प्रदेश ५ : बजेटमा बाँके– बर्दिया


बजेटले बाँके बर्दियालाई विभिन्न ढंगले प्राथमिकतामा राखेको छ । पर्यटकीय विकासको सम्भावनालाई दृष्टिगत गरी विभिन्न स्थलको पर्यटकीय विकासको गुरुयोजना तयार गरिने घोषणा गरेको बजेटले बाँके र बर्दियालाई प्राथमिकतामा राखेको हो ।


‘बाँकेमा निर्माण शुरु भएको मानसरोवरको आकृति सहितको बहुउद्देश्यीय पार्क आगामी ३ वर्षभित्र निर्माण गर्नेगरी बजेटको व्यवस्था मिलाएको छु,’ आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट प्रस्तुत गर्दै भने, ‘चालू वर्ष शुरु गरिएका शैक्षिक तथा बहुउद्देश्यीय पार्क निर्माणको कामलाई निरन्तरता दिएको छु ।’


मुख्यमन्त्री पोखरेलका अनुसार, प्रदेशको समृद्धिका लागि नेपालगन्ज–कोहलपुर, बुटवल–भैरहवा, घोराही–तुलसीपुर र लुम्बिनी–तौलिहवा एवम् सो आसपासका क्षेत्रहरु प्रमुख शीर्ष विन्दुहरु रहेका छन् । सरकारले यी स्थानको विकासका साथै आर्थिक वृद्धिलाई तीब्रता दिन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । प्रदेशको आर्थिक वृद्धिको शीर्षबिन्दुका रुपमा रहेका नेपालगन्ज–कोहलपुर, घोराही –तुलसीपुर र बुटवल–भैरहवा क्षेत्रमा सम्पूर्ण पक्षहरुको एकिकृत विकास लगायत प्रदेश गौरवका अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माणको नेतृत्व लिने संस्थाका रुपमा पूर्वाधार विकास प्राधिकरण गठन गरिने घोषणा बजेटमा गरिएको छ ।
‘नेपालगन्ज, वुटवल र भैरहवामा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज) तथा मोतिपुर, बाँकेको नौवस्ता तथा दाङमा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र र भंसार नाकालाई आधार मानी बनिरहेका औद्योगिक करिडोरहरुको निर्माण र सेवा क्षेत्रको विस्तार आर्थिक वृद्धिका थप आधारहरु हुन्,’ बजेटमा भनिएको छ ।


कृषि उपजको बजारसम्मको पहुँचलाई सहज तुल्याउन ४ वटा कृषि सडकहरुको निर्माण एवम् स्तरोन्नतिका लागि रु. ८ करोड विनियोजन प्रदेश सरकारले अन्तर्गत नेपालगन्जको धनौली चोकवाट गौघाट हुँदै बर्दियाको हुलाकी सडक जोड्ने सडकका लागि रु ५ करोड विनियोजन गरेको छ । साथै उद्योगको विस्तार तथा औद्योगिक उत्पादनको बजारीकरण एवम् लागत प्रभावकारी बनाउन उद्योगस्थल पहुँचमार्गहरुको निर्माण गरिने उल्लेख गर्दै त्यसको लागि आवश्यक रकम विनियोजन गरेको जनाइएको छ ।


कर्णाली प्रदेशलाई अन्य प्रदेशमा जोड्न सुर्खेत तेलपानी–भुरीगाउँ सुरुङ मार्ग, लैपुर–रुप्सा, रामारोशन अछाम, बाजुरा ताजाकोट सर्केघाट, खार्पुनाथ नाम्खा, रुकुम कालीमाटी कोहलपुर, रानीघाट कर्णाली चिसापानी (अन्तरप्रदेश सडक) र सुर्खेत दैलेख नाग्म रारा पर्यटन मार्ग स्तरोन्नति, सल्यान थारमारे चौरहजारी जाजरकोट जुम्ला कामी बुढा सडकलाई प्रदेश महत्वको रणनीतिक सडकमा रुपमा रु १० करोड विनियोजन गरेको छ ।


उदयमान स्याटेलाइट शहरहरु होलेरी–लिवाङ–सुलिचौर, बिजुवार–बाग्दुला, सन्धिखर्क–तम्घास, तानसेन–रामपुर, सुनवल–परासी, कृष्णनगर–चन्द्रौटा, खजुरा–गुलरिया–राजापुर, भालुवाङ–लमही र अन्य नगरपालिका र ग्रामिण शहरहरूबीचको सञ्जाल, उत्पादन सम्पर्क र वितरणमा अन्तर सम्बन्ध स्थापित गर्दा स्थानीय अर्थतन्त्रमा लागत घटाउन, विस्तार ल्याउन र नयाँ अवसरको खोजी गर्न सहयोग पुग्ने देखिएकाले यिनीहरुलाई आर्थिक र ब्यवसायिक केन्द्रको रुपमा विकास गर्ने नीति लिइएको छ ।


खेलकुदमा झण्डै १७ करोड
प्रदेश ५ ले युवा तथा खेलकूद क्षेत्रमा कूल रु. १६ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा मुख्यमन्त्री शङ्कर पोखरेलले आइतवार प्रस्तुत बजेटमा युवा तथा खेलकूद क्षेत्रमा कूल रु. १६ करोड ६९ लाख बजेट विनियोजन गरेको उल्लेख छ ।


खेलकूदमा युवा सहभागिता, प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता कार्यक्रमअन्तर्गत प्रदेश खेलकूद परिषद्को स्थापना गर्ने कार्यक्रम अघि सारेको प्रदेश सरकारको बजेटले मुख्यमन्त्री रनिङ्शील्ड प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन, खेलकूद प्रवर्द्धन तथा खेलकूद संरचना निर्माण समेतका लागि रु. ४ करोड बजेट विनियोजन गरेको छ । घोराही उपमहानगरपालिकाको नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिकाको उजिरसिंह रंगशाला निर्माणका लागि बहुवर्षीय कार्यक्रमअन्तर्गत रु. १० करोड विनियोजन गरिएको छ ।


दाङ जिल्लाको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न डी.पी.आर. निर्माण तथा जग्गा संरक्षणका लागि आवश्यक रकम विनियोजन गरेको बजेटमा प्रदेश स्काउट गठन र सञ्चालनका लागि बजेट विनियोजन गरेको मुख्यमन्त्री पोखरेलले बजेट वक्तव्यमा भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया