पर्वमा १ सय १३ सवारी कारवाहीमा

नेपालगन्जमा मात्रै साढे ४ सय सवारी साधनका नम्बर प्लेट पुनः लेख्न लगाइएको छ

नेपालगन्ज
पर्वका बेला ट्राफिक प्रहरीले नियम विपरित सञ्चालित १ सय १३ वटा यातायातका साधनलाई कारवाही गरेको छ । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारीसाधनलाई कार्वाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले जानकारी दिएको छ ।

‘असोज ११ देखि असोज २५ सम्मको अवधिमा नेपालगन्जमा मात्रै १ सय १३ सवारीसाधनलाई कारवाही गरिएको छ,’ ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज प्रमुख भिमराज ओलीले भने, ‘त्यसक्रममा ६७ हजार ५ सय जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ ।’

पर्वका बेला मापसे गरी सवारी साधन चलाउँदा हुनसक्ने दुर्घटनालाई मध्यनजर गरी त्यसबेला थप कडाईका साथ चेकजाँच गरेको ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज प्रमुख ओलीले बताएका छन् । ‘ट्राफिक नियम कडाईका साथ पालना गराउनमा नियमित चेकजाँच गरिरहेका छौं’, उनले भने ।

ट्राफिक प्रहरीले नम्बर प्लेट नदेखिएका सवारी साधनलाई रोकी तत्काल नम्बर प्लेट दुरुस्त गर्न समेत लगाएको थियो । त्यसक्रममा जिल्लामा ७ सय ५० बढी सवारी साधनको नम्बर प्लेट लेख्न लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । नेपालगन्जमा ४ सय ६६ वटा सवारी साधनको नम्बर प्लेट दुरुस्त गर्न लगाएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज प्रमुख ओलीले जानकारी दिएका छन् । ‘कुनै अप्रिय घटना हुँदा मेटिएका नम्बर प्लेटका कारण दोषी पत्ता लगाउन गाह्रो पर्न सक्छ, दुरुस्त रहेका नम्बर प्लेटका सवारी साधनबाट दुर्घटना भएमा जो कोहीले पनि नम्बर स्पष्ट देख्न सक्छन्’, ओलीले नम्बर प्लेट दुरुस्त गर्न लगाउनुको उद्देश्यबारे जानकारी दिंदै भने ।

ट्राफिक प्रहरीको सक्रियताका कारण नेपालगन्जमा कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज प्रमुख ओली बताउँछन् । ‘हामीले पर्वकै लागि भनेर नेपालगन्जमा हामीले नम्बर प्लेट लेख्ने कार्य देखि लिएर विशेष सक्रियताका साथ ट्राफिक व्यवस्थापनको कार्य गरेकोले नै पर्वमा कुनै अप्रिय घटना भएनन्’, उनले भने ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका अनुसार, दशैंको अवधिमा सवारीसाधनको नम्बर प्लेट स्पष्ट रुपमा नबुझिने मोटरसाइकल, स्कुटी, प्राइभेट कार, ट्याक्टर, अटो तथा एम्बुलेन्स र एउटा सरकारी कार्यालयको गाडि समेत गरेर ४६६ सवारीसाधनको सडकमै नम्बर पोत्ने कार्य गरेको छ ।

पर्वमा नयाँ सवारीसाधन खरिद गर्नेको संख्या धेरै हुने र अस्थाई नम्बर प्लेट नराख्ने, चाड पर्वमा बाहिरका सवारीसाधन नेपालगन्ज भित्रिने भएकाले दैनिक रुपमा अभियान नै संचालन गरेर स्पष्ट नबुझिने नम्बर प्लेट पोत्ने कार्य गरेको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले बताएको छ ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले चालु आर्थिक बर्षको तीन महिनामा ६ सय सवारीसाधनलाई कारवाही गरेको जानकारी दिएको छ । चालु आ.व.मा ट्राफिक नियम विपरित सञ्चालित यातायातका साधनबाट जरिवाना स्वरुप ३ लाख २९ हजार ५ सय राजश्व समेत संकलन भएको ओलीले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया