समायोजनका कर्मचारीले जिम्मेवारी पाएनन्

पालिका मातहतका स्वास्थ्य संस्थामा कर्मचारीको ब्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
नेपालगन्ज -देशभर नै स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको समायोजनको क्रम चलिरहेको छ । बाँकेका स्थानीय तहहरुमा पनि स्वाथ्य क्षेत्रका कर्मचारीहरु समायोजन भएर आउने र जाने क्रम चलिरहेको छ । बाँकेका कतिपय स्थानीय तहमा समायोजन भएर आएका कर्मचारीहरुको पदस्थापना भइ ब्यवस्थापन भइसकेको छ भने कतिपय पालिकाहरुमा समायोजन भएर आएका कर्मचारीहरुलाई ब्यवस्थापन गर्न नसक्दा कर्मचारीहरु भूमिकाविहीन बनेका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन प्रक्रिया टुंगोमा नपुग्दा कर्मचारीहरु अलमलमा पर्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ । नगरपालिकामा बिभिन्न क्षेत्रबाट समायोजन भएर आएका स्वाथ्यकर्मीहरुको पदस्थापना हुन नसक्दा समस्या भएको हो । कोहलपुर नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा भएका स्वास्थ्यकर्मीहरु समायोजन भएर अन्य क्षेत्रमा जाने क्रम र अन्य बिभिन्न क्षेत्रबाट समायोजन भएर आउने क्रम चलिरहेको छ । समायोजन भएर स्वास्थ्यकर्मीहरु बाहिर गएपछि स्वास्थ्य संस्थाहरु खाली हुने अवस्थामा समेत बाहिरबाट आएका कर्मचारीहरुलाई पदस्थापना गरि जिम्मेवारी दिन नसक्दा नागरिकहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

कोहलपुर नगरपालिकामा समायोजन भएर आएका स्वास्थ्यकर्मीहरु १५ दिनदेखि भूमिका विहीन अवस्थामा पालिकामै बस्न बाध्य भएका छन् । १५ दिन अगाडि विभिन्न क्षेत्रबाट कोहलपुर नगरपालिकामा आएका स्वास्थ्यकर्मीहरु हरेक दिन पालिकाको नगर स्वास्थ्य शाखामा आएर विना काम बस्नु परिरहेको बताउँछन् ।

भाद्र २७ गते खजुरा गाउँपालिकाबाट समायोजन भएर आएका जनस्वास्थ्य निरिक्षक भुपेश खत्रीले काम गर्नका लागि भुमिका तथा जिम्मेवारी नतोकिदा दिनभरि पालिकामा बसेर गफ गरेर बस्नु परिरहेको बताए । हाल कोहलपुर नगरपालिकामा ४ जना जनस्वास्थ्य निरीक्षक, ६ जना हेल्थ असिस्टेन्ट, ३ जना नसिङ्ग अधिकृत र ३ जना अहेब बिभिन्न ठाउँबाट समायोजन भएर आएका छन् । समायोजन भएर आएका कुनै पनि कर्मचारीको पदस्थापना गर्न पालिकाले सकेको छैन ।

कोहलपुर नगरपालिकामा तीन वटा स्वास्थ्य चौकीहरु छन् । ति स्वास्थ्य चौकीमा कार्यरत धेरै स्वास्थ्यकर्मीहरु समायोजन भएर गइसकेका छन् । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुँदा समेत पालिकामा भिड लागेका कर्मचारीहरुलाई आवश्यक ठाउँमा ब्यवस्थापन गर्न नसक्नु नगरपालिकाको गैर जिम्मेरीपन भएको कर्मचारीहरुको आरोप छ । कोहलपुर स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारीमा रहेका हाल कोहलपुर नगरपालिकामै समायोजन भइ पालिकामा हाजिर गरिरहेका जनस्वास्थ्य निरिक्षक अनिल सेन ठकुरीले स्वास्थ्य संस्थामा कर्मचारी खाली हँुदै जानु र पालिकामा कर्मचारीहरु गफ गरेर बस्नुले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्न नसक्ने बताउँछन् । उनले भने, ‘सरकारले स्वास्थ्य सेवा प्रवाहमा कुनै कमि नगर्न पत्राचार गरेको छ, यत्रा कर्मचारीहरु पालिकामै बस्दा नागरिकहरुले सेवा पाउन सकिरहेका छैनन् ।’

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अहिले कुन ठाउँमा कति दरबन्दी हुने, कस्लाई कहाँ पठाउने भन्ने विषयमा टुङ्गो लागि नसकेकाले पदस्थापन गर्न नसकिएको बताए । अब दशैको बिदा हुने भएकाले दशै अघि केही गर्न नसकिने भन्दै दशै पछि नै सबै ब्यवस्थापन गर्ने नगर प्रमुख रावतको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई दशै तथा तिहारको बिदाको समयमा समेत स्वास्थ्य संस्थाहरु बन्द नगरि स्वास्थ्य सेवा सुचारु गर्न भनि पत्राचार गरेको छ । मन्त्रालयले यस्तो किसिमको पत्राचार गरेको भएपनि पालिका मातहतका स्वास्थ्य संस्थामा कर्मचारीको ब्यवस्थापन नहुँदा जनताले कसरी सेवा पाउलान भन्ने विषयमा प्रश्न खडा भएको छ । ‘मन्त्रालयले दशै बिदाको समयमा समेत स्वास्थ्य सेवा सुचारु गर्ने भनि पत्राचार गरेको छ, कर्मचारी जति पालिकामै छन्, स्वास्थ्य संस्थामा कर्मचारी अभाव छ,’ नगर स्वास्थ्य शाखाका संयोजक धन रेग्मीले दैनिक नेपालगन्जलाई भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७६ असोज १२ गते पत्रचार गर्दै दशै र तिहारको बिदाको समयमा स्वास्थ्य सेवा सुचारु गर्नका लागि स्वास्थ्य संस्थाहरुमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने, राजमार्गमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै राजमार्ग आसपासका स्वास्थ्य संस्थाहरुलाई थप तयारी अवस्थामा रहन ब्यवस्था मिलाउने व्यवस्था मिलाउन निर्देशन गरेको छ ।

दशैंमा सेवामा प्रभावित नहुने गरि मात्र कर्मचारीहरुको बिदाको ब्यवस्था मिलाउने, एम्बुलेन्स सेवा २४ सै घण्टा दूरुस्त अवस्थामा राख्ने, हाल भइरहेको डेंगु महामारी रोक्थाम तथा उपचार सेवा प्रभावित हुन नदिन आवश्यक ब्यवस्था मिलाउने, दशै र तिहारमा हुन सक्ने महामारी र अन्य दुर्घटनाका लागि तयारी अवस्थामा रहने, स्वास्थ्य संस्था सुरक्षाको लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरुसंग समन्वय गरि आवश्यक ब्यवस्था मिलाउने लगायतको निर्देशन मन्त्रालयले दिएको हो
एकातिर मन्त्रालयले २४ सै घण्टा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन पत्राचार गर्ने तर पालिकामा समायोजन भएर आएका कर्मचारीहरुलाई स्वास्थ्य संस्थामा ब्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित हुने पक्का देखिन्छ । मन्त्रालयले गरेको पत्राचार अनुसारको स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरुमा अहिले पर्याप्त कर्मचारीहरु छैनन् ।

कोहलपुर स्वास्थ्य चौकीमा ७ जनाको दरबन्दि रहेकामा अहिले ४ जना कर्मचारी कम छन् । त्यसैगरी समशेरगन्ज स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी रहेकोमा २ जना मात्रै कार्यरत छन््, बाँकी समायोजन भएर गइसकेका छन् । रझेना स्वास्थ्य चौकीमा पनि त्यस्तै समस्या छ । अहिले कोहलपुर नगरपालिका अन्र्तगत रहेका ३ वटा स्वास्थ्य चौकी मध्ये २ वटा स्वास्थ्य चौकी प्रमुखविहीन छन् । कोहलपुर स्वास्थ्य चौकीमा भने पहिले स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारीमा रहेका जन स्वास्थ्य निरिक्षक अनिल सेन ठकुरीलाई नै अर्को ब्यवस्था नभएसम्मका लागि काम काज गर्ने गरि जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया