‘बन्दाबन्दीले उपचारमा समस्या छैन’ : क्यान्सर अस्पताल खजुरा

कोभिड—१९ को विश्वव्यापी महामारीबाट नेपाल र नेपालीलाई जोगाउन सरकारले गरेको बन्दाबन्दीले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई खासै ठूलो समस्या परेको छैन ।

अहिले पनि अस्पतालमा रहेका बिरामीको नियमित उपचार भइरहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश तथा प्रदेश नं ५ का जिल्ला बाँके, बर्दिया र दाङ्गसम्मका नयाँ अर्बुदरोगी अस्पतालमा आउने गरेका छन् । नयाँ बिरामीलाई अस्पतालसम्म पु¥याउन सम्बन्धित जिल्लाका जनप्रतिनिधि, स्थानीय प्रशासन र प्रहरीले सहयोग गरिरहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । उहाँका अनुसार, अस्पतालमा सिटी स्क्यान, मेमो र रेडियोथेरापी उपकरण जडानसमेत भइसकेको छ । बन्दाबन्दीका कारण आवश्यक जनशक्ति भर्ना गर्न नसक्दा अहिले सञ्चालनमा ल्याउन सकिएको छैन ।

विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको अस्पतालले अहिलेसम्म तीन हजार बढी बिरामीलाई उपचार सेवा पु¥याएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । अस्पतालले हालका लागि बहिरङ्गसेवाअन्तर्गत बिरामी जाँच, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा मात्र दिन सकेको छ ।

सरकारबाट १०० शय्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शय्याबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो । सो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता टरेको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालसंँग भएको सम्झौताबमोजिम यहाँ उपचार हुन नसकेका बिरामीलाई त्यहाँ पठाउने र आवश्यक परेको खण्डमा त्यहाँबाट चिकित्सक झिकाउने गरिएको छ ।

अस्पतालले थप चिकित्सक र प्राविधिक जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वानको प्रक्रिया अघि बढाएकामा बन्दाबन्दीका कारण रोकिएको छ । अस्पताललाई यस वर्ष सरकारले झण्डै रु पाँच करोड बजेट उपलब्ध गराएको छ । नियमित बिरामीको उपचारका साथै सोही अस्पतालमा अहिले कोभिड—१९ पोजिटिभ हुनेहरुका लागि आइसोलेशन वार्ड समेत सञ्चालनमा ल्याइएको छ । अर्बुद बिरामीलाई कुनै समस्या नपर्ने गरी छुट्टै ब्लकमा आइसोलेशन वार्ड सञ्चालन गरिएको जनाइएको छ ।

आइसोलेशनमा राखिएका ४९ शय्यामध्ये ६ वटामा सघन उपचार कक्ष, तीन वटामा भेन्टिलेटर तथा अन्य शय्यामा अक्सिजनसहितको व्यवस्था गरिए पनि अहिलेसम्म आइसोलेशन वार्डमा कुनै बिरामी भर्ना गर्नुपरेको छैन । प्रदेश नं ५ सरकारले स्थापना गरेको सो आइसोलेशनमा सो प्रदेशका कुनै जिल्लामा पनि कोरोना पोजिटिभका बिरामी नदेखिएकाले कक्ष रित्तो छ । अध्यक्ष कक्षपतिको अगुवाइमा करीब १६ वर्षअघि (२०६५ सालमा ) खजुराबासीले यज्ञकीर्तन र मुठीदानवाट अस्पताल निर्माणका लागि संकलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामकरण गरी भवन निर्माण गरिएको थियो तर स्वास्थ्यमन्त्री गगनकुमार थापाका पालामा सरकारले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृतिमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामकरण गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया