नेपालगन्ज – व्यवसायीहरुको चर्को विरोधसँगै रोकिएको पर्यटकीय स्वीकृति लिएर यात्रुको अवैध ओसारपसार पुनः सञ्चालनका लागि चलखेल सुरु भएको छ ।
पहाडी जिल्लाका विभिन्न सदरमुकामबाट सोझै भारतीय सहरहरुमा तिर्थ यात्री ओसारपसारका नाममा लिइएको अस्थायी परमिटबाट अवैध रुपमा यात्रु ओसारपसारलाई व्यवसायीहरुले चर्को विरोध गरेका थिए । त्यसपछिको चेकजाँचमा अवैध कार्य भएको पाइएपछि स्थानीय प्रशासनले पर्यटकका नाममा यात्रु ओसारपसार गर्ने कार्य बन्द गर्दै त्यसखालका बस सञ्चालनमा रोक लगाएको थियो ।
‘आज दुई वटा बसलाई प्रहरीले नै सीमापार गराएको छ’, व्यवसायीहरुका तर्फबाट निरन्तर यसखालका कार्य रोकथामका लागि लागि परेको होटल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष भीम लाल कंडेलले सोमबार साँझ भने, ‘प्रदेश सरकारको पत्रका आधारमा छाडिएको प्रहरीको भनाइ छ ।’ दाङबाट सिम्लाका लागि आएको ना ५ ख ५०४३ नम्बरको बस रोक्न पुगेका व्यवसायीहरुलाई प्रहरीले ‘डण्डा हान्ने धम्की दिंदै’ बस रुपैडिहा कटाएको थियो । त्यस लगत्तै ना ५ ख ९५१२ नम्बरको बस पनि यात्रुहरु लिएर भारततर्फ गयो ।
‘अवरोध पुर्याउनेहरुलाई प्रहरीले धम्की दियो’, होटल व्यवसायी संघका अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख लगायत सर्वपक्षीय पहलमा भएको निर्णयको धज्जी उडाइएको छ ।’
सीमावर्ती बजारलाई प्रत्यक्ष प्रभावित पार्दै पहाडी जिल्लाबाट यात्रु लिएर सोझै बसहरु भारतीय सहर जाँदा व्यवसायिक रुपमा ठूलो नकारात्मक प्रभाव परेको भन्दै होटल व्यवसायी संघ नेपालगन्जका अगुवाईमा त्यसविरुद्ध हस्तक्षेप सुरु भएको थियो । पर्यटकका नाममा यात्रु ओसारपसार भैरहेको प्रमाणित भएपछि स्थानीय प्रशासनले समेत अवैध कार्य भैरहेको भन्दै पूर्णत बन्द गराउने निर्णय गरेको थियो । ‘दशैंलाई लक्षित गर्दै १५ दिनका लागि अस्थायी परमिट लिएका गाडीहरुलाई अवरोध नपुर्याउने’ भन्दै प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रशासन, प्रहरीलाई पत्र पठाएपछि व्यवसायीहरु आक्रोशित भएका हुन् ।
दैनिक ८ सय बढी यात्रु नेपालगन्ज नाका हुँदै भारतका विभिन्न जाने गरेको तथ्यांकले बताउँछ । उक्त कार्यलाई अवैध भन्दै भारतीय प्रहरीले समेत सुदूरपश्चिम नाकाबाट गएको एउटा बसलाई ‘सिज’ गरेको थियो । ‘यसमा ठूलै चलखेल भएको छ’, आक्रोशित व्यवसायी बीचबाट कंडेलले भने, ‘दशैंका लागि हो भने भारततर्फबाट आउने बसलाई सहुलियत दिन सकिएला ।’ दशैंका बेला भारत जाने बसलाई अवैध रुपमा इजाजत दिइएको भन्दै आक्रोशित व्यवसायीहरुले भने, ‘दशैंका बहानामा अवैध कार्यलाई प्रोत्साहन गर्ने हो भने हामीलाई पनि सीमापारीबाट विना भन्सार मालसामान ल्याउने छुट दिने ?’
प्रदेश सरकारको निर्देशन विरुद्ध व्यवसायीहरुले आज मंगलबार विरोध जनाउँदै स्थानीय प्रशासन मार्फत ज्ञापन पत्र बुझाउने बताएका छन् । सीमा बजारलाई वेवास्ता गर्दै गैर कानुनी रुपमा अवैध कार्यलाई प्रोत्साहन गरेको भन्दै व्यवसायीहरुले लामो समयदेखि गरेको प्रयास अनुरुप स्थानीय प्रशासनले पर्यटकका नाममा भारतीय दुतावासबाट इजाजत लिएर यात्रु बोक्न रोक लगाएको थियो ।