नागमणी दिने भनि करोडौं ठगीको प्रयास गर्नेलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बहुमूल्य नागमणि दिने भन्दै करोडौं ठगीको योजना बनाएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घोराही उप–महानगरपालिका वडा नं.१७ बस्ने माधव प्रसाद घिमिरेलाई बहुमुल्य नागमणी दिने भन्दै १ करोड ८९ लाख ५० हजारमा मोलमलाई भएको थियो । दैलेख नौमुले गाउँपालिका वडा नं. ४ वस्ने धन बहादुर रोका, जिल्ला सल्यान कुमाख गाउँपालिका वडा नं. ५ वस्ने कृष्ण शाह र शारदा नगरपालिका वडा नं. ९ बस्ने डिल्ली बहादुर बोहरालाई नागमणि वापत ४० लाख लिइसकेको अवस्थामा नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले पक्राउ परेका उपर कानुन बमोजिम कारवाही गरिने जानकारी दिएका छन् ।
नागमणी आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार, व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ती, समृद्धी हुन्छ भन्ने विश्वासका आधारमा घिमिरेलाई फसाइएको थियो ।
रेडपाण्डाको छाला बरामद
बाँके प्रहरीले मंगलबार दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला बरामद गरेको छ । कोहलपुर–११ बसपार्क स्थिल न्यू राप्ती होटलको कोठाबाट दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा छापा मारेको प्रहरीले सुर्खेत बराहताल गाउँपालिका–५ वस्ने गणेश नेपाली, लाल बहादुर नेपाली, दैलेखका चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ का दिनेश कार्की र सोही ठाउँका उमेश बहादुर थापालाई रेडपाण्डाको छाला थान १ सहित पक्राउ गरेको हो । प्रहरीले रेडपाण्डाको छाला २ फिट २ ईन्ट लम्बाई भएको जानकारी दिएको छ ।
प्रहरीले शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट लागु औषध अफिम एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं. ८ बस्ने चन्द्र प्रकाश वलीलाई चेकजाँच गर्दा ३ किलोग्राम लागुऔषध अफिम फेला पारेको जानकारी दिएको छ । त्यस्तै, सोमबार बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ किसान ईट्टाभट्टा नजिकबाट प्रहरीले २० पुडियामा राखेको २० ग्राम ब्राउन सुगर बरामद गरेको छ । औषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले रुपैडिया सांकेतनगरका राकेश कुमार सोनी, जुगेन्द्रर सोनी, बाँके खजुरा–३का बिष्णु थापा क्षेत्री, नेपालगन्ज उपमहनागरपलिका–२ घरबारी टोल वस्ने सागर थापालाई ब्राउन सुगर सहित फेला पारेको हो ।