हामी दिनहुँ फेसबुक चलाउँछौं । फेसबुक हाम्रो नितान्त व्यक्तिगत सम्पत्तिमात्र हो भन्न चाहिं मिल्दैन । किनकि, यसमा पोष्ट गरिने सूचना, जानकारी, फोटो तथा समाचारले धेरै व्यक्तिलाई प्रभाव पारेको हुन्छ ।
बिशाल रानामगर
शुक्रबार बिहान नियमितझैं साइक्लिष्ट गगनथापा र म सुर्खेतरोडमा साइकल हुँइक्याउँदै थियौं । सडक छेउमा फोहोर त दिनहुँजसो देखेको हो । तर शुक्रबार सिग्नेट इन कृष्णा होटलको अगाडिको फोहोरको डँगुरले भने ध्यान खिच्यो । साई फर्मा, सर्जिकल पसल सिवाज र अमित ड्रगको अगाडी औषधीका बोतलहरु असरल्ल फालिएका थिए । उपमहानगरपालिकाले नियमित गर्ने सरसफाईका क्रममा उठाएर लैजान्छ भनेर फालिएको हुनसक्छ । म रोकिएँ ।
मोबाइलबाट ३ वटा फोटो खिँचे र हामी साइकल चलाउँदै धम्बोझीतर्फ लाग्यौं । शुक्रबारको करिब १५ किलोमिटरको साइक्लिंगका क्रममा मलाई प्रत्येक सेकेण्ड त्यही दृश्यले झक्झकाइ रह्यो । के यसरी सामान्य वा कुहिएर जाने फोहोर जस्तै औषधी पनि बाटोमा फाल्न मिल्छ ?
घर फर्केर धेरै बेर सोचे र निधो गरे म यो फोटोसहितको आफ्नो विचारलाई सामाजिक सन्जालमा राख्छु । अनि के कस्तो प्रतिक्रिया र प्रतिवद्धता आउँछ हेर्छु । त्यसपछि मैले ‘लागेको कुरा । (ब्यक्ति होइन बिषय केन्द्रीत) । आज बिहान साइक्लिङमा निस्कँदा सुर्खेत रोडमा यो अवस्था देखेपछि मनमा उठेका पाँच सवाल ।’ भनेर असरल्ल फालिएको औषधिको फोटो सहितको स्टाटस फेसबुकमा पोष्ट गरें । जसमा मैले नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणा, उपमेयर उमा थापामगर, प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल, सूचना अधिकारी, अधिकारकर्मी, वातावरण अधिकारकर्मी, पत्रकार लगायत यस विषयसँग सम्बन्ध राख्ने करिब दुई दर्जनलाई ट्याग गरेको थिए । (यस्तो छ पोष्ट)

पोष्टलाई ११ जनाभन्दा बढिले सेयर गरेका छन् भने ८६ भन्दा बढिको कमेन्ट पनि आएको छ । कमेन्टको प्रकृति मिश्रित छ । केहीले उपमहानगरपालिकाले औषधीजन्य र साथै अन्यफोहोर व्यवस्थापनकालागि ठोस कदमलिनुपर्नेमा जोड दिएका छन् । केहीले नगरलाई सुन्दर र सरसफाईयुक्त बनाउन नागरिक आफैंपनि जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । नेपालको संविधान २०७२ ले नागरिकको मौलिकहकका साथै जिम्मेवारीहरुको बारेमा पनि उल्लेख गरेको हुनाले यस्ता विचार अझ महत्वपूर्ण छन ।

उक्त स्टाटसमा प्रतिक्रिया दिँदै फर्मासिष्ट बिनोद गौतमले ‘यसरी औषधी फाल्न नहुने र म्याद सकिएकाऔषधीलाई व्यवस्थापन गर्ने सम्बन्धित कम्पनीको भएको’ बताए । स्वास्थ्य क्षेत्रमा कलम चलाउने हाल काठमाडौंमा रहेर पत्रकारिता गरिरहेकी नेपालगन्जकी पत्रकार कल्पना पौडेलले भनिन्, ‘यो गम्भीर विषय हो । औषधिजन्य फोहोरमैलाको व्यवस्थापन सुरक्षित तरिकाले गरिनुपर्छ । व्यस्त सहरको बिच अस्पताल र नगरपालिकाको छेउमै जनताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने गरि फोहोर फाल्नेलाई कारवाही हुनैपर्छ ।’

यसरी औषधीजन्य फोहोर बाटोमा फाल्नेलाई कारवाही गर्नुपर्नेमा युवाअधिकारकर्मी पवन रोयको प्रतिक्रिया अझ कडा छ । रोयले भनेका छन्, ‘यसरी औषधी बाटोमा फाल्ने विरुद्ध मुद्दा दर्ता गर्नुपर्छ । सायद यी म्याद नाघेका औषधी हुन् र यस्ता औषधीलाई बाटोमा फाल्दा कसैले सेवन गर्यो भने के गर्ने ? गणतन्त्रात्मक मुलुकमा जे गरेनी छुट त हुन्न नि !’ अधिकारकर्मी रोयले नागरिक जिम्मेवारिताको सवाललाई महत्व दिँदै लेखेका छन् । जसमा साहित्यकार सागर गैरे ‘घर धनी र पसले दुबैलाई अन द स्पट जरिवाना तिराउनुको बिकल्प छैन । बिलम्ब नगरियोस ।’ भनि सहमति जनाउँछन् ।


सुशासनको क्षेत्रमा कार्यरत युवाअधिकारकर्मी पुष्पान्जली मल्लले यस घटनाको समाधानकालागि नागरिक र नागरिक समाज संस्थाको भूमिकामा जोड दिन्छिन् । उनले लेखेकि छिन् नागरिकका हैसियतले हामीले राज्यसँग सेवा सुविधा माग गर्न पाउँछौं, राज्यले त्यो सुविधाउपलब्ध गराउनुपनि पर्छ तर प्रत्येक नागरिकले आफ्नो तर्फबाट सहयोग र योगदान पनि गर्नुपर्छ ।

नेपालगन्जलाई लामो समय आफ्नो कार्यक्षेत्र बनाएका युवा अभियन्ता रवि दाहालले त्यसरी फोहोर फाल्नेलाई कारवाही हुनुपर्नेमा जोड दिँदै लेखेका छन, यति संवेदनशील औषधिजन्य फोहोर जथाभावी फ्याँक्न मिल्दैन । उपमहानगरपालिकाले कारवाहीको लागी चासो देखाएन भने सिडिओलाई जानकारी दिनुहोस्, औषधिजन्य फोहोर व्यवस्थापनको विषय निक्कै संवेदनशील हुन्छ । एक पटक कारवाही हुन सक्यो भने बल्ल ठेगान लाग्नेछ ।’ ऋतु रानाको प्रतिक्रिया भने फरक छ, उनि लेख्छिन, जनता नै खराब हुन के, नगरपालिका ले गरेन भने सब भन्दापहिला आन्दोलन गर्ने पनि यस्तै फोहरीहरु हुन जस्को फोहर जथाभावी फालिएका हुन्छन्, चेतना न भएको भन्ने कि जिम्मेवारी न भएको ?


रेडक्रसकर्मी गोवद्र्धनसिंह सम्झना भने नेपालगन्जमा आयोजना गरिने सरसफाई अभियान प्रतिनै प्रश्न गर्नुहुन्छ, ‘नगरपालिकाले एक नयाँ स्वरुपको सफाइ अभियानको सामना पनि हामीले गर्नु परेको छ ? ४ बजेबाट नै सफाइकर्मीहरुबाट धुलो उडाउने कार्य । उफ् । यसको अनुभव उपरोक्त ब्यक्तिहरुबाट सुर्खेत रोडमा आएमात्र हुन्छ है ।’
दोलख डाँगी नगरवासीको व्यवहारमाथिनै प्रश्न गर्दै भनेका छन्, ‘वास्तबमा सबै नगरवासीले आआफ्नो घरको फोहर नगरपालिकाको सरसफाईकर्मी उठाउन आएको समयमा मात्र घरभित्रबाट निकालेर आफ्नै पौरखले उनीहरुलाई हस्तान्तरण गर्ने हो भने यो समस्या आउदैनथ्यो होला, हामी सबै नगरबासीलाई चेतनाभया । भन्ने लाग्यो है मलाई त ।’
उपमहानगर प्रवक्ताको प्रतिक्रिया
नेपालगन्ज उपमहानगरपालिका आफैंपनि सामाजिक सन्जालमा छाएको नाम हो । नगर प्रमुख र उपप्रमुखको आफ्नै आधिकारिक फेसबुक पेज पनि छ । मैले गरेको पोष्टमा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष प्रमोद रिजालपनि ट्याग हुनुहुन्थ्यो । रिजाल आपंmैपनि धेरै वर्ष नागरिक समाज संस्थामा काम गरेका व्यक्ति भएकाले पनि होला उनले तत्कालै आफ्नो प्रतिक्रिया दिएका छन् । उनले यस घटनाप्रति आफ््नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै, सबै मिलेर नेपालगन्जलाई सुन्दर बनाइ छाड्ने भएकाले सबै नागरिकलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

