कोरोना भाइरसको संक्रमणबाट थलिएको बाँकेको नरैनापुर गाउँपालिकाका विपन्न समुदायमा राहत वितरण गरिएको छ । फिल द बकेट अभियानले राहतको आवश्यकता बोध गराउँदै कोरोनाबाट प्रत्यक्ष प्रभावित तथा विपन्न समुदायका ४ सय ३९ परिवारलाई खाद्यान्न लगायतका राहत वितरण गरेको हो । केही व्यवसायिक क्षेत्रका युवा संगठित फिल द बकेट अभियानले आवश्यकताका आधारमा आफै रकम संकलन गरेर राहत वितरण गर्दै आएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेष कुमार कनोडियाले जानकारी दिए । डा. कनोडियाकै नेतृत्वमा कोभिड १९ बाट अति प्रभावित नरैनापुर गाउँपालिकाका विभिन्न गाउँका ४ सय ३९ परिवारलाई विहीवार गाउँमै पुगेर खाद्यान्न वितरण गरिएको हो ।
कोरोना कहरसँगै फिल द बकेट अभियानले भारतबाट नेपाल फर्किरहेका करिब २७ हजार नागरिकहरुलाई बाँकेको नेपालगन्ज नाका र कैलालीको गौरीफन्टा नाकामा खाजा, खाना र पानी वितरण गरेको डा. कनोडियाले जानकारी दिए । उनका अनुसार, अभियानले यसअघि भुकम्प, बाढी र अन्य विपत्तीको बेलामा सहयोग आवश्यक परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।
इन्सेक प्रदेश कार्यालय नेपालगन्जको समन्वयमा भएको राहत वितरणमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रत्यक्ष सक्रिय सहभागी थियो । जिल्ला प्रशासन कार्यालय बाँके, नरैनापुर गाउँपालिका, नेपालगन्ज मेडिकल कलेज, एफडब्ल्युएलडी, पीएनकएलएफको पनि सहयोगी भूमिका रहेको डा. कनोडियाले जानकारी दिए ।
प्रतिपरिवार २० किलो चामल, ३ किलो दाल, ३ किलो चना, एक किलो नुन र दुईवटा साबुन नरैनापुर गाउँपालिका वडा नं. ५ भगवानपुर नयाँवस्तीका २ सय परिवारलाई वितरण गरिएको छ । फिल द बकेट अभियानका अभियन्ता डा. कनोडियाका अनुसार, विहीवारनै वडा नं. ४ दौलतपुरका २८ परिवार, वडा नं. १ विर्ताका ४१ परिवार, वडा नं. ५ मोतिपुरका १३ परिवार, वडा नं. ४ घुरदौरियाका ९१ परिवार र वडा नं. ६ सोनवर्षा नयाबस्तीका ५७ परिवार गरि जम्मा ४३९ परिवारलाई उनिहरुकै वडामा पुगेर राहत वितरण गरिएको छ । वितरणका क्रममा नेपाली सेनाका अधिकारी, प्रहरी तथा सशस्त्रका स्थानीय कमाण्डरसँगै अभियन्ता डा. कनोडिया, गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, इन्सेकका प्रदेश संयोजक भोला महत, एफडब्ल्युएलडीका संयोजक सुनिल श्रेष्ठ लगायत खटिएका थिए ।