‘आठ महिनाभित्रै बजेट कार्यान्वयन’

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको मुख्यमन्त्री शंकर पोखरेलको धारणा

बुटवल/समाचारदाता

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनमा शंका नगर्न आव्हान गरेका छन् । चालु आर्थिक बर्षका विभिन्न पक्षहरुले बजेट कार्यान्वयनमा परेको समस्या उजागर गर्दै प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले सोमबार पत्रकारहरुसँग भने, ‘आगामी बर्षको आठ महिनाभित्रै बजेट खर्च गरिसक्छौं ।’ चालु आर्थिक बर्षको बजेट आफ्नो सरकारले ७० प्रतिशत खर्च गरिसकेको जनाउ दिएका मुख्यमन्त्री पोखरेलले संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब बजेट खर्च गरिसकेको जानकारी दिए ।


प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको योजना सुनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको पत्रकारहरुसँग प्रदेशका चुनौतिबारे आफ्ना धारणा राखे । ‘कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा रहे पनि प्रदेशका लागि अर्थतन्त्रको आकार जनसंख्याको आकारका हिसाबले भने कमजोर रहेकाले प्रदेशका लागि यो चुनौतीका रूपमा रहेको छ’, उनले भने ।


आइतबार प्रदेश सरकारकोतर्फबाट प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिकपछि बुटवलमा सोमबार पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनबारे मुख्यमन्त्री पोखरेलले पत्रकारहरुसँग कुरा गरेका हुन् । पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग मिलाएर प्रदेशलाई अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने हिसाबले बजेटको कार्यान्वयनमा जोड दिइने बताएका थिए । उनले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षमा आठ प्रतिशतमाथि पु¥याउने गरी बजेट प्रक्षेपण गरिएको जानकारी पनि दिए ।


प्रदेश ५ का लागि ३६ अर्ब ४१ करोड बढीको बजेट प्रस्तुत गरेपछि पत्रकारसँग पहिलो पटक औपचारिक भेटघाट गरेका मुख्यमन्त्री पोखरेलले बजेट घाटामा नभएर स्रोत वृद्धि गर्ने सन्दर्भमा प्रदेश सरकार सफल भएको र सोहीअनुसार स्रोतमा आधारित भएर यथार्थ बजेट ल्याइएको दाबी गरे । प्रदेश सरकारको बजेट आवधिक योजनामा आधारित भएर क्रमागत योजनालाई समेत योजनामा समावेश गरेर बजेट बनाइएको उनको भनाइ थियो । उनले प्रदेशको समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न समुदायमा कृषि अनुदान पु¥याउन नयाँ ढाँचासहितका कार्यक्रम ल्याइएको बताए ।


सरकारले युवाको पौरख, प्रदेशको गौरवका रूपमा युवालाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउन कृषि विषयमा उच्च शिक्षा हासिल गरेका युवालाई स्रोत व्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना बजेटमा व्यवस्था गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।


आर्थिक वर्ष २०७६÷०७७ का लागि आइतबार प्रदेशसभामा रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरिएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड पाँच लाख अर्थात् ३६.९४ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत रहेको छ । प्रदेश सरकारले भविष्यमा प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र हुने कुरालाई आत्मसात् गर्दै पर्यटकीय गन्तव्य र पूर्वाधार विकासमा लक्षित गरी बजेट तयार गरिएको मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका थिए । मन्त्रालयका सचिव किशोर जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया