साइकल नौलो र अनौठो वस्तु हुँदै होइन यो त धेरै बर्ष अगाडिबाट नै यातायातको साधनको रूपमा प्रयोग हुँदै आएको छ । तर, साइकल नौलो नभए पनि अब यसको प्रयोग नौलो पाराले पक्कै गर्न सकिन्छ । अहिले नेपालमा मात्र होइन बिश्वब्यापी रूपमा कोरोनाको त्रास छ यो महामारीमा सुरक्षित रहन सक्नु पनि ठुलो कुरा नै हो, यही महामारी का बिचमा नै नेपालीहरुले आफ्नो प्रमुख पर्वहरु मनाइरहेका छन् बहुसंख्यक हिन्दुहरु रहेको हाम्रो मुलुकमा दशैलाई बेग्लै महत्वका साथमा मनाउने गरिन्छ । हिन्दुधर्मावलम्बीहरुका लागि यो बिशेष नै हुन्छ । पछिल्लो समय दशै र तिहारका बीचमा पर्व बिशेष घुमफिरको ट्रेन्ड बढ्दो छ, आर्थिक हैसियत अनुसार सक्नेहरु युरोप, थाइल्यान्ड, बाली, गोवा, मुम्बई लगायतका हिन्दुस्तानका सहर देखि देशभित्रै समेत घुमेर भ्याकेसन मनाउनेहरु मनग्य छन् । तर यसपटक कोभिड १९ अर्थात कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा पनि सुस्तता छ भने आफ्नो गाउँ ठाउँ छाडेर अन्यत्र निस्कने माहोल कम नै छ । यो फरक र बिशेष अवस्थामा हामी र हाम्रो समाजले साधारण रूपमा हेर्ने गरेको साइकल फरक र नौलो हुनसक्छ ।


साइकलमा नै दशै तिहारको छुट्टी मनाउनु पनि पक्कै रमाइलो र सुरक्षित समेत बन्न सक्छ । आर्थिक रूपमा हेर्दा पनि साइकलमा हिडेपछि गाडी मोटरमा खर्च हुने हजारौं रुपैयाँ बचत हुन्छ भने कसैसँग पनि नजिकको सम्पर्कमा आउनु नपर्ने हुँदा कोरोनाको कहरमा सुरक्षित रहन सकिन्छ । एउटा साइकल, एउटा टेण्ट, स्लिपिङ्ग ब्याग र अलि अलि खानेकुरा र साइकल बिग्री हाले मर्मत गर्ने केही सामग्री बोकेर दशै तिहारको बीचमा देशाटन गर्न सकिन्छ । मुगु रारा होस् वा सुदुरपश्चिमका मनोरम पर्यटकीय क्षेत्र वा स्वर्गद्वारी प्युठान होस वा सुर्खेत, दैलेख अथवा मेची महाकाली साइकल यात्रा अथवा पोखरा हुँदै मनाङ्ग मुस्ताङ वा पूर्वको इलाम धरान होस् वा भेडेटार मज्जाले साइकलमा नै हुइकेर घुम्न सकिन्छ । साइकलमा यात्रा गर्दा गाडी मोटरमा घुमेभन्दा पक्कै फरक हुन्छ नै हरेक ठाउँ र त्यहाँ को स्थानीय परिवेश सँग नजिकबाट साक्षात्कार गर्दै हिड्न पाइन्छ ।


मैले पनि यसरी साइकलमा नै दशैको छुट्टी २०७५ मा मनाए साइकलबाटै नैनितालसम पुगेर, नैनिताल गाडिलिएर गएको भए पक्कै केहि खर्चिलो हुन्थ्यो नै अनि गाडीमा हुइकेर नैनिताल पुग्दा बीच बाटोमा पर्ने खटिमा, सितारगन्ज, नानकमत्ता, सिड्कुल, चोरगलिया को जङ्गल, ज्यालिकोट लगायतका ठाउँ मैले कहाँ राम्रो सङ्ग चिन्ने जान्ने र बुझ्ने मौका पाउथे र ? नैनिताल त हरेक बर्ष थुप्रै नेपालीहरु घुम्न जाने गर्छन् तर हामी नैनितालका लागी बिशेष र फरक भैयो सम्भवत यसरी साइकल मै नैनिताल घुम्न निस्केका पहिलो नेपाली थियौं । स्थानीयले देखाएको स्नेह र त्यहाँका पर्यटन ब्यबसायी शैलेन्द्र शाहजीबाट प्राप्त सम्मान सधैं यादगार रहनेछ ।


नेपालगन्ज र यस आसपासका स्थानीयहरुलाई यो दशै छुट्टी यदि साइकलमा नै रमाइलो गर्दै मनाउने हो भने निम्न प्रकारका ठाउँहरु उपयुक्त हुनेछन् ।

१. गाभर भ्यालीः यदि छोटो साइक्लिङ्ग सहित नेपालगन्ज भन्दा धेरै टाढा नगएर नै १÷२ दिनको रमाइलो गर्ने मनसाय भए गाभर भ्यालि नै उपयुक्त डेस्टिनेशन बन्न सक्छ । नेपालगन्ज बजार देखि २५ किलोमिटर भित्रको यो रुट छोटो र रमणीय छ गाभर भ्याली पुगेर दिनभरी जङ्गल भित्र साइक्लिङ्ग गरेर त्यहीँ १÷२ रात बिताएर प्रकृतिको आनन्द सङ्गै होमस्टेको मजा पनि लिन सकिन्छ जसका लागि समय र रकम दुबै कम लाग्ने छ ।


२. सत्खलुवातालः सत्खलुवाताल निकै नै मनमोहक र प्राकृतिक रूपमा सुन्दर छ, यो सिमसार क्षेत्र पनि हो त्यहाँ भित्र तालमा बोटिङ्ग गर्ने ब्यबस्था समेत छ अनि जङ्गल भित्र साइकल सफारी बडो रोमाञ्चक छ । नेपालगन्जबाट खजुरा हुँदै बर्दियाको गणेशपुरबाट उत्तर तर्फ मोडिएर डेउढाकला हुँदै लक्षमणा निस्केर राजमार्ग हुँदै बैदिचोकबाट ३ किलोमिटर उत्तर तर्फ लाग्दा सत्खलुवाताल भेटिन्छ त्यहाँ पुग्न करिब ५० किलोमिटर एकतर्फी साइकल यात्रा पुरा गर्नुपर्छ । त्यहाँ बस्न र खानका लागी थुप्रै होमस्टेहरु सञ्चालनमा छन् ।


३. डल्ला होमस्टे र ठाकुरद्वाराः २/३ साइक्लिङ्गमा जंगली जनावर र प्रकृति सङ्गै थारु समुदायको रहनसहन र खानपिन र सस्कृती जान्ने उत्सुकता भएकाहरुका लागि यो उपयुक्त गन्तव्य हो, झन्डै ८५ किलोमिटरको एकतर्फी साइक्लिङ्ग पछि सामुदायिक होमस्टे भएको डल्ला गाउँ पुग्न सकिन्छ । एकदमै शान्त र मनोरम गाउँ छ डल्ला, प्राय सबैघरमा होमस्टे छन् त्यहाँ पुग्ने पाहुनालाई निकै सम्मानपूर्वक स्वागत सत्कार गर्ने परम्परा छ, शिव सामुदायिक बन छ जहाँ दिनभरी चौकिदार (वनहेरालु)को सहयोगमा घुम्न सकिन्छ, जङ्गल मा गैडा, हात्ती र बाघ अनि चित्तल, बँदेल, मयुर लगायतका जंगली जनावर र पंक्षीको अवलोकन गर्न सकिन्छ त्यहाँको बसाई समेत सस्तो छ एउटा कोठाको ५०० रुपैयाँमा एकरात बिताउन पाइन्छ । डल्लाबाट करिब १५ किलोमिटर अगाडि बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज आउँछ निकुञ्ज वरिपरि प्रशस्त रिसोर्टहरु छन् जहाँ हात्ती सफारी र जिप सफारीको ब्यबस्थापन गरिएको छ । निकुञ्ज भित्र अहिलेसम्म साइकल सफारिको औपचारिक ब्यबस्था गरिएको छैन । त्यहाँका रिसोर्ट संचालकहरु सँग समन्वय गरे केहि क्षेत्रमा रमाइलो साइक्लिङ्ग समेत गर्न सकिन्छ भने त्यहाँ प्रसिद्ध ठाकुरबाबा मन्दिर समेत रहेको छ । त्यहाँबाट २०÷२५ किलोमिटर अगाडि बढे कर्णाली पुल पुगेर आउन सकिन्छ यो गन्तव्यमा सामान्यत २ दिनदेखि ३/४ दिन सम्म बसेर रमाइलो अनुभूति लिन सकिन्छ ।


४. दोधाराचादनी पुलः सुदुरपश्चिम प्रदेशमा रहेको यो पुल पनि निकै नै प्रसिद्ध पर्यटकीय गन्तव्य हो । नेपालगन्जबाट कम्तीमा ५ दिनको समय निकालेर साइकल यात्रामा निस्कने हो भने बर्दियामा भएको देशकै लामो गेरुवा कर्णाली नदि माथिको पुल हुँदै राजापुर भएर सति हुँदै त्यहाँसम्म पुग्न सकिन्छ र थप १/२ दिन सुदुरपश्चिमका अन्य पर्यटकीय गन्तव्यहरु घुमेर नेपालगन्ज फर्किन सकिन्छ ।


५. शाहसिक गन्तव्य राराः रारा ताल धेरैलाई एकपटक पुग्न रहर लागेको गन्तव्य हो । धर्तीको स्वर्गका रूपमा ब्याख्या गरिने रारा लोभलाग्दो गन्तव्य पनि हो, कर्णाली प्रदेशको रहनसहन जान्न र त्यहाँको सौन्दर्यको आनन्द लिन रारा उपयुक्त छ । साहसिक साइकल यात्रा गर्न इच्छुकका लागि यो नेपालकै साइक्लिङ्गको लागि उपयुक्त ट्रेल हो दुबै तर्फ साइकल यात्रा गर्न ९÷१० दिनको समय लाग्न सक्छ भने नेपालगन्जबाट हेलिकप्टरमा रारा पुगेर राराताललाई साइकलमा नै फन्को मारेर ४ दिनको सहासिक साइकल यात्राबाट एकतर्फी रारा नेपालगन्जको रोमाञ्चक यात्रा पुरा गर्न सकिन्छ ।


नेपालमा साइक्लिङ्गका लागि थुप्रै ठाउँहरु छन् । जहाँ हामी १/२ दिनदेखि महिनौंसम्मको रोमाञ्चक साहसिक यात्रा गर्न सक्छौं सुर्खेत, गुराँसे, कुपिन्डेदह लगायतका स्थान पनि नेपालगन्जबाट साइकलमा घुमेर फर्किनका लागि उपयुक्त गन्तव्य बन्न सक्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया