थुनछेकका लागि बयान थालियो बयान
सरकारी कागज किर्ते गरि सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने अभियोग लागेका ७ जना कर्मचारीलाई बाँके प्रहरीले मंगलवार अदालत प्¥याएको छ ।
तत्कालिन बाँके तथा बर्दियाको जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत प्रमुख मालपोत अधिकृत, अधिकृत, नायव सुब्बा, खरिदार तथा कार्यालय सहयोगी सहितका ७ जनालाई राजधानी काठमाडौंबाट बाँके प्रहरीको टोलीले पक्राउ गरि नेपालगन्ज ल्याएपछि अदालत पेश गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरु समेतको मिलोमतोमा तत्कालिन बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानमा रहेको सरकारी जग्गाको कागजात किर्ते गरि व्यक्तिको नाममा पास गराएको आरोप छ । ‘सरकारी वकिलमार्फत अदालत पु¥याइएको छ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर वलीले दैनिक नेपालगन्ज सँग भने, ‘उनीहरुको बयान सुरु भइसकेको छ ।’
सम्बद्ध स्रोतका अनुसार, तत्कालिन मालपोत कार्यालय बाँकेमा प्रमुख मालपोत अधिकृत पदमा कार्यरत दिर्घ बहादुर पोखरेल, तत्कालिन मालपोत कार्यालय बर्दियामा प्रमुख मालपोत अधिकृत पदमा कार्यरत कृष्ण प्रसाद ज्ञवालीलगायतका ७ जनालाई काठमाडौंबाट पक्राउ गरि मंगलवारनै नेपालगन्ज ल्याइपु¥याएको हो । पोखरेल सहित तत्कालिन मालपोत कार्यालय बाँकेमा मालपोत अधिकृत पदमा कार्यरत हेमराज शर्मा र बाँकेकै मालपोत अधिकृत पदमा कार्यरत अशोक कुमार भट्टराईको बयान लिइसकिएको सम्ब्द्ध स्रोतले जनाएको छ ।
तत्कालिन मालपोत कार्यालय बर्दियामा ना.सु.पदमा कार्यरत रविन्द्र बहादुर थापा, का.स.पदमा कार्यरत सुर्य प्रसाद उपाध्याय खरिदार पदमा कार्यरत किशोर कुमार रिजालसँग बुधवारदेखि बयान शुरु हुने बताइएको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने गिरोह विरुद्ध अपरेशन थालेको बाँके प्रहरीले उक्त घटनाको कानुनी कारवाहीका क्रममा फरार ७ जनालाई राजधानी काठमाडौं पुगेर सोमवार पक्राउ गरेको हो । उनीहरुले बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको छ ।
यसअघि मालपोत कार्यालय बाँकेका कर्मचारीहरुको मिलेमतोमा सरकारी जग्गा निजी नाममा गर्दै हत्याउन सक्रिय रहेको भन्दै पक्राउ परेका १९ जना मध्ये १६ जनालाई थुनामा राख्न बाँके जिल्ला अदालतले आदेश गरेको थियो । जिल्ला न्यायाधीश राम प्रसाद वश्यालको एकल इजलाशले हत्या तथा अपहरण सम्बन्धी मुद्दामा दुई जनालाई र सरकारी कागज किर्ते सम्बन्धी मुद्दामा १४ जनालाई थुनछेकको आदेश गरेको हो । बाँकी ३ जनालाई जनही १÷१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश अदालतबाट भएको थियो । तीन जनालाई भने अख्तियारले झिकाएको थियो । सरकारी कागज किर्ते अन्तर्गत मुद्दा चलाइएका प्रेम बहादुर चन्द, सञ्जय कुमार ठाकुर र तुलसीरानी थारुलाई जनही १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । तर, अख्तियारले उक्त मुद्दा अनुसन्धान गरिरहेकाले तीनै जनालाई अदालतबाटै माग गरी झिकाएको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सघाउने सरकारी कर्मचारीहरु समेत गरी १९ जनालाई बाँके प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । पक्राउ पर्ने दुई जना हत्या तथा अपहरण मुद्दामा परेका छन् । सम्बद्ध स्रोतका अनुसार, नेपालगन्ज–३ का कोशल भन्ने फैरुल हसन अन्सारी र उनका अर्का साझेदार सज्जन सैय्यदलाई हत्यामा संलग्नताको आशंकामा पक्राउ गरी मुद्दा चलाइएको हो । अन्सारीले आफ्ना साझेदार भारतीय नागरिक जुनेद अन्सारीको हत्या गरेको अभियोग छ । अन्सारी एकाएक बेपत्ता भएपछि जयसपुर स्थित उनकी नेपाली पत्नीले खोजीका लागि दिएको उजुरीका आधारमा प्रहरी सक्रिय हुँदा जग्गा लेनदेनको कारोबार सरकारी जग्गालाई व्यक्तिका नाममा गर्ने गिरोह खुलासा गर्नेदेखि जग्गा विवादमा हत्या समेत भएको प्रकरण सार्वजनिक भएको थियो ।
मालपोत कार्यालय बाँकेका अधिकृत पुष्पा श्रेष्ठ सहित बाँके, बर्दियाका १७ जना मालपोत कर्मचारी कानुनी कारबाहीमा छन् ।