खजुरा क्षेत्रका संस्थागत विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरु आज शुक्रबारबाट इशाका रनिङ्ग शिल्डका लागि मैदानमा उत्रँदैछन् । खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन (इशाका)ले आयोजना गर्ने रनिङ्ग शिल्डको तेस्रो संस्करणका लागि उनीहरु प्रतिस्पर्धामा उत्रने भएका हुन् ।
शुक्रमावि सितापुरको खेल मैदानमा पाँच सय बढी विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने जानकारी दिंदै आयोजक इशाकाका अध्यक्ष समेत रहेका आयोजक समितिका संयोजक सतिश निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘यो प्रतियोगिताले आसन्न आठौं राष्ट्रिय खेलकुद आयोजनाको सन्देशलाई गाउँगाउँ पुर्याउन खोजिरहेको छ ।’ खजुरा क्षेत्रमा रहेका १५ वटा संस्थागत विद्यालयहरु पछिल्लो तीन बर्षदेखि सामूहिक सहभागिता र संगठित रुपमा इशाका कप रनिङ्ग शिल्ड आयोजना गर्दै आएका छन् । ‘यसले खेलकुदको विकास र विद्यार्थीहरु बीचको आपसी भातृत्वलाई भावनात्मक रुपले मजबुत बनाएको छ’, अध्यक्ष निरौलाले भने ।
आज औपचारिक कार्यक्रम बीच खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले प्रतियोगिता उद्घाटन गर्दैछन् । अध्यक्ष निरौलाका अनुसार, भव्य समारोह बीच विद्यार्थीहरुको सामूहिक प्रस्तुति पनि राखिएको छ । ‘बाँकेमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि प्रचारात्मक अभियानमा सघाउ पुग्ने गरी प्रतियोगिता आयोजना गरिएको’ अध्यक्ष निरौलाको भनाइ छ ।
बाँकेमै खजुरा क्षेत्र खेलकुदका बढी गतिविधि हुने पालिका हो । ‘गाउँपालिकाले खेलकुद आयोजनाका लागि निकै महत्व दिंदै आएको छ’, इशाका कपलाई पनि ५० हजार आर्थिक सहयोग गरेको जानकारी दिंदै अध्यक्ष निरौलाले त्यसबाहेक खर्च आवश्यक पर्ने तीन लाख रुपैयाँ सहभागी विद्यालयहरुले संकलन गरेको बताए । ‘यसलाई हामीले खेल उत्सवकै रुपमा बर्षेनी आयोजना गर्दै आएका छौं’, निरौलाले भने, ‘आगामी दिनमा अझ भव्य र व्यवस्थित आयोजनाको पक्षमा छौं ।’ सितापुर स्थित शुक्र माविको खेल मैदानमा प्रतियोगिता गरिंदैछ । जहाँ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भलिबल स्टेडियम निर्माण गरिंदैछ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा छात्र÷छात्रा भलिबल, लङ्गजम्प, सटपुट, ज्याभलिङ्ग र एथलेटिक्सका सम्पूर्ण खेलहरु मावि र आधारभूत तह गरी दुई तहमा हुने इशाका उपाध्यक्ष डिबि तामाङले जानकारी दिए । ‘प्रतियोगितालाई प्रत्येक बर्ष खेल उत्सवका रूपमा परिस्कृत गरिदै लगिएको छ’, अध्यक्ष निरौलाले भने, ‘इशाका कप रनिङ्ग शिल्डले खजुरा क्षेत्रको खेलकुद विकासमा कोसे ढुंगाको काम गर्ने निश्चित छ ।’