आठौंको अभूतपूर्व भव्य उद्घाटन

देबेन्द्र राज पौडेल

आठौं राष्ट्रिय खेलकुदको बिहीबार भव्य उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी हुन् । अत्याधुनिक सुविधा सम्पन्न भरीभराउ १० हजार क्षमताको नेपालगन्ज रंगशालामा आठौं उद्घाटनका लागि राष्ट्रपति प्रवेश गर्दा सिङ्गो रंगशाला गुञ्जायमान भएको थियो ।


आठौंको उद्घाटनसँगै नेपालगन्जले एउटा इतिहास रचेको छ । २२ बर्षको दौरानामा दोस्रो पटक खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद आयोजना गरेको नेपालगन्जले ३३ बर्षपछि २ बर्षमै राष्ट्रिय खेलकुद आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद्को संकल्पलाई साकार पारेको छ । आठौंको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा सम्बोधन गर्दै भनिन्, ‘ठूलो लगानी सहित नेपालगन्जले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रले खेलकुद विकास पूर्वाधार तयार गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’


खेलकुद मन्त्री जगत विश्वकर्माले तमाम चुनौति बीच आठौंको आयोजना भएको बताए । उनले समयमै आठौंको आयोजनाले खेलकुद विकासको महत्वपूर्ण आधार तय गर्ने विश्वास सरकारले लिएको धारणा राखे ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आठौंको आयोजनाले प्रदेश ५ लाई दिएको भौतिक पूर्वाधार खेलकुदको विकासका लागि एउटा महत्वपूर्ण आधार भएको बताए । उनले आठौंको आयोजना सफलतापूर्वक सम्पन्न गर्ने राखेपलाई शुभकामना दिंदै प्रदेश ५ मा आयोजना गरिएकोमा प्रदेश सरकारका तर्फबाट आभार समेत व्यक्त गरेका थिए ।


राष्ट्रिय खेलकुदलाई दुई बर्षभित्रै आयोजना गर्ने दृढ संकल्पित राखेपका सदस्य सचिव केशव कुमार विष्टले प्रदेश ५ को ऐतिहासिक सहर नेपालगन्जलाई केन्द्र मानेर आठौंलाई सातौं आयोजनाको दुई बर्षभित्रै सम्पन्न गरेर प्रत्येक दुई/दुई बर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारी योजनालाई साकार पारिएको बताए ।


हजारौं खेलाडी, अफिसियल र दर्शकहरु बीच भव्य आतिशबाजी, सांगीतिक प्रस्तुति, सांस्कृतिक झाँकीले आठौंको उद्घाटनलाई अभूतपूर्व बनाएको छ । ‘ओलम्पिकको उद्घाटन भन्दा कुनै मानेमा कम रहेन’, यसअघिका राष्ट्रिय खेलकुदका उद्घाटन समारोहमा समेत सहभागी खेलाडीहरु प्रतिक्रिया दिंदै थिए । दर्शकहरु उत्साहित मात्रै थिएनन् मोबाइलमा आठौंका ऐतिहासिक दृश्य कैद गर्नेदेखि नाचगान गर्न समेत मैदानमा पुगेपछि सुरक्षा व्यवस्थापनमा हम्मे परेको थियो ।


उत्साहको छनक त त्यहाँ अझ छल्कियो जतिबेला आतिशबाजीसँगै राष्ट्रपति बाहिरिएपछि खेल पदाधिकारीहरु स्टेजमा नाँच्न पुगे । खासगरी आठौंको आयोजना नेपालगन्जमा गर्न एकलौटी पहल गरेका तत्कालीन खेलकुद मन्त्री दलजीत श्रीपाइली, आठौंको कमाण्ड सम्हालेका राखेप सदस्य सचिव केशव कुमार विष्ट र रातदिन नभनेर मिसन आठौंमा लागि परेका प्रदेश खेलकुद परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओली सहित सांसद, खेल पदाधिकारी मञ्चमा जमेर नाँचे । आठौं खेलकुदको अफिसियल गीत प्रस्तुत गरेकी राष्ट्रिय सभा सदस्य कोमल ओलीले सहभागीहरुलाई आफ्नो प्रस्तुतिसँगै संगीतमय बनाएकी थिइन् ।


नेपालगन्जमा चर्को गर्मीको आशंका गरेका हजारौं खेलाडी, अफिसियल, दर्शक, पत्रकार लगायतका सहभागीहरु मौसमले दिएको साथले पनि उत्साहित देखिए । ‘मौसमले पनि हामीलाई आशीर्वाद दिएको छ’, आठौंको तयारी पूरा भएको जानकारी दिन बुधबार गरिएको पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव विष्टले भनेजस्तै मौसमले साँच्चिकै साथ दियो ।


सुरक्षा व्यवस्थालाई सघाउँदै लामो लाइन लागेर रंगशाला प्रवेश गरेका दर्शकहरु कहीकतै झर्को मानेनन् । तीन घण्टा बढीको ऐतिहासिक दृश्य नियालेका नेपालगन्जबासी बाहिरिंदा उत्साहित देखिन्थ्ये । ‘नेपालगन्जले साँच्चिकै इतिहास रचेको छ’, पुराना खेलाडीहरु अझ बढी हौसिंदै भन्दैथिए । झण्डै पौने एक अर्बको भौतिक पूर्वाधार सहित प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल भैरहेका छन् । गत चैत्र २७ गतेदेखि खेलकुद प्रतिस्पर्धा सुरु भएको आठौंमा उद्घाटनसम्म आइपुग्दा दर्जन बढी खेल सम्पन्न भैसकेका छन् ।

प्रतियोगिताको उद्घाटनका क्रममा ओलम्पियन सुरेन्द्र बहादुर हमालले रंगशालामा ओलम्पिक टर्च उचालेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया