रिपोर्टपछि आत्तिन्छन् कोरोना संक्रमित

बाँकेमा कोरोना संक्रमित बढ्दै गएका छन् । परीक्षणका लागि बाँकेमा तीन वटा प्रयोगशाला रहेका छन् । संक्रमितको आशंकामा परीक्षण गराउने बढ्दै गइपछि तत्काल रिपोर्ट प्राप्न हुन सक्दैन । यद्यपि, कोरोना परीक्षण गर्ने स्वास्थ्य संस्थाले परीक्षणको रिपोर्ट आएपछि मोबाइलमै म्यासेज गर्ने गरेको छ । तर, रिपोर्ट अघि नै अवस्था बिग्रेकाले उपचारको बाटो पाउन मुस्किल रहेको छ ।

स्वास्थ्यकर्मीहरु पोजेटिभ आउँदैमा नआत्तिन र धैर्यतापूर्वक रहन आग्रह गर्दछन् । लक्षण बिना तथा अक्सिजन आवश्यक नपर्ने बिरामीले होम आइसोलेसन तथा स्थानीय तहले व्यवस्थापन गरेको निःशुल्क तथा सशुल्क आइसोलेसनमा बस्न सक्छन् ।

बाँकेमा दैनिक ५ सयको हाराहारीमा पोजेटिभ भेटिने गरेका छन् । तर, सबै अस्पतालमा जाने अवस्था छैन । होम आइसोलेसन पनि कतिपयलाई समस्या छ । बाँकेमा विभिन्न बाहिरि जिल्लाका बासिन्दा जागिर, पेशा तथा अध्ययनका लागि बस्दै आएका छन् । उनीहरु पोजेटिभ पाइए अस्पतालमा बेड छैन होम आइसोलेसनमा बस्न समस्या छ । पोजटिभ आएपछि एउटै घरमा बस्ने घरधनी तथा अन्य भाडावालमा हुने त्रासले अपहेलित हुनुपर्दछ । घरभाडामा बस्नेको सामूहिक शौचालय एउटै हुने गरेको छ । यसले होम आइसोलेसन भाडामा बस्नेका लागि जटिल बन्दै गएको छ ।

भाडामा बस्नेहरु पोजेटिभ आएपछि धरधनी तथा अन्य भाडामा बस्नेलाई भने अपहेलित हुने डरले भन्दैनन् । यसले संक्रमण फैलने जोखिम बढिरहेको छ । ‘मलाई छाती दुख्ने बाहेक अर्को समस्या छैन’, भाडाको घरमा बस्दै आएकी एक कोरोना संक्रमितले भनिन्, ‘कसैलाई भने घर छाड्नुपर्छ, नभने संक्रमणको जोखिम अरुलाई पनि, लकडाउनमा कहाँ जाने, पैसा तिरेर अन्यत्र बस्न आर्थिक संकट छ ।’

अर्का भाडामा बस्दै आएका कोरोना संक्रमित घरधनीलाई भनेपछि अपहेलनाको सामना गर्नुपर्यो । उनले सामाजिक सञ्जालमा नै उक्त कुरा लेखिदिएपछि घरधनीले पोष्ट हटाउन आग्रह गर्दै सुरक्षित भएर बस्न भने । यस्ता धेरै समस्या घरभाडामा बस्नेले भोग्नु परिरहेको छ । खासगरी शौचालय सामूहिक प्रयोग गर्नेलाई थप समस्या छ । सोमबार दैनिक नेपालगन्जमा एक कोरोना संक्रमित पुष्टि भएका व्यक्तिको फोन आयो । ‘म संक्रमित भए के औषधी खाने, कसरी बस्ने सम्झाइदिनु पर्यो’, उनले भनिन् ।

कोरोना संक्रमण पुष्टि भए घर बाहिर निस्कनु हुँदैन भन्ने सर्वविदित छ बाँकेमा । तर, संक्रमण पुष्टि भएपछि उपचार के गर्ने, कुन चिकित्सकलाई भन्ने कुरा स्पष्ट नहुँदा बिरामीले अनाहकको तनाव झेल्नु परेको अवस्था छ । सामाजिक सञ्जालमा कोरोना संक्रमितले यो वा त्यो औषधी प्रयोग गर्नु राम्रो भन्दै अनेकन पोष्ट भएका छन् । यसरी चिकित्सकको सुझाव विना औषधी प्रयोग गर्दा अर्को स्वास्थ्य समस्या हुनसक्छ ।

बाँकेमा स्वास्थ्यकर्मी, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर, जनप्रतिनिधि कोरोना विरुद्ध नियन्त्रण र उपचारात्मक विधिका लागि प्रयासरत् नभएका होइनन् । तर, आम जनतामा अझै पनि मोबाइलमा पोजेटिभ म्यासेज आएपछि के गर्ने भन्ने बारे थाहा छैन । जसले स्वास्थ्य जटिल हुने र ज्यान जाने जोखिम समेत रहन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाह पोजेटिभ आए नआत्तिन सुझाव दिन्छन् । ‘पोजेटिभ आउँदैमा आत्तिनु हुँदैन पहिलो कुरा त’, उनी भन्छन्, ‘होम आइसोलेसनको मापदण्ड छ, त्यसलाई पुरा गरेर स्वास्थ्य समस्या नभए घरमै बस्न सकिन्छ ।’

होम आइसोलेसनमा बस्दा अन्यलाई संक्रमण नफैलियोस् भनेर सजग हुनुपर्दछ । त्यसमा स्वास्थ्यकर्मीले मोनिटरिङ्ग गर्नुपर्छ । जसका लागि प्रत्येक स्थानीय तहमा सहजीकरणका लागि व्यक्ति तोकिएको शाह बताउँछन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह पोजेटिभ आए स्वास्थ्य समस्या भए तत्काल अस्पताल पुग्नु पर्ने बताउँछन् । ‘त्यसबाहेक अक्सिजन चेक गर्ने मेसिन राख्ने, ज्वरो नाप्ने र स्वास्थ्य बिग्रे अस्पताल जाने हो’, उनले भने । बिरामीहरुमा भने पोजेटिभ आइहाले कसलाई सम्पर्क गर्ने अनभिज्ञता रहेको छ । कतिपय बिरामीले सामाजिक सञ्जालमा चिकित्सकको नम्बर देखेपछि फोन तथा म्यासेज गर्ने र चिकित्सकबाट सुझाव आउने गरेको बताउँछन् । ‘भेरीका एक चिकित्सकलाई फोन गरे उठेन, तर कोरोना पोजेटिभ भएको म्यासेज गरेपछि उहाँले कल रेस्पोन्स गर्नुभयो र स्वास्थ्य सम्बन्धी सुझाव दिनुभयो’, कोरोना संक्रमितले भनिन् ।

तर, सबैसँग चिकित्सकको नम्बर हुन्छ नै भन्ने होइन । सामाजिक सञ्जालमा छरप्रष्ट सुझाव अनुसार औषधी सेवन गर्नु पनि उचित होइन । ‘जिल्लामा कोरोना संक्रमितका लागि हटलाइन नम्बर जारी गरेर व्यापक प्रचार गर्न आवश्यक छ’, स्थानीय भन्छन्, ‘त्यसो हुने हो भने सामान्य तथा गम्भीर बिरामीले आवश्यक सुझाव लिन सक्छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया