नेपालगन्जका मेयरलाई कर्णालीका मुख्यमन्त्रीले भने, ‘कर्णालीमा स्वागत !’

नेपालगन्जको भविष्य ‘जोगाउन’ कर्णाली प्रदेशमा गाभ्नु पर्ने वकालत सुरु गरेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग ‘महत्वपूर्ण भेटघाट’ गरेका छन् ।

 
संघीय राजधानी काठमाडौंबाट नेपालगन्ज हुँदै प्रदेश राजधानी सुर्खेत जाँदै गरेका कर्णालीका मुख्यमन्त्री शाहीसँग नगर प्रमुख डा. राणाले राझामा विशेष भेटघाट गरेका हुन् । ‘म उहाँलाई भेट्न सुर्खेत जाने तयारीमा थिएँ’, नगर प्रमुख डा. राणाले भेटघाटको खुलासा गर्दै दैनिक नेपालगन्जसँग भने, ‘उहाँलाई नेपालगन्जमै भेट्न पाएपछि झन् राम्रो भयो ।’

 
नगर प्रमुख डा. राणाले कर्णालीका मुख्यमन्त्री शाहीसँगको भेटघाटलाई ‘धेरै हल्लाको विषय नबनाउने’ संकेत गर्दै भने, ‘हामीले बाँके, बर्दियालाई सुर्खेतमा गाभ्नुपर्छ भन्ने अभियान सुरु गरिरहँदा कर्णालीको धारणा बुझ्न जरुरी भएकाले विशेष भेटघाट गरिएको हो ।’ नगर प्रमुख डा. राणाले भेटघाटले आफुलाई थप ऊर्जा दिएको खुलासा गरेका छन् । ‘मुख्यमन्त्रीसँगको भेटघाटबाट म प्रष्ट भएको छु, हामीलाई कर्णालीमा स्वागत गर्न सुर्खेत निकै आतुर र सकारात्मक छ’, डा. राणाले भने ।

 
कर्णाली प्रदेशसभाको पहिलो बैठकमै बाँके, बर्दियालाई आफुसँग गाभ्नुपर्ने विषय एजेण्डाका रुपमा आएको पनि खुलासा भएको छ । ‘तर, एन्टी रियाक्सन होला भनेर उक्त एजेण्डा पर सारियो’, मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै नेपालगन्जका नगर प्रमुख डा. राणाले भने, ‘कर्णालीका प्रत्येक जनप्रतिनिधि चाहन्छन् बाँके, बर्दिया आफ्नो प्रदेशमा आइदियोस् ।’ उनले त्यसका लागि आफुले अभियान पनि सुरु गरिसकेको जनाउ दिंदै आगामी साता बाँके, बर्दियाका जनप्रतिनिधिसँगै कर्णाली प्रदेशका जनप्रतिनिधिसँग पनि समन्वयात्मक बैठक अगाडि बढाउने जानकारी दिए । ‘तपाई राजनीतिक रुपमा माहोल बनाउनुस् म जनप्रतिनिधि र जनतामाझ यो विषय लैजान्छु’, मुख्यमन्त्री शाहीसँग भएको पछिल्लो समझदारी कोट्याउँदै डा. राणाले भने ।

 
कर्णाली प्रदेशमा बाँके, बर्दियालाई गाभ्ने कुरा प्रधानमन्त्री केपी ओली र नेकपामा अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा पुगिसकेको छ । ‘दुवै नेता सकारात्मक हुनुहुन्छ’, मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै नगर प्रमुख डा. राणाले भने, ‘सुनेको छु काँग्रेसले पनि बाँके, बर्दियालाई कर्णालीमा गाभ्ने कुरा निर्णयको चरणमा छ ।’ डा. राणाले बाँके, बर्दियालाई कर्णालीमा गाभेपछिको प्रदेश देशकै धनी र प्रभावशाली बन्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया