मन्त्री, वन तथा वातावरण
अहिले देशलाई कसरी सष्टेन्ट गर्ने भन्ने चुनौति अहिले सबैतिर छ । त्यसका लागि समान समझदारी र समान पहलकदमी बनाउनु पर्यो । केही अलगथलग बनाउने कुराहरु पनि होलान् ती कुराहरुलाई एउटा लेभलमा राखेर बाँकी सिङ्गो पार्टीको एउटा भर्सन बनाएर बाँकेको विकासका लागि बृहत बहसको आवश्यकता छ । सबैको आफ्नै विचार होला तर ती सबैलाई एकै ठाउँमा जम्मा गरेर बाँकेको भविष्यको लागि एउटा साझा दृष्टिकोण बनाउन आवश्यक छ । सबैले बोल्दा एउटै कुरा बोल्नु पर्यो । आफुलाई लागेको एउटा कुरा होला तर यहाँको विकासका लागि सबैको धारणा भने एउटै हुनुपर्छ ।
मानौं बाँकेमा एउटा राम्रो अस्पताल बनाउन सकियो भने त्यसले सुदूरपश्चिम, मध्यपश्चिम तथा हालको प्रदेश ५ लाई सेवा दिन सक्छ । त्यसले बाँकेसँग जोडिएको जिल्लाहरुलाई पनि उपचारका लागि काठमाडौं जानु भन्दा बाँके नै सजिलो हुन्छ ।
बाँकेको भौगोलिक अवस्थाका कारण बाँकेले दिने सेवा अन्य क्षेत्रबाट दिन सम्भव देखिंदैन । उद्योग, धन्दा, शिक्षा, यातायात र सञ्चारको दृष्टिकोणले पनि बाँके अगाडि छ । चाहेर पनि कर्णाली भन्दा बाँके नै यी कुराहरुका लागि उपयुक्त छन् । उत्पादनकै कुरा गर्ने हो भने त्यो उत्पादन लागत र बजारका हिसाबले पनि बाँके उपयुक्त देखिन्छ । नेपालगन्ज जति सहज छ उत्पादनमूलक उद्योगका लागि त्यति सुर्खेत वा जुम्ला हुन सक्दैनन् । अन्य ठाउँका केही लिमिटेसन् छन् । लिमिटेसन र वीकनेस् फरक कुरा हो ।
नेपालगन्जमा हालको अवस्थाबाट खस्कन्छ कि भन्ने चिन्ता देखिन्छ । नेपालगन्ज यो अवस्थाबाट खस्कनु हुँदैन बरु बढ्दै जानु पर्छ । त्यसका लागि सबैको साझा पहल र दृष्टिकोण निर्माणको आवश्यक छ । सबैले अलिकति माथि उठेर सोंच्नु पर्छ । नेपालगन्ज धरायशी भयो भन्ने सोंच राख्नुहुँदैन । मान्छेलाई निराश बनाउने काम हुनुहुँदैन । बरु उत्साही बनाउनु पर्छ । आशावादी र उत्साही जनमतले नै यहाँको भविष्य बनाउन सक्छ । निराश हुँदै गएको जनमतलाई सम्भावना देखाउनु पर्छ । सम्भावनाका बारेमा छलफल हुनुपर्छ, त्यसको कार्यान्वयन गर्नुपर्छ । हामी यसरी नेपालगन्जलाई अगाडि बढाउँछौं भने अगुवाहरुले उत्साह दिनुपर्छ । उत्साहित बनाउन भविष्य देखाउनु पर्छ । यसरी सम्भव छ भन्ने ठोस योजना यहाँका अगुवाले सार्नुपर्छ । हामी के चाहन्छौं भन्ने मात्रै होइन यहाँको वस्तुगत स्थितिले कस्तो सम्भावना देखाउँछ त्यो दृष्टिले हेर्नुपर्छ । भौगोलिक दृष्टिले नेपालगन्ज थोरै मेहनत गरेर धेरै रिजल्ट दिने ठाउँ हो यो ।
नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल मात्रै सञ्चालन गर्ने विषयले नेपालगन्जलाई जबर्जस्त रुपमा नेपालमा स्थापित गर्छ । त्यो सम्भावना नेपालगन्जमा छ । नेपालगन्जले प्रदेश पाँचका केही पार्ट र कर्णाली, सुदूरपश्चिमलाई पूर्णत कभर गर्न सक्छ । नेपालगन्जले यी विषयहरुलाई अलि ध्यान दिनुपर्छ ।
म जहाँसुकै हुँदा पनि नेपालगन्जसँग इमोशनल एटेचमेन्ट रहिरहेको छ । नेपालगन्जका विषयमा उठ्ने हरेक विषयमा मैले बोल्ने गरेको छु । यहाँको भेरी अस्पताल अपग्रेट गर्ने कुरामा मैले पनि पहल गरेको छु । मैले प्रदेश ५, ६ र ७ को लागि भेरी अस्पताल अपग्रेट हुनु अपरिहार्य रहेको छलफलमा राखेको थिएँ । अबका दिनमा पनि नेपालगन्ज वा बाँकेले मसँगको अपेक्षामा कुनै कमी राख्नुपर्छ जस्तो लाग्दैन, म सधैं साथमा रहन्छु । नेपालगन्जका नागरिक समाज, राजनीतिक दलले नेपालगन्जको आवश्यकता किटान गरी साझा विषय बनाएर अगाडि बढनुपर्छ । त्यसलाई बहसको विषय बनाउनु पर्यो । (कुराकानी अंश)