नेपालगन्जमा खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले खोप भेरी अस्पताल नेपालगन्जलाई हस्ताक्षरण गरेपछि खोप सुरु भएको थियो ।
बुधबार औपचारिक कार्यक्रम बीच प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तले खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई हस्तान्तरण गरेका थिए ।
भेरीमा पहिलो खोप मेसु थापाले लगाएका थिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाह लगायतको उपस्थिति रहेको थियो ।
भारतबाट प्राप्त कोभिडको भ्याक्सिन लुम्बिनी प्रदेश हुँदै मंगलबार जनस्वास्थ्य कार्यालय नेपालगन्ज आइपुगेको हो । स्वास्थ्य कार्यालय नेपालगन्ज बाँकेका प्रमुख धीरजंग शाहले पहिलो चरणमा बाँकेका लागि १७ हजार डोज कोभिसिल्ड प्राप्त भएको जानकारी दिए । खोपका लागि बुटवल गएका उनी मंगलबार नेपालगन्ज फर्किएका हुन् ।
भारत सरकारले बिहीबार (यही माघ ८ गते) अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।
कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।