नगरको प्रवक्ताको हैसियतले औपचारिक विज्ञप्ती जारी गरेर मात्र नागरिकको जिज्ञासा सम्बोधन गर्नु जरुरी छैन, सामाजिक सन्जालको प्रयोगबाट पनि यो काम गर्न सकिन्छ भन्ने कुराको उदाहरण प्रवक्ता रिजालले दिएको फेसबुक प्रतिक्रियाले जनाउँछ । किनकि माध्यम जे होला जनताले आफ्ना प्रतिनिधिबाट अपेक्षा गर्ने भनेको उनिहरुको जिज्ञासाको सम्बोधन हो ।
मेरो फेसबुकको स्टाटसलाई दैनिक नेपालगन्ज, नागरिक पश्चिमेली लगायतका पत्रपत्रिका तथा सेतोखरीअनलाइनले पनि समाचारको रुपमा प्रस्तुत गरेको छ । सायद नागरिक चासोको विषय भएर होला । अन्य सन्चार माध्यमहरुले पनि यस्ता सवालहरुलाई समेट्नु आम सन्चार माध्यमको भूमिका हो ।
मलाई लागेको कुरा
नगर सफा राख्नुपर्ने दायित्व उपमहानगरपालिकाको हो । धेरै देशहरुमा नगर सरसफाई राख्न नसकेको कारण नगरका पदाधिकारीहरुले राजीनामा दिनुपरेको उदाहरणहरु पनि छन । तर यसको लागि उपमहानगरपालिकालाई मात्र दोष दिन मिल्दैन । प्राप्त प्रतिक्रियाहरुले पनि नगरको सरसफाईको लागिआफुले सिर्जना गरेको फोहोर आफैंले विसर्जन गर्नुपर्नेमा जोड दिइएको छ । नगरको फोहोर व्यवस्थपनको लागि नागरिक आफैपनि उत्तिकै जिम्मेवार छन् । कर तिरेको छौं भनेर आफुले गरेको दिसा पनि नगरपालिकाले आएर सफा गरिदिनुपर्छ भन्ने सोंच कसैले राख्छ भने त्यो एउटा विकृत मानसिक सोंच मात्र हो । यस्तो सोच सभ्य नागरिकको हुनै सक्दैन ।
नागरिक स्वास्थ्यमा खेलवाड
बाटोमा मिल्क्याइएको औषधीको सवालले नागरिक स्वास्थ्यमा सरोकार राख्ने जमातपनि ठुलो छ भन्ने प्रस्ट हुन्छ । सवाल कसले त्यो औषधी बाटोमा फाल्यो भन्ने पनिहो तर त्यो भन्दापनि बढि हाम्रो प्रवृत्तिको सवाल हो । हामीले आफुले उत्पादन गरेको फोहोर व्यवस्थापनको लागि नगरपालिकालाई मात्र जिम्मेवार ठान्ने कि आफैं पनि व्यवस्थापन गर्ने ?
उपमहानगरपालिकाले फोहोर तथा औषधीजन्य फोहोर व्यवस्थापनको लागि विशेष खाले रणनीति कहिले बनाउने ? औषधी व्यवस्था विभागका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने निकायहरुले यस्ता सवालहरुलाई कहिले आफ्ना प्राथमिकतामा राख्ने ?
नागरिकहरुले आफ्नो घरको सरसफाईसँग सडक तथा वरपरको वातावरणलाई पनि स्वच्छ राख्न कहिलेबाट अनुशासित व्यवहार अबलम्बन गर्ने ? यी सवाललाई अनुत्तरितनै रहन दिनु बेसहोला ।
सार्वजनिक विषयमा पैरवीका लागि सामाजिक सन्जालको प्रयोग मैले गरेको एउटा फेसबुक पोष्टले ठुलै हंगामा ल्यायो वा ठुलै परिवर्तन ल्यायो भनेर बखान गर्नु यस आलेखको उद्देश्य कदाचित होइन । तर, एउटा सजग र जागरुक नागरिकको रुपमा हामीले यस्ता सवाललाई नजरअन्दाज भने पक्कै गर्न मिल्दैन । हाम्रा वरपर भेटिने शिक्षा, कृषि, विपद्का साथै स्वास्थयसँग जोडिएका समस्यालाई हामी सामाजिक सन्जालबाट पनि उठाउन सक्छौं । कुनै हुनुपर्ने चिज भएको छैन वा कुनै कुरा राम्रो भएको छ भने हामीले त्यसको एउटा फोटो र केही जानकारी मात्र फेसबुक, ट्विटर, इन्स्टाग्राम वा अन्य सामाजिक सन्जालमा राख्दा यसले हजारौं मान्छेलाई त्यसको बारेमा जानकारी दिन्छ ।
हामी दिनहुँ फेसबुक चलाउँछौं । फेसबुक हाम्रो नितान्त व्यक्तिगत सम्पत्तिमात्र हो भन्न चाहिं मिल्दैन किनकि यसमा पोष्ट गरिने सूचना, जानकारी, फोटो तथा समाचारले धेरै व्यक्तिलाई प्रभाव पारेको हुन्छ ।
अहिले प्रत्येक सरकारी निकायहरुलाई सामाजिक सन्जाल प्रयोग गर्नका लागि सरकारले कार्यविधिनै बनाएर निर्देशन गरेको छ । हामीले देख्ने सार्वजनिक चासोका सवालहरुलाई पनि सरकारी निकायको सामाजिक सन्जालमार्फत पनि उठाएर उनिहरुलाई जिम्मेवार बनाउन सकिन्छ । यो जिम्मेवार नागरिक र नागरिक समाज संस्थाको कर्तव्य पनि हो । साथै सरकारी निकायले पनि सामाजिक सन्जालमा आएका सवालहरुलाई पनि यथोचित रुपमा सम्बोधन गर्नु आवश्यक छ ।
अन्त्यमा
शुक्रबार बिहान औषधीजन्यफोहोर फालिएको ठाउमा सोही दिन बेलुका पुग्दा ति औषधीहरुलाई कार्टुनमा पोको पारिएको थियो । शनिबार बिहानभने त्यो फोकोहरु त्यहाँबाट गायब थिए । नगरपालिकाको फोहोर संकलन गर्ने टोलीले उठायो वा फाल्नेवालाले नै लगे ? त्यो थाहा भएन । मैले ट्विटर मार्फत मैले यो समस्या हेल्लो सरकारमा पनि राखेको छु र हेल्लो सरकारले स्वास्थ्यतथा जनसंख्या मन्त्रालय पठाएको जनाएको छ । हेरौं त्यसउपर के कारवाही हुनेछ । तर मेरो यथावत प्रश्न चाँहि अब फेरि यस्तै फोहोर बाटोमा देखियो भने के हुन्छ होला ? जवाफ सम्बन्धितजनबाटै अपेक्षा गरेको छु ।