नेपालगन्ज उपमहानगरपालिकाले आगामी आ.व. २०७६÷०७७ का लागि वडा स्तरमा ह्वात्तै बजेट बढाउने भएको छ । वडाध्यक्षहरु एकीकृत प्रयास पछि साढे ६ करोड बढी रकम वडामा बढ्ने भएको हो ।
गत असार १० गते सुरु भएको नेपालगन्ज उपमहानगरपालिकाको पाँचौं नगरसभाले बजेट छलफल समापन भएसँगै आज बिहीबार नगरसभा समापन गर्न लागेको छ । त्यसअघि बुधबार कार्यपालिका बैठकबाट बजेट पास गरेको छ ।
केन्द्रीय स्तरका ठूला परियोजना सञ्चालन गर्ने नगर प्रमुख डा. धवल समशेर राणा र उपप्रमुख उमा थापा मगरको योजना विपरित वडाध्यक्षहरुले बजेटको ठूलो हिस्सा वडा स्तरमा पुर्याउने भएका हुन् । ‘वडामै पैसा बढी लैजानु पर्छ भन्ने जोड वडाध्यक्षहरुको रह्यो’, नगर प्रमुख डा. राणाले भने, ‘त्यसैले गत बर्षको बजेट भन्दा पनि यो बर्षको नगरसभाले वडामा बढी बजेट विनियोजन गर्दैछ ।’
‘वडाले नै खाता सञ्चालन गर्ने व्यवस्था सहित बजेट बढाइएको छ’, उपप्रमुख थापाले दैनिक नेपालगन्जसँग भनिन्, ‘चालु आर्थिक बर्षको तुलनामा साढे ६ करोड बढी रकम वडाहरुलाई दिइएको छ ।’
आगामी आर्थिक बर्षका लागि २९ करोड २२ लाख २७ हजार रुपैयाँ नेपालगन्जका २३ वटै वडाका लागि प्रस्ताव गरिएको छ । जुन रकम चालु आर्थिक बर्षमा २२ करोड ७५ लाख २६ हजार रुपैयाँ थियो । आगामी बर्ष पनि वडा नं. २० ले सबैभन्दा बढी १ करोड ७५ लाख ८७ हजार रुपैयाँ र वडा नं. २३ ले सबैभन्दा कम ८५ लाख ३८ हजार रुपैयाँ बजेट प्राप्त गर्दैछ ।
‘वडाध्यक्षहरुको जोड आफ्नो वडामा बजेट लैजानु पर्छ भन्ने नै रह्यो’, बुधबार नगरसभा सकिनु अघिको तयारी बोर्ड बैठकपछि उपप्रमुख थापाले भनिन्, ‘संघीयताको मूल मर्म अनुसार तल्लो तहसम्म बजेट पुगोस् भन्ने कुरामा हाम्रो पनि समर्थन रह्यो ।’ उपप्रमुख थापाले चालु आर्थिक बर्षमा नगरको आन्तरिक आम्दानी १५ करोड प्रस्ताव गरिएकोमा आ.व.को दुई करोड बढाइएको जानकारी दिइन् ।
‘चालु आर्थिक बर्षमा वास्तविक आम्दानी १४ करोडको सम्भावना छ’, उपप्रमुख थापाले त्यसैका आधारमा आगामी आर्थिक बर्षमा १७ करोड प्रक्षेपण गरिएको दाबी गरिन् । उनले करको दर वा दायरा नभई संकलनको दायरा बढाइएको पनि जानकारी दिइन् । ‘त्यसले वडामा बढाइएको बजेटको सार्थकतालाई पुष्टि गर्छ’, उपप्रमुख थापाले भनिन् ।
नगर प्रमुख डा. राणाले बोर्डले प्रस्तावित २ अर्ब २८ करोड ८५ लाख ५४ हजार रुपैयाँको बजेट पास गरेको जानकारी दिए । ‘आगामी आर्थिक बर्षका लागि प्लाष्टिक मुक्त सहर निर्माण गर्ने अभियानलाई प्राथमिकता दिने कुरामा बोर्डले सहमति दिएको छ’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘वडामै बढी पैसा जाने भएपनि क्रमागत योजनाहरुलाई सक्ने कुरामा सबै प्रतिबद्ध छौं ।’
आगामी आर्थिक बर्षदेखि काम सुरु गर्ने गरी नगर विकास कोषको सहयोगमा ठूलो परियोजना बागेश्वरी मन्दिर नजिक अत्याधुनिक सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने कुरालाई आज हुने नगरसभाले ‘ग्रीन सिग्नल’ दिनेछ । यसका लागि बुधबार भएको बोर्ड बैठकले ७० करोड बढीको उक्त परियोजनालाई स्वीकृति दिएको हो । भूमिगत पार्किङ्ग सहितको सात तले उक्त कम्प्लेक्सले नेपालगन्जलाई महानगरको ‘सिम्बोलिक’ पूर्वाधारका रुपमा प्रतिनिधित्व गर्नेछ । ‘महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क जस्ता परियोजनाको पूर्णतासँगै नगरलाई सुन्दर बनाउने कुरामा हामी अगाडि बढ्नेछौं’, नगर प्रमुख डा. राणाले भने ।
उपमहानगरपालिकाले सबै वडालाई एकापसमा जोड्ने गरी नगरबस सञ्चालन गर्दैछ । ‘उक्त बसको आम्दानीले गरिबी निवारण कोषमा योगदान गर्नेछ’, नगर प्रमुख डा. राणाले चालु आर्थिक बर्षमा डेढ करोड रुपैयाँ गरिबी निवारणका लागि विना धितो लगानी गरिएको जानकारी दिंदै भने, ‘आगामी आ.व.मा बसको आम्दानी पनि जोडिनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकृत शरद पौडेलका अनुसार, आज औपचारिक कार्यक्रम बीच पाँचौ नगरसभा समापन गरिंदैछ । ‘त्यसक्रममा नगरको विकासमा योगदान दिने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम राखिएको छ’, पौडेलले दैनिक नेपालगन्जसँग भने ।