न्याय माग्दै बेपत्ता परिवार प्रहरीमा

सरकारी वकिलको रायका आधारमा कानून सम्मत निर्णय लिने प्रहरी उपरीक्षकको भनाइ

पीडित भन्छन् : यतिका बर्ष भयो न्याय पाइएन, अव तुरुन्त घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारवाही हुनु पर्छ’


लामो समयसम्म बेपत्ता आफन्तको लास र सासको अवस्था थाहा पाउन नसकेका बर्दियाका बेपत्ता परिवारहरु न्यायका लागि प्रहरी कार्यालय धाउन थालेका छन् । बेपत्ता पारिएको २० बर्षसम्म घटनाको सत्यतथ्य थाहा पाउन नसकेको पीडित परिवारहरु दोषि माथि कारवाही र परिपुरणको माग दाबी सहित प्रहरी कार्यालयमा पुगेका हुन् ।

ड्भोकेसी फोरमको कानूनी सहायोगमा दर्ता गराउन बर्दिया बानियाभारकी देवीसरा वली र मनाउका पदम थारु र गरिववा थारु आईतवार जिल्ला प्रहरी कार्यालय बर्दिया पुगेका थिए । जाहेरी दर्ताको अनुगमनका लागी एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालय प्रमुख झंङ्कर बहादुर रावल, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत अधिकारकर्मीहरु सुशील चौधरी, मान बहादुर चौधरी, बालकृष्ण वली पनि जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिई हालसम्म बेपत्ता पारिएका सुरेश वलीको हकमा निजकी पत्नी देवीसरा वली जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुगेकी थिईन । २०५९ साल पुष ७ गते बिहान ७ बजे, बर्दियाको भुरीगाउँ बजारबाट प्रहरीले एक छिन काम छ भनी बोलाएर गैर कानूनी पक्राउ गरि गाडीमा राखी लगेको थियो । केहीबेर इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखी जिल्ला प्रहरी कार्यालय बर्दियामा लगेकोमा त्यहिबाट सुरेश वलीलाई हालसम्म बेपत्ता पारिएको छ । संगै पक्राउ परेका सुरेश वलीका बुवा पदम बहादुर वलीलाई मिति २०५९ पुष ११ गते रिहा गरिए पनि सुरेशलाई रिहा गएको थिएन । २०५९ साल पुष ११ गते देखि १९ गतेसम्म जिल्ला प्रहरी कार्यालय बर्दियाले सुरेश वलीलाई परिवारसंग भेटघाट गर्न दिइएको थियो । तर पुष पछि भेटघाट गर्न नदिएको र एउटा पत्रिकामा हिरासत भित्र गोली हानी हत्या गरेको खवर सुने पछि सुरेशकी पत्नी देवीसरा वली पुष २१ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा जाँदा प्रहरीले भेट्ने आदेश छैन भन्दै रुखो ब्यवहार गरि गेटबाटी फर्काइदिएको पीडित परिवारको भनाई छ ।

प्रहरी नियन्त्रणमा रहेका रहेको निशस्त्र ब्यक्तिलार्ई माओवादीको तालिम केन्द्र देखाई दिन्छु भनी बर्दियाको सुर्यपटुवा जंगलमा लगेको र सो क्रममा सुरेश वली सुरक्षाकर्मीको घेरा तोडी भागेको र सो क्रममा १३ राउण्ड गोली चलेको सुरेश वली मरे बाँचेको थाहा भएन’ भन्ने झुठो बयान प्रहरीले मानव अधिकार आयोगलाई दिइएको पीडित परिवारको भनाइ छ ।

इलाका प्रहरी कार्यालय भुरीगाउँ बर्दियाका तत्कालीन प्रहरी हवल्दार यम बहादुर गैरे, जिल्ला प्रहरी कार्यालय बर्दियाका तत्कालिन प्रहरी उपरिक्षक रबि प्रताप राणा, तत्कालिन प्रहरी नायव उपरिक्षक रण बहादुर गौतम, जिल्ला प्रहरी कार्यालय बर्दियाका तत्कालिन प्रहरी निरिक्षक केदार कोइराला समेत घटनामा संलग्नहरुलाई हदैसम्मको कानूनी कारवाहीको माग जाहेरी दरखास्तमा गरिएको छ ।
यसै गरि मध्यरातमा घरघरैबाट नियन्त्रणमा लिई बलपुर्वक बेपत्ता पारिएका बर्दिया मनाउका १९ बर्षिय राधुलाल थारु र १५ बर्षिय चिल्लु थारुसंगै एकै दिन सुरक्षाकर्मीले गैर कानूनी रुपमा पक्राउ गरिएका धनी राम थारु (१५), सोनी राम थारु (१४ बर्ष), प्रेम प्रकाश थारु (१८), कमला थारु (१६), मोहन थारु (१८), लौटी थारु (१८) को हकमा राधुलाल थारुका बुवा पदम थारु र चिल्लु थारुका बुवा गरिववा थारुले पनि संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दरखास्त पेश गरेका छन् ।

मिति २०५८ साल चैत्र २९ गते संयुक्त सुरक्षा फौजले गाउँ घेरा हाली गाउँका ८ जना युवाहरुको घर घरमा गई जवरजस्ती घर भित्र प्रवेश गरी रातीको समयमा घर भित्र सुतेका उनीहरुलाई तेरो नाम के हो भनेर नाम सोध्दै एक छिन बैठकमा जानु छ र त्यस पछि कर्णालीको ड्रम पुल तोड्नु छ भनेर बिस्तराबाटै उठाई जवरजस्ती नियन्त्रणमा लिई आफुहरुसंगै लगेका थिए ।

घटनामा संलग्न सबै दोषीहरु पत्ता लगाई मुलुकी फौजदारी संहिता बमोजिम हदैसम्मको सजाय गरी उचित क्षतिपूर्ति समेत दिलाई भराई पाउने माग दावी सहित दायर गरिएका दुवै जाहेरीलाई प्रहरी भने तत्काल दर्ता गरेको छैन ।

पीडितद्वारा पेश गरिएका दुवै जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्कीले जिल्ला सरकारी वकिल कार्यालयसंग लिखित राय लिई कानून सम्मत निर्णय लिने प्रत्तिक्रिया दिए । घटना द्वन्द्वकालको भएको र दर्ता गर्न मिल्ने, नमिल्ने, हाम्रो अधिकार क्षेत्र भित्र पर्ने, नपर्ने बिषयमा सरकारी वकिल संगको कानूनी सल्लाह पछि खवर गर्ने प्रहरी उपरिक्षक कार्कीले बताएका थिए ।
मुद्दामा कानूनी सहयोग गरेका अधिवक्ता वसन्त गौतमले स्थिति सार्वजनिक नहुँदासम्म बेपत्ता पारिने कार्य निरन्तरको गंभिर फौजदारी अपराध भएकाले प्रहरीले घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिए । बेपत्ता आफन्तको बारेमा सत्य थाहा पाउने र न्याय पाउने पीडितको अधिकार रहेको भन्दै गौतमले कुनै पनि बहानामा पीडितको न्याय पाउने अधिकार कुण्ठित गर्न नहुने बताए ।

जाहेरी दर्ताका क्रममा बेपत्ता पारिएका परिवारका सदस्यहरु देवीसरा वली, पदम थारु र गरिववा थारुले वेपत्ता आफन्तको लास र सास थाहा पाउन नसक्दा मानसिक पीडा भोग्न बाध्य भैरहेको भन्दै तुरुन्त बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गरि दोषिलाई कारवाही हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

प्रतिक्रिया