गत असोज महिला देखि कार्यान्वयमा आएको उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बाँके जिल्ला अदालतमा आइतबार पहिलो क्षतिपूर्ति मुद्दा दर्ता भएको छ ।
पुरानो उपभोक्ता संरक्षण ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजक रहने जिल्ला क्षतिपूर्ति समितिमा क्षतिपूर्तिका मुद्दाको सुनुवाई हुने प्रावधान भएकोमा नयाँ कानून आए पछि अदालतमा मृतक मनितलाल श्रेष्ठको पहिलो क्षतिपूर्ति मुद्दाको रुपमा दर्ता भएको हो ।
यस अघि जिल्ला क्षतिपूर्ति समिति बाँकेमा जम्मा ८ थान मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दाको फैसला क्षतिपूर्ति समितिले गरिसकेको क्षतिपूर्ति समितिका पूर्व सदस्य समेत रहेका अधिवक्ता गौतमले जानकारी दिए । ती मुद्दा मध्ये केहीमा क्षतिपूर्तिमा लागि आदेश भएको, केही खारेज भएको र केहीमा अस्पताल र दुरसंचार कार्यालयलाई सचेत गराइएको गौतमले बताए ।
आँखा अस्पताल बिरुद्ध परेको एक क्षतिपूर्ति सम्बन्धि मुद्दा जिल्ला क्षतिपूर्ति समितिमा बिचाराधिन रहेकै अवस्थामा नयाँ उपभोक्ता संरक्षण ऐन सम्बन्धि कानून आए पछि उक्त मुद्दालाई समितिले बाँके जिल्ला अदालतमा पठाएको थियो ।
नयाँ उपभोक्ता ऐनमा जिल्ला अदालतका न्यायाधीशको संयोजकत्वमा ३ सदस्यीय उपभोक्ता अदालतको गठन गर्ने ब्यवस्था गरे पनि सरकारले अहिलेसम्म उपभोक्ता अदालत गठन नगरेको अधिवक्ता गौतमले बताए । ऐनले उपभोक्ता अदालत गठन नभएसम्मका लागि जिल्ला अदालतले मुद्दा हेर्न सक्ने प्रावधान गरेकाले सोही अनुसार जिल्ला अदालतमा मुद्दा दायर गरिएको गौतमले जानकारी दिए ।
उपचारमा गम्भीर लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले नेपालन्गज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका बिरुद्धमा आइतवार बाँके जिल्ला अदालतमा क्षतिपूर्ति मुद्दा दायर गरेका छन् ।
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरवारी टोल बस्ने ४६ बर्षिय मनितलाल श्रेष्ठलाई उपचारको लागि शिक्षण अस्पताल नेपालगन्ज लगेकोमा अस्पताल प्रशासन र इजरजेन्सी जस्तो संवेदनशिल ठाउँमा उपचार गर्न बसेका डाक्टर र कर्मचारीको लापरवाही र गम्भीर हेलचेक्राइका कराण बिरामीको मृत्यु भएको मृतकका भाई बिकाश राज भण्डारीले बताए ।
२०७६ असार १ गते ज्वरो आएर उपचारका लागि अस्पताल लगिएकोमा इमरजेन्सी बार्डमा जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीले आफैले सक्रियता देखाई तत्काल उपचार गर्नु पर्नेमा अस्पताल लगेको झण्डै २० मिनेटसम्म पनि कुनै वास्ता नगरिएको मृतककी श्रीमती नम्रता श्रेष्ठले भाव बिह्वल हँुदै भनिन् ।
हार गुहार गरे पछि चिनजानका डाक्टर आएर औषधीको नाम लेखि दिए पनि १०५ डिग्रीको ज्वरो आएको बिरामीलाई ओजेटीका लागि अस्पताल आएका सिकारु बिद्यार्थीले क्यानोला मार्फत औषधी दिंदा उनीहरुले राम्ररी क्यानोला मार्फत औषधी दिन नजानेका कारण दायाँ हातको नसा मार्फत दिन खोजेको औषधी आधा गएन र उल्टो रगत आउन थालेको मुद्दामा उल्लेख गरिएको छ ।
अस्पताल र चिकित्सक र त्यहाँका कर्मचारीको लापरवाही हेलचेक्राईका कारण राम्ररी उपचार हुन नपाई बिरामी मनितलाल श्रेष्ठ कालो निलो भएको र समयमै राम्रो उपचार नभए पछि अत्तालिएर हार गुहार गरि कराई हल्ला गर्न थाले पछि बल्ल इमरजेन्सीका एक जना डाक्टर आए पनि बिरामी चेकजाँचमा वास्ता नगरेको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
‘बिरामीलाई १०५ डिग्रीको ज्वरो आई तातेको बिरामी कालो निलो भई हातखुट्टा चिसो भईसक्दा समेत चिकित्सकले उचारमा उचित ध्यान दिएनन’ मृतकका भाई बिकाशराज भण्डारीले भने ।
गम्भीर प्रकृतीका बिरामीको उपचार गराउने अस्पतालको इमरजेन्सी सेवा जस्तो संबेदनसिल ठाउँमा कार्यरत डाक्टर कर्मचारी र अस्पताल प्रशासनको गम्भीर लापरवाही र हेलचेक्राई गरेका कारण बिरामी मनितलाल श्रेष्ठको मृत्यु भएकाले विपक्षीहरुका बिरुद्धमा उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद १० को दफा ५०, ५१ र ५२ वमोजिम क्षतिपुर्ति माग गरि मुद्दा दर्ता गराइएको मृतककी श्रीमती नम्रता श्रेष्ठले जानकारी दिइन् ।
विपक्षीहरुको गलत उपचारका कारण मेरो श्रीमानको ज्यानै जाने सम्मको कार्य भएको छ । वहाँ घरको मुली ब्यक्ति भएको र निजकै कमाईबाट हामी ४ जनाको परिवारको गुजारा चलेको थियो । घरमा अन्य ब्यक्तिको जागिर नभएको र वहाँकै कमाईबाट १६ बर्षिय छोरा अमृतलाल श्रेष्ठ र १४ बर्षिय छोरी स्मृति श्रेष्ठको अध्ययन गर्ने गर्दथे । घर ब्यवहार चलाउन, छोराछोरीको शिक्षादिक्षामा निकै समस्या पर्ने भएको छ । काम गरेर खाने निम्न स्तरको परिवारको मुली ब्यक्तिलाई उपचारमा गम्भीर लापरवाही र हेलचेक्राई गरेका कारण जिवनमा अपुरणिय क्षति भएको श्रेष्ठले बताइन् ।
विपक्षीको गलत उपचारका कारण मेरो र परिवार जीवन निर्वाहका लागि भैरहेको आधार व्यवसाय रोजगार गुम्न गएको, ४६ वर्षको अल्पायुमै मृत्यु भएका कारण म र मेरो नावालक दुई सन्तानको भरण पोषण, शिक्षा दिक्षा तथा परिवारको शारिरिक, मानसिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पुग्न गएको अपुरणीय क्षति पुगेकाले क्षतिपूर्ति वापत कूल ५२ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति वापत विपक्षीहरुबाट भराई दिलाई पाउँ भनी मुद्दामा दावी गरिएको छ ।
गुणस्तरीय सेवा पाउनु आम उपभोक्ताको अधिकार भएको र समयमै गुणस्तरिय सेवा नपाएर बिरामीको मृत्यु भए पछि क्षतिपूर्ति माग गर्नु उपभोक्ताको अधिकार भएको मुद्दामा कानूनी सहयोग गरेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले बताए ।