहेछ । उनीको चाहना छ कि हिंसा गरी खाना लाउन दिए उनी पतिसंग नै बस्न चाहन्छिन् । उनले सम्बन्ध चाहेकीछैनिन् तर पतिले स्वेच्छाले सम्बन्ध विच्छेदका लागि मुद्दा हालेछ । विवाह गर्न जति गाह्रो छ त्यो भन्दा बढी गाह्रो छ त्यो भइसकेको विवाहको नाता बचाउन । अहिले पनि महिलाको जीवन पुरुषको इच्छा र चाहनामा निर्भर गर्छ । पतिले चाहेमा महिला पतिसंग बस्न पाउने पतिले चाहेन भने सम्बन्ध विच्छेद गर्न आफै अदालत सम्म पनि पुगिहाल्छन् ।