मौसम सफा नहुँदा बुद्ध एयरको विमान धनगढी डाइभर्ट गरिएको थियो
नेपालगन्ज – बुधबार बिहानै देखि परेको अविरल झरीका कारण नेपालगन्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । न्यूरोड, सेतुविक चोक, गणेशपुर, घरबारीटोल, धम्बोझी चाके, पासाङ्गल्हामु मार्ग लगायतका क्षेत्रमा बर्षात्को पानी तालिएको हो । नेपालगन्जको सेतुविक चोक र घरबारी टोलका केही पसलमा पानी समेत पसेको थियो । नेपालगन्जलाई डुबानमुक्त बनाउन अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले बुधबार नेपालगन्ज ७६.७ मिलिमिटर बर्षा भएको जानकारी दिएका छ । बर्षात्को पानी सहज निकास नहुँदै नगरका अधिकांश साना सडकहरु जलमग्न थिए । सेतु बिक चोकको हालत झनै दयनीय बन्यो । सेतु विक चोकमा घुँडासम्मै पानी तालिएको थियो । सडक छेउको साना नहर कहाँ नीर छ पत्तो नै पाउन नसकिने अवस्था हुँदा यात्रुहरुले असहज भएको देखिन्थ्यो ।
बागेश्वरीको भित्री सडक, रंगशाला रोड लगायत नेपालगन्जका अधिकांश भित्री तथा साना सडकहरु जलमग्न भयो । बर्षात्का कारण व्यापार व्यवसाय समेत प्रभावित भएको थियो । खोलिएका पसलमा पनि ग्राहक भने पुग्न पाएनन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले न्यूरोड र घरबारीटोलका पसलहरु डुबानमा परेको जानकारी दिए ।
न्यूरोडमै व्यवसाय गर्दै आएका श्रेष्ठले डुबान समस्याले न्यूरोड क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्दै गएको बताए । कारकाँदोमा रहेको प्रहरीको अस्पताल र कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा पानी पसेपछि आवागमन र कामकाजमा समस्या भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयका केही भवनसमेत डुबानमा परेका छन् । जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका–७ मा आधा दर्जन बढी घर डुबेका छन् ।
जिल्ला दैवी प्रकोप उद्दार समितिले अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भइरहेको जानकारी दिँदै निरन्तर वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे ।
नेपालगन्ज क्षेत्रमा वर्षा भए पनि जिल्लाको पूर्वी क्षेत्र र दाङ तथा प्यूठानमा ठूलो वर्षा नभएकाले राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ । प्रहरी उपरीक्षक वलीले बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताएका छन् । उनले डुबान भएका स्थानमा पानीको बहाव खोल्नका लागि उपमहानगरपालिकाका कुचीकार र प्राविधिक शाखाका कर्मचारी जेसिभीसहित तैनाथ रहेको बताए ।
मौसमकै कारण नेपालगन्ज विमानस्थल समेत बन्द भयो । मौसम सफा नहुँदा काठमाडौबाट नेपालगन्ज आइपुग्नुपर्ने बुद्ध एयरको लाष्ट फ्लाइट धनगढी डाइभर्ट गरिएको, बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले दैनिक नेपालगन्जलाई जानकारी दिए । ५ः१० मा काठमाडौबाट उडेको बुद्ध एयरको अन्तिम उडानमा यात्रा गरिरहेका अशोक कर्माचार्यका अनुसार मौसमका कारण जहाज करिब दुई घण्टा आकाशमै होल्डिङ भएको र अन्तमा करिब ७ः५० तिर धनगढी ल्यान्ड गरेको बताएका छन् ।
खजुराको पेढाली नाला बढेर साँझ परेपछि आवतजावत समेत रोकिएको खजुरा ३ का बिबेक मल्लले जनाएका छन् । खजुरा गाउँपालिका वडा नम्बर दुई सि गाउँमा पर्ने किरण नालाको बाटो माथी पानी बग्न थाले पछि सि गाउँ हुँदै ए गाउँ, एल गाउँ तथा बर्दिया जाने बाटोमा आवतजावत बन्द भएको नरेन्द्र ददेलले जानकारी दिए ।
विहानबाटै परेको पानीका कारण कर्मचारीहरु समयमा काम समेत पुग्न पाएनन् । त्यसमाथि खजुरा गाउँपालिका ३ का व्यवसायी बिबेक मल्ल दिनभर घरमै बस्नु परेको बताउँछन् । हेमन्त शाही पनि पानी रोकिने आशामै ढिला गरि कार्यालय पुगेको बताउँछन् । युनियन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख समेत रहेका उनको दैनिकी मार्केटमै बित्छ तर बुधबार फुर्सदिला बने ।
बर्षात्का कारण बर्दिया पनि प्रभावित रह्यो । जिल्ला प्रशासन कार्यालय बर्दियाले लगातार परेको बर्षाका कारण डुबान भैरहने स्थानहरुमा सतर्क रहन आव्हान समेत गरेको छ ।