आज धान दिवस, बाँकेका किसानलाई बियाड जोगाउन छाडा पशु लखेट्दै ठिक्क

देबेन्द्र राज पौडेल

छाडा पशुका कारण धानको बियाड जोगाउन गाह्रो परिरहेको बाँकेका किसानहरुले गुनासो गरेका छन् । खेतमा भेटिने हुलका हुल पशु चौपाया बियाडमा चर्न थालेपछि टन्टलापुर घाममा किसानहरु बियाडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शुक्रबार करिब ४० डिग्रीको हाराहारीको तापक्रम र उम्सोको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठि लिएर खेत छेउको सडकमा उभिरहेकी थिइन् । अन्सारीले भनिन्, ‘एकैछिन छाड्ने हो भने पशुले सबै बियाड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनु परेको छ ।’

अन्सारीले बियाड नियाल्दा नियाल्दै एक हुल गाई दौडेर बियाड खान खेत छिरिहाल्यो । उनले अर्का बियाड कुर्न बसेका ओम मिश्रलाई आवाज दिइन्, ‘छिटो दौड ।’ मिश्रले खेलमा पुगुञ्जेल गाईले अलिकति बियाड चबाइसकेको थियो । मिश्र र अन्सारी मात्रै होइन धेरै किसान बियाड कुर्न दिनभरी खेतमा पुग्छन् । रातीभने गाई गाउँ पस्ने भएकाले बियाड सुरक्षित रहने अन्सारीले बताइन् । ‘एकाविहानै देखि एकजनाको काम नै पशुचौपया लखेट्ने हुन्छ’, अन्सारीले भनिन् ।
बियाड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् ।

‘धान रोपेपछि नकाटुन्जेञ्लसम्म एकछिन खेत छाड्न मिल्दैन’, परसपुरका अर्जुन कलवार भन्छन्, ‘छाडा पशुको कारण घरको काम छाडेर २४ सै घण्टा खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।’
पछिल्ला बर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छोडेपछि खुला छाडिदिने गरेका छन् । त्यो भन्दा छाडा पशु बढ्नुको कारण अर्को चाही भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ । त्यसैले भारत सँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाई, गोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था आएको स्थानीयबासी बताउँछन् । ‘सीमा खुला छ पशुलाई रोक्ने कुरा भएन, अहिले संख्या बढ्दै जाँदा सास्ती भएको छ’, राजेन्द्र आचार्य भन्छन्, ‘छाडा पशुका कारण सहरमा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।’

आज असार १५ । अर्थात् धान दिवस । धान दिवस रोपाई गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाईको सुरसार छैन । पर्याप्त पानी नपर्दा बाँकेका किसानले यसबर्ष ढिलो गरी धानको बियाड राखेका छन् । आकाशे पानीको भरमा रहेको बाँकेको धान खेती यसबर्ष ढिलो गरी सुरु हुने किसानहरु बताउँछन् ।

‘बियाड त राखेका छौं’, जानकी गाउँपालिकाका किसान गंगाप्रसाद काँदु भन्छन्, ‘सिंचाईको व्यवस्था छैन त्यसैले पानी नपर्दा सम्म रोपाई गर्ने अवस्था रहेन ।’ यसबर्ष देखि सिक्टा सिचाईले नहरमा पानी छाड्ने भनिएपनि सम्भावना न्यून छ । ‘खोई कहिले आउने हो सिक्टाको पानी नहरमा’, काँदू भन्छन् ।

असारमा एक दिन पानी परेपनि त्यसपछि परेको छैन । एक दिनको पानीले भिजाएको खेत पुनः सुकि सकेका छन् । खेतका गह्रामा धाँजा परेको किसानहरु बताउँछन् । कतिपय किसानको बियाड रोप्नका लागि तयार हुँदा पनि पानीको समस्याले रोपाई हुन सकेको छैन । बाँकेमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको अनुमान छ ।

प्रतिक्रिया

प्रतिक्रिया